शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश १ को सरकारलाई दिएको समर्थन माओवादीले फिर्ता लियो

आइतबार, २३ जेठ २०७८, १८ : ३९
आइतबार, २३ जेठ २०७८

नेकपा माओवादी केन्द्रले प्रदेश १ को सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । माओवादी केन्द्रले बजेट अधिवेशनको अघिल्लो दिन प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो । माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी प्रदेशसभा सचिवालयमा दिएका हुन् ।

गएको पुस ५ गते प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि त्यसको विरुद्धमा उभिएको तत्कालिन नेकपाको माओवादी र माधवकुमार नेपाल खेमाका मन्त्रीहरु सरकारबाट बाहिरिएका थिए । सर्वोच्च अदालतले नेकपाको एकता भंग गरेपछि प्रदेशसभामा तत्कालिन नेकपा एमालेको एकल बहुमत रहेकोले मुख्यमन्त्री शेरधन राई नेतृत्वको सरकारलाई कुनै संकट देखिएको छैन । तर सरकारले अध्यादेशमार्फत प्रि–बजेटमाथिको छलफलको समय पाँच दिन बनाउने निर्णय विरुद्ध विपक्षी दलहरुले मोर्चाबन्दी शुरु गरेका छन् । विपक्षी दल र सरकारबीचको दुरी यसले बढाइ दिएसँगै  जुटेका  सरकारको नीति तथा कार्यक्रम र बजेट ‘फेल हुने’ सम्भावना बढाइदिएको छ ।

१५ दिन अगाडि प्रि बजेट छलफल गर्नुपर्ने कानूनी व्यवस्थालाई अध्यादेशमार्फत संशोधन गरेको सरकारले बोलाएको प्रदेशसभाको अधिवेशन सोमबारबाट सुरु हुँदैछ । २०७३ फागुन ३ गते नेकपा एमाले संसदीय दलका नेता शेरधन राई माओवादी केन्द्र समेतको समर्थनमा मुख्यमन्त्री चयन भएका थिए । एमाले र माओवादी मिलेर नेकपा भएपछि राई नै दलको नेता चयन भएका थिए।

माओवादी केन्द्रको २०७७ चैत १६ गते बसेको बैठकले दलका नेताले सरकारलाई दिएको समर्थन फिर्ता लिने अधिकार दलको नेतालाई दिएको थियो । सरकारबाट अलग भएको र सरकारका गतिविधि आलोचनायोग्य रहेकोले प्रतिपक्षी भूमिका निर्वाह गर्न सरकारको समर्थन फिर्ता लिएको दलका नेता आङ्बोले बताए ।

मुख्यमन्त्रीले राष्ट्रपति र प्रधानमन्त्रीले चालेको असंवैधानिक कदमको स्वागत, समर्थन र सहयोग गरेको, अविश्वास प्रस्तावलाई सामना गर्नुको साटो संसदलाई छलेको, संसदीय मूल्यमान्यता प्रति अनुत्तरदायी भएको, सरकार सञ्चालनमा पूर्ण असफल भएको, कोभिड नियन्त्रण, रोकथाम र उपचार तथा सुशासन कायम गर्न असफल भएकोले समर्थन फिर्ता लिएको माओवादी केन्द्रले दर्ता गरेको पत्रमा उल्लेख छ । प्रदेशसभामा माओवादी केन्द्रका १५ सांसद छन् ।
सरकारबाट फिर्ता भएको माओवादी केन्द्रलाई प्रतिपक्षी बेन्चमा राख्न संसद सचिवालयले व्यवस्थापन सुरु गरेको जनाएको छ । सोमबार अपरान्ह २ बजे प्रदेशसभाको आठौं अधिवेशन बोलाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप