आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

अक्सिजन अभावले अस्पतालका बेड खाली, उपचार नपाउँदा बिरामी जोखिममा

सोमबार, १७ जेठ २०७८, १७ : २१
सोमबार, १७ जेठ २०७८

मोरङको बुढीगङ्गास्थित विराट मेडिकल कलेजद्वारा सञ्चालित कोभिड अस्पतालमा बिरामीका लागि दैनिक ६५० सिलिन्डर अक्सिजन खपत हुने गरेको छ । तर तीनदिन यता सो अस्पतालले दैनिक ४५० सिलिन्डर अक्सिजनबाटै बिरामीको उपचार गर्नुपरेको छ ।

अक्सिजन अभावकै कारण सो अस्पतालले सूचना जारी गरी नयाँ संक्रमित भर्ना नलिने जनाइसकेको छ । कुल २९१ शय्या क्षमताको कोभिड अस्पतालमा हाल १०४ जना संक्रमित उपचाररत छन् । जसमा ६४ जनाको उपचार आइसीयुमा भईरहेको छ । तर १८७ भन्दा बढी शय्या खाली हुँदाहुँदै पनि अक्सिजन अभावकै कारण अस्पतालले थप बिरामी भर्ना लिन सकेको छैन भने गम्भीर समस्या देखिएका बिरामीले उपचार अभावमै ज्यान गुमाउनुपर्ने स्थिति कायम छ ।

अस्पतालका निर्देशक डा ज्ञानेन्द्रमानसिंह कार्की भन्छन्, ‘अस्पतालले बिरामीका लागि उपचारको प्रबन्ध मिलाउने हो तर अहिले अक्सिजनको जोहो गर्न कठिन छ ।’ पर्याप्त अक्सिजन नभएका कारण नयाँ बिरामी भर्ना गर्न सक्ने अवस्था नरहेको उनको भनाइ छ । ‘बेड खाली भएर के गर्नु, अक्सिजन अभाव छ,’ उनले भने, ‘भर्ना लिएरमात्र हुँदैन, गम्भीर समस्या भएका बिरामीलाई अक्सिजन आवश्यक हुन्छ, अक्सिजन नभएको अवस्थामा भर्ना लिएरमात्र के गर्नु ?’

अक्सिजन आपूर्तिमा केही समय ढिलाई हुँदा बिरामीको अक्सिजन कम गरिदिने गरेको पनि उनले सुनाए । ‘तर धेरैबेरसम्म त्यसो गर्न सकिँदैन,’ डा कार्की भन्छन्, ‘अक्सिजन आपूर्तिमा ३ घण्टा ढिलो भयो भने १०० जना बिरामीको ज्यान जोखिममा पर्छ ।’ यस्तो अवस्थामा उपचार गर्नु भनेको आफ्नालागि पीडादायी रहेको उनले बताए ।

विराटनगरको नोबेल मेडिकल कलेजको कोभिड अस्पतालमा उस्तै अवस्था छ । उक्त अस्पतालमा पनि मागअनुसार अक्सिजन आपूर्ति हुन नसक्दा बेड संख्या २२० बेडबाट घटाएर १९० मा सीमित गरिएको छ । अस्पतालमा हाल १५५ जना संक्रमितको उपचार भईरहेको छ ।

अक्सिजन आपूर्तिमा समस्या नहुने हो भने आफूहरुले २५० बेडको अस्पताल पनि सजिलै सञ्चालन गर्न सकिने नोबेल मेडिकल कलेजका निर्देशक डा. राजेश नेपालले बताए ।

‘नोबेलमा दैनिक ३६० वटा अक्सिजन सिलिण्डर खपत हुन्छ । अस्पतालको आफ्नै अक्सिजन प्लान्टले दैनिक १२० सिलिण्डर उत्पादन गर्छ,’ उनले भने, ‘बाँकी २४० सिलिण्डर उद्योगबाट ल्याउनुपर्छ, तर बाहिरबाट अक्सिजन ल्याउनै गाह्रो छ । दुःख गरेर अस्पताल चलाइरहेका छौंं ।’

विराटनगरमा निजीस्तरमा सञ्चालित कोभिड अस्पतालमा मात्र अक्सिजनको अभाव झेलिरहेका छैनन्, सरकारी अस्पतालमा पनि उस्तै अवस्था छ ।

विराटनगर–१० स्थित कोशी अस्पताल अन्तर्गतको कोभिड–१९ उपचार केन्द्रले अक्सिजन अभावकै कारण नयाँ बिरामी भर्ना लिन नसकिने अवस्थामा पुगेको जनाएको छ । यसअघि बेड अभावमा बिरामी भर्ना लिन छाडेको अस्पताल अहिले अक्सिजनको अभावका कारण नयाँ बिरामी भर्ना लिन नसक्ने अवस्थामा पुगेको हो ।

