शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

लोकतान्त्रिक गठबन्धन निष्कृय : चुनावी तालमेलमार्फत राप्रपालाई १४ सिटमा सघाउने

बुधबार, ०१ कात्तिक २०७४, १२ : २७
बुधबार, ०१ कात्तिक २०७४

 काठमाडौं– अन्ततः नेपाली कांग्रेसको नेतृत्वमा गठन हुने भएको भनिएको ‘लोकतान्त्रिक गठबन्धन’ पूर्णता नपाउँदै निष्कृय भएको छ । 

गठबन्धनमा रहेको एक दल फोरम लोकतान्त्रिक कांग्रेसमै समाहित भएको तथा राजपा र संघीय समाजबादी फोरमले छुट्टै गठबन्धन बनाएर चुनावमा जाने निर्णय गरेकाले उक्त गठबन्धन निष्कृय भएको हो । 

एमाले–माओवादी ‘बामपन्थी गठबन्धन’ बनेपछि  नेपाली कांग्रेसले राप्रपा, राप्रपा प्रजातान्त्रिक, लोकतान्त्रिक फोरम, संघीय समाजबादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टीलाई समेटेर लोकतान्त्रिक गठबन्धन बनाउने योजना बनाएको थियो । 

तर, गठबन्धन निश्किृय बनेपछि कांग्रेसले कमल थापा नेतृत्वको राप्रपा  र पशुपति शम्शेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिकसँग केही सिटमा तालमेल गरेर आफ्नो पार्टीका नेताहरुलाई उम्मेदवार र निर्वाचन क्षेत्र छुट्याउँन सुरु गरेको छ । 

कांग्रेसले मंगलबारै सातवटा जिल्लाका लागि आफ्नातर्फका उम्मेदवार र क्षेत्र टुङ्ग्याएइसकेको छ । बुधबार र विहिबार कांग्रेस संसदीय समिति बैठकमार्फत सवै जिल्लाका उम्मेदवार टुङ्ग्याउने कांग्रेसले जनाएको छ । 

गठबन्धनको बैठक नै बसेन
गत असोज १९ गते कांग्रेस नेतृत्वमा लोकतान्त्रिक गठबन्धन बनाउने घोषणा गरेर सात सदस्यीय कार्यदल बनेको घोषणा गरिएको थियो । सो गठबन्धनमा आवद्ध ६ दलबाट एकएक जना र कांग्रेसबाट दुई जना सदस्य रहने भनिएको थियो । तर, उक्त कार्यदलको बैठक अहिलेसम्म नबसेको राप्रपा प्रजातान्त्रिकका नेता तथा कार्यदल सदस्य विक्रम पाण्डेले बताए । 
उनले भने ,‘अनौपचारिक कुराकानी त भए तर, बैठकनै भनेर बसिएको छैन ।’ गठबन्धनमा बस्ने भनेका केही पार्टी कांग्रेसमै मिसिएको र केहीले छुट्टै गठबन्धन गरेकाले गठबन्धन भन्दा तालमेललाई मात्रै बढि जोड दिएको हुनसक्ने पाण्डेले बताए ।   

दुबै राप्रपालाई १४ सिट
गठबन्धन विचमै तुहिएपछि कांग्रेसले राप्रपा र राप्रपा प्रजातान्त्रिकसँग केही जिल्लाका केही क्षेत्रमा चुनावी तालमेल गर्ने भएको छ । त्यसका लागि कांग्रेसले उनिहरुलाई केही सिट र क्षेत्र छुट्याएर ति क्षेत्रमा आफ्नो उम्मेदवार नउठाउने तयारी  गरेको छ । जसअनुसार कांग्रेसले राप्रपालाई सात स्थानमा सघाउने लगभग पक्का भएको छ भने प्रजातान्त्रिकलाई पनि सातवटै सिटमा सघाउने भएको छ ।

 त्यसका लागि कांग्रेस संसदीय समितिको बैठकमा सहमति भएको कांग्रेस नेताहरुले बताएका छन् । 

कांग्रेस नेता प्रकासशरण महतका अनुसार राप्रपालाई मकवानपुर, बाँके, झापा र धनुषामा गरी सात सिट छोड्ने तथा प्रजातान्त्रिकलाई सिन्धुपाल्चोक, नवलपरासी, चितवन र धनकुटामा गरी सात सिट दिन कांग्रेस तयार भएको छ ।

 दुबै राप्रपाले उम्मेदवार उठाएका जिल्लाका निर्वाचन क्षेत्रमा कांग्रेसले उम्मेदवार नउठाउने तीन दलबीच सहमति भएको छ । 
 

गच्छदार समूहलाई ५ सिट
कांग्रेसले चुनावी तालमेलका क्रममा हालै कांग्रेस फर्किएका फोरम लोकतान्त्रिकका नेताहरुलाई खुशी पार्न गच्छदारसहितका  नेताहरुलाई ५ सिट छुट्याउने तयारी गरेको छ । 

गच्छदारसँगै कांग्रेस पसेका अन्य नेताहरुको आग्रहका कारण सो सिट संख्या छुट्याउन लागिएको हो । 

गच्छदार समुहलाई सुनसरी, बर्दिया र कपिलबस्तु लगायतका जिल्लाका केही क्षेत्र दिन लागिएको कांग्रेस नेता अर्जुननरसिंह केसीले बताए । 

उनले फोरम लोकतान्त्रिक नै कांग्रेसमा आएपछि भाग लगाउनु नपर्ने भएपनि केही नेताको आग्रहका कारण उनीहरुको पनि सुनिश्चित गर्न केही ठाउँमा लोकतान्त्रिकबाट आएका नेताहरुलाई छोड्न लागेको बताए । 

बाबुराम भटट्राईबारे  छलफल जारी 
बाम गठबन्धन छाडेर कांग्रेसतर्फ गएका नयाँ शक्ति नेपालका डा बाबुराम भटराईलाई कति सिट दिने भन्नेमा कांग्रेसले अझै निर्णय गरिनसकेको नेताहरुले बताएका छन् । 

कांग्रेस नेता रामशरण महतका अनुसार भटटराइपक्षले १५ सिटको सुनिश्चितता खोजेपनि उनलाई बढिमा ५ सिट दिनसकिनेबारे छलफल भएको छ । नेता महतले गोरखामा भटराईको पक्का हो, बाँकी छलफल जारी छ । 

राजपा–फोरम प्रतिस्पर्धी
नेपाली कांग्रेसले २ नम्बर प्रदेशमा बाम गठबन्धन भन्दा राजपा– फोरम गठबन्धन आफ्ना लागि चुनौती र प्रतिश्पर्धी हुने कांग्रेसले बिश्लेषण गरेको छ । 

कांग्रेस नेता महेश आचार्यले २ नम्बर प्रदेशमा स्थानीय चुनावमा आएको मत परिणामका आधारमा अवको चुनावमा पनि कांग्रेसले राजपा र संघीय समाजबादी फोरम नै आफ्नो प्रतिस्पर्धी हुने निश्कर्ष निकालेको बताए । 

आचार्यले भने,‘ जारी बैठकमा पनि मधेसमा हाम्रो प्रतिश्पर्धा मधेसवादी दलसँगै हुने देखिएको निश्कर्ष आएको छ ।’ 

  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप