शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अफगानिस्तानमा हक्वानी नेटवर्कका २६ र तालिबानका ८ जना लडाकू मारिए

मङ्गलबार, ३१ असोज २०७४, १७ : ४५
मङ्गलबार, ३१ असोज २०७४

खोस्ट (अफगानिस्तान)– अफगानिस्तानको दक्षिणी खोस्ट प्रान्तमा सोमबार अफगान सेनाले गरेको कारबाहीमा हक्वानी नेटवर्क नामक आतङ्ककारी समूहका २६ जना लडाकू मारिएका छन् । 

उक्त स्थानमा गएको तीन दिनदेखि अफगान सेनाले उनीहरुको खोजी गरिरहेको थियो । सोमबार साँझ अफगान सुरक्षा फौज र हक्वानी नेटवर्कका ती लडाकूहरुबीच भिडन्त पनि भएको थियो । उक्त भिडन्तमा परी अरु केही लडाकू पनि घाइते पनि भएका छन् । 

सो भिडन्तमा परी मारिएका २६ जनाको शव भेटिएको र घाइते भएका ७ जनालाई अफगान सेनाले नियन्त्रणमा लिएर उपचारका लागि अस्पताल लगेको जनाइएको छ । 

सो जानकारी खोस्टका गभर्नरले दिनुभएको हो । खोस्टमा मङ्गलबार बिहान पनि भिडन्त जारी नै रहेको अधिकारीहरुले जानकारी दिएका छन् । 

उता अफगानिस्तानकै पूर्वी प्रान्त नान्गाहारमा अफगान सेनाले गरेको हवाई कारबाहीमा परी कम्तीमा आठ जना तालिबान र इस्लामिक स्टेट्स ९आइएस० आबद्ध लडाकू मारिएका छन् । अफगान गृह मन्त्रालयले मङ्गलबार विज्ञप्ति प्रकाशन गरी सो जानकारी दिएको छ । 

नान्गाहार प्रान्तको आचिन जिल्लामा केही दिनयतादेखि लुकेर बसेका आतंककारीलाई लक्ष्य गरेर अफगान सेनाले गरेको हवाई कारबाहीमा उनीहरु मारिएका गृह मन्त्रालयद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ । 

यस कारबाहीमा मारिनेमा केही तालिबान र केही आइएसका हतियारधारी लडकूहरु नै रहेको पनि सो मन्त्रालयले जानकारी दिएको छ । अफगान सरकारी सुरक्षा बलले गरेको यस कारबाहीमा उक्त क्षेत्रमा आइतबार पनि कैयौँ हतियारधारी मारिएका बताइएको थियो । 

त्यस क्षेत्रमा पछिल्लो समयमा आइएसका लडाकूहरुको हिंसात्मक क्रियाकलापहरु जारी राखेका बताइएको छ । सोही सूचनाको आधारमा उनीहरुमाथि कारबाही गर्ने गरिएको अफगान सेनाले जानकारी दिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप