बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

मोहन वैद्यद्वारा सरकारले ल्याएको बजेटको विरोध

बुधबार, १९ जेठ २०७८, १७ : २८
बुधबार, १९ जेठ २०७८

मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले सरकारले ल्याएको बजेटको विरोध गरेको छ । ‘बजेटमा देशको पर्यावरण तथा राष्ट्रिय अस्मिताका विरुद्ध खानीढुङ्गा, गिट्टी, बालुवा भारत तर्फ निकासी र विद्युतीय प्रसारण लाइनमा एमसीसी परियोजना कार्यान्वयनमा जोड दिएर क्रमशः भारतीय विस्तारवाद तथा अमेरिकी साम्राज्यवादको थप दलाली गरिएको छ’, वैद्यले बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको, ‘ यस बजेटले एकातिर उच्च वर्गका लागि विभिन्न करहरूमा विशेष छुटको व्यवस्था गरेको छ भने अर्कोतिर मजदुर वर्गलाई आवश्यक वेतन, सुविधा, राहत प्रदान गर्ने कामबाट पुरै पछि हटेको छ । समग्रमा यो बजेट दलाल तथा नोकरशाही पुँजीपति एवम् सामन्त वर्गीय हक हितको संरक्षण, वैेदेशिक प्रतिक्रियावाद परस्तता, परम्परावाद, सस्तो लोकप्रियतावादमा आधारित र जनहित विपरीत, देशको स्वतन्त्र राष्ट्रिय अर्थतन्त्र विरोधी तथा चुनावमुखी रहेको छ । हाम्रो पार्टी यस प्रकारको राष्ट्र तथा जनविरोधी बजेटको सशक्त विरोध गर्दछ ।’

विज्ञप्तिमा कोरोना परीक्षणको दायरा बढाउन, निःशुल्क एवम् सर्वसुलभ स्वास्थ्यसेवा उपलब्ध गराउन तथा शीघ्रातिशीघ्र खोपको व्यवस्था मिलाउन र विपन्न, गरिब तथा मजदुर वर्गका जनताका लागि राहत, उद्धार तथा बेरोजगार भत्ताको प्याकेज कार्यक्रम ल्याउनका लागि सरकारसँग जोडदार माग गरिएको छ । 

यस्तै विप्लव नेतृत्वको नेकपाका नेता तथा कार्यकर्ताहरूको रिहाइका लागि पनि वैद्य माओवादीले माग गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप