उपप्रधानमन्त्री राजेन्द्र महतो भन्छन्– अब नेपाललाई बहुल राष्ट्रिय राज्यतिर लैजान मुक्ति आन्दोलनको तयारी गर्छौं

नवनियुक्त उपप्रधानमन्त्री राजेन्द्र महतोले अब नेपाललाई बहुल राष्ट्रिय राज्यतर्फ लैजानका लागि राष्ट्रिय मुक्ति आन्दोलनको तयारी गर्ने बताएका छन् । जनता समाजवादी पार्टीले उठाउँदै आएको पहिचानको माग र मुद्दा पूरा गराउनका लागि सरकारमा सहभागी भएको महतोले रातोपाटीलाई बताए ।
नवनियुक्त उपप्रधानमन्त्री महतोले भने, ‘हाम्रासामु दुईवटा कार्यभार छन् । एजेन्डालाई सम्बोधन गर्ने एउटा कार्यभार छ भने भविष्यको कार्यभार भनेको यो देशलाई बहुल राष्ट्रिय राज्यका रुपमा लैजानलाई राष्ट्रिय मुक्ति आन्दोलनको तयारी गर्नु हो ।’
जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर र राजेन्द्र महतो पक्ष एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको कामचलाउ सरकारमा १० जनाको टोलीसहित सहभागी भएको छ । वरिष्ठ नेता राजेन्द्र महतोको नेतृत्वमा उप्रधानमन्त्रीसहित ८ मन्त्री र २ राज्यमन्त्री गरी १० जनाको टोली ओली सरकारमा सहभागी भएको हो ।
जसपा नेतृत्व सत्ता समीकरणमा विभाजित हुँदा पार्टी पनि विभाजनको डिलमा पुगेको छ । पार्टी विभाजन हुने गरी कामचलाउ सरकारमा जसपा किन सहभागी भयो त ? त्यसको रहस्य के हो ? हामीले यस विषयमा नवनियुक्त उपप्रधानमन्त्री राजेन्द्र महतोसँग संक्षिप्त कुराकानी गरेका छौं ।
हिजो तपाई अब मन्त्री भइन्न भन्नुहुन्थ्यो, आज ओली सरकारमा सहभागी हुनुभयो । उपप्रधानमन्त्री पाएर जानुभएको हो ?
( हाँसो) त्यस्तै भन्नुपर्छ । तर, हाम्रो प्राथमिकता माग र मुद्दा हो । माग मुद्दाकै लागि सरकारमा गएका छौं । माग सम्बोधन भयो केही माग मुद्दा सम्बोधन गराउन बाँकी रहेको छ । त्यही माग मुद्दाका लागि हामी सरकारमा गएका हौं । ६ महिना मधेसमा त्यत्रो घनघोर आन्दोलन भएको थियो । दर्जनौंले साहदत दिएका थिए । सयौं घाइते भएका थिए । तेस्रो मधेस आन्दोलनका माग र मुद्दाहरु काँधमा थिए र छन् । त्यो पूरा गर्नु हाम्रो दायित्व हो । त्यो दायित्व निर्वाह गर्न हामीले सरकारसँग निरन्तर रुपमा वार्ता गर्यौं । त्यसमध्ये केही सवालहरु पूरा भएका थिए । मुद्दा फिर्तादेखि लिएर संविधान संशोधनका लागि कार्यदल बनेको छ । नागरिकताको विषय समाधान भयो । अब थप विषय सरकारमा बसेर पूरा गर्दै जान्छौं ।
संविधानतः कामचलाउ सरकारले मन्त्रिपरिषद पुनर्गठन गर्न मिल्दैन । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान विपरीत मन्त्रिपरिषद पुनर्गठन गर्दा समेत मन्त्री खान जानुपर्ने के परिस्थिति आयो ?
मुख्यरुपमा जनता समाजवादी पार्टीका माग र मुद्दा केही सम्बोधन भएपछि सरकारमा सहभागी हुने परिस्थिति निर्माण हुन पुगेको हो । त्यसैले हामी सरकारमा गएका हौं । हामीले जे काम गरिरहेका छौं, हाम्रो मुख्य माग र मुद्दामै रहेर गरिरहेका छौं । हिजो हाम्रो माग मुद्दा सम्बोधन भएका थिएन । अहिले आएर केही सम्बोधन भएका छन् । केही अब हामी गर्दै जान्छौं । प्रयास भइरहेको छ ।
यो देशमा अधिकार र पहिचानको एजेन्डालाई अगाडि बढाउने जनता समाजवादी पार्टीको मुख्य लक्ष्य हो । यस्तै सुशासन र समृद्धिलाई अगाडि बढाउने हो । बहुल राष्ट्रिय राज्यका रुपमा नेपाललाई स्थापित गराउने हो । नेपाल एकल राष्ट्रिय राज्य होइन, बहुल राष्ट्रिय राज्य हो । पार्टीको मूल लक्ष्य यो रहेको छ ।
हाम्रा सामु दुईवटा कार्यभार छन् । एजेण्डालाई सम्बोधन गर्ने एउटा कार्यभार छ भने भविष्यको कार्यभार भनेको यो देशलाई बहुल राष्ट्रिय राज्यका रुपमा लैजानलाई राष्ट्रिय मुक्ति आन्दोलनको तयारी गर्नु हो ।
यो देश सम्पूर्ण नेपालीको बनोस् । सबै नेपालीले नेपालमा पहिचान, अधिकार, सम्मान र शासनमा प्रतिनिधित्व पाउन् । त्यहीअनुसारको शासन र संविधान बनोस् । यो लक्ष्यमा जनता समाजवादी पार्टी सरकारमा भए पनि नभए पनि अगाडि बढिरहन्छ । आफ्नो लक्ष्य र जनताको सेवाका लागि अहिले सरकारमा गएर हामी आफ्नो भूमिका निर्वाह गर्छौं ।
संसद विघटनको निर्णय सर्वोच्च अदालतमा सुनुवाई प्रक्रियामा छ । यसको किनारा नलाग्दै सरकारमा जान किन हतारिनुभयो ?
सरकारका जाने विषय लामो समयदेखि चल्दै आएको थियो । हामी सरकारसँग छलफलमै थियौं । अहिले सरकारमा जान उपयुक्त ठान्यौं । अनि प्रधानमन्त्रीजीले पनि यतिबेलै मन्त्रिपरिषद पुनर्गठन गर्नुभयो । यो कुनै हतार गरिएको विषय होइन ।
पुस ५ मा प्रधानमन्त्रीले संसद विघटन गर्दा विरोधमा सडक संघर्षमा उत्रिनुभएको तपाईहरु दोस्रो पटक संसद विघटन गर्दा सरकारमा जानुभयो । जसपाको एउटा पक्षलाई असंवैधानिक र अलोकतान्त्रिक लागेको निर्णयमा समर्थन गर्ने ठाउँमा पुग्नुभयो । यसको रहस्य के हो ?
संसद विघटन आफ्नो ठाउँमा छँदैछ । अदालतमा मुद्दा चलिरहेको छ । त्यसमा धेरै भनिराख्न जरुरी भएन । निर्वाचनमा जाने कुरा मुख्य हो । नयाँ जनादेशका लागि जनतामा जाने कुरामा कुनै पनि राजनीतिक दल भाग्दैन । हामी पनि भाग्दैनौं । बाँकी विघटनको मुद्दा अदालतबाट टुंगो लाग्ला हेर्दै जाउँ ।
भोलि संसद पुनस्र्थापना भइदियो भने तपाईंहरु म्यादी मन्त्री भन्ने खतरा छ । म्यादी मन्त्री बन्न किन तम्सिनुभयो भन्ने हाम्रो प्रश्न हो....
– लामो अवधिसम्म मन्त्री खानलाई, टिक्नलाई, सत्ताका लागि हामी सरकारमा सामेल भएको होइन नि । सत्ताका लागि नभई हामी आफ्नो माग मुद्दाका लागि सरकारमा गएका हौं । जबसम्म सरकार रहन्छ, हामी सरकारमा रहन्छौं । आफ्नो माग र मुद्दाका लागि प्रयासरत रहन्छौं । जति दिन सरकार चल्छ, चल्छ ।
सदाका लागि कुनै पनि सरकार हुँदैन । सदाका लागि त कुन सरकार रहेको छ र ? कुन सरकारको आयु कहिलेसम्म हुन्छ, केही टुंगो हुन्छ ? जति दिन, जति समय, जति वर्ष सरकारमा रहन्छौं । हामी आफ्नो सवाल, माग र मुद्दाका लागि कार्यरत रहन्छौं । काम गर्छौं ।
एकताको एक वर्ष नपुग्दै पार्टी विभाजन डिलमा पुर्याएर भए पनि सरकारमा जानुभयो हैन त ?
पार्टी विभाजनको कुरा होइन । हामी आफ्नो माग मुद्दाका लागि अगाडि बढेका हौं । कसैले सरकार र सत्ताका लागि कसैले पार्टी विभाजन गर्न खोज्छ भने उसको काम हो । हामी त्यसबाट प्रेरित होइनौं । हामीले हाम्रो माग र मुद्दाका लागि काम गरेको हो । सरकारमा पनि हामी माग र मुद्दाकै लागि सामेल भएका हौं । यसमै केन्द्रित भएर काम गर्छौं । शासन सत्ताका लागि कहिले पनि प्रेरित भएनौं । अगाडि बढेनौं । सुरुदेखि नै हामीले यो कुरा भनेका हौं । बरु हाम्रा अर्का मित्रहरु विपक्षी समीकरण बनाएर सरकार बनाइहाल्ने काममा लाग्नुभएको छ । उहाँहरुसँग मधेसको कहाँ एजेण्डा छ ? कुन एजेण्डा छ ?
एकीकृत हुँदै गरेको पार्टी र आन्दोलनलाई विगतमा पनि सत्ताका लागि विसर्जन गर्दै आउनुभएको थियो । योपटक पनि त्यो पुष्टि भयो हैन ?
केही नेता यता–उता हुन्छन् । तर, पार्टी विभाजन हुँदैन । जनतमत र कार्यकर्ता एक ठाउँमा रहन्छ ।+
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोती शोभा श्रेष्ठका चार कृति सार्वजनिक
-
पाथीभरा केबलकार विवाद : समाचार सम्प्रेषण गर्दा आचारसंहिता पालना गर्न महासंघको आग्रह
-
रवि लामिछानेले सहकारीको रकम ठगेका छन्, सजाय हुनुपर्छ : शेखर कोइराला
-
पोखरामा आयोजित स्वजागरण कार्यक्रम, तस्बिरमा हेर्नुहोस्
-
राष्ट्रपति युनविरुद्ध पक्राउ वारेन्ट कार्यान्वयनमा बाधा पुर्याएको आरोपमा पनि मुद्दा दर्ता
-
मिर्गौलामा समस्या हुँदा शरीरले दिन्छ यी १० संकेत