हाल २६ महिलासहित ७५ बिरामी रहेको अस्पतालमा चार दिन यता १६ बेड खाली छन् । तर अक्सिजन अभावका कारण ती बेडमा नयाँ बिरामीलाई भर्ना लिन नसकिएको अस्पतालले जनाएको छ ।

‘दैनिक ५ सय अक्सिजन सिलिण्डर खपत हुने यस अस्पतालमा हाल किस्ता किस्तामा आपूर्ति भइरहेको छ,’ अस्पतालका सूचना अधिकारी अनुपम राजवंशी भन्छन्, ‘त्यो पनि पर्याप्त मात्रामा आपूर्ति हुन सकेको छैन ।’

अस्पतालले मारुती, विनायक र भाजुरत्न अक्सिजन ईन्डिष्ट्रिजबाट अक्सिजन ल्याउने गरेको छ । उद्योगमै लामो लाईन लाग्नुपर्ने बाध्यता रहेका कारण कुन बेला अक्सिजन आइपुग्न भन्ने ठेगानसमेत नहुने उनको भनाइ छ ।

‘पहिले त माग बमोजिम सजिलै अक्सिजन आपूर्ति हुन्थ्यो’, उनले भने, ‘तर उद्योगहरुले अरुतिर पनि पठाउन थालेपछि हामीलाई दैनिक आपूर्तिमा समस्या भएको छ ।’

विराटनगरमा दुई सरकारी र तीन निजी गरी कुल पाँचवटा कोभिड अस्पताल सञ्चालनमा छन् । तर बेड खाली रहे पनि अक्सिजन अभावकै कारण ती अस्पतालले क्षमताअनुसार बिरामी भर्ना लिन सकेका छैनन् ।

किन भइहेको छ समस्या ?

प्रदेश १ को मोरङ र सुनसरीमा पाँच अक्सिजन उद्योग छन् । यी उद्योगले प्रदेशका सबै अस्पतालमा अक्सिजन वितरण गर्दै आएका छन् । प्रदेश बाहिरका कोभिड अस्पतालमा पनि यी उद्योगबाट अक्सिजन सप्लाई हुने गरेकोमा विराटनगरकै अस्पतालमा अक्सिजनको माग उच्च भएपछि अन्य प्रदेशमा यहाँबाट अक्सिजन सप्लाई बन्द गरिएको छ ।

मोरङका सहायक प्रमुख जिल्ला अधिकारी महेशराज तिम्सिनाले  केही दिनदेखि हावाहुरीका कारण नियमित विद्युत सप्लाई अवरुद्ध भएको र एकैसाथ केही उद्योगमा समस्या आएका कारण अक्सिजन उत्पादनमा कमी आएको बताए । सोही कारण माग अनुसार अक्सिजन उद्योगले सप्लाई गर्न नसकेको उनको भनाइ छ ।

उनले कोभिड अस्पतालमा अक्सिजनको माग उच्च भएसँगै अहिले प्रदेश बाहिरका अस्पतालाई थोरै मात्रामा मात्र अक्सिजन सप्लाई गर्न दिएर बाँकी सबै विराटनगरका कोभिड अस्पतालमा अक्सिजन वितरणको काम भइरहेको छ । तर पनि अस्पतालको माग अनुसार अक्सिजन सप्लाइमा समस्या भइरहेको उनले बताए ।

अहिले मोरङ र सुनसरीमा रहेका सबै अक्सिजन उद्योगमा विद्युत आपूर्ति नियमित गरी चौबीसै घण्टा प्लान्ट सञ्चालन हुन सक्नेगरी डेडिकेट फिडरको लाइन जोड्ने काम सम्पन्न भएको सहायक प्रजिअ तिम्सिनाले जानकारी दिए ।

मोरङमा मारुती र हिमाल तथा सुनसरीमा विनायक, पाथिभरा र दुर्गा उद्योगले अक्सिजन उत्पादन गरिरहेका छन् ।

पछिल्लो समय गम्भीर प्रकृतिका बिरामीलाई हाईफ्लोमा अक्सिजन दिनुपर्ने भएकाले अस्पतालबाटै मागवृद्धि भएपछि सीमित उत्पादन क्षमताले आपूर्तिमा असहज भएको हिमाल अक्सिजन ईन्डिष्ट्रिजका प्लाण्ट म्यानेजर मोहम्मद नविलले बताए ।

‘हामीले चौबिसै घण्टा पूर्ण क्षमतामा अक्सिजन उत्पादन गरिरहेका छौं । तर कहिलेकाहीँ प्लाण्ट बिगे्रर अरु उद्योगलाई लोड पर्छ’, उनले भने, ‘लोड पर्दा अस्पतालहरुमा माग बमोजिम आपूर्ति गर्न सकिँदैन ।’

जिल्ला प्रशासन कार्यालय मोरङका अनुसार अहिले विराटनगरका पाँच कोभिड अस्पतालमा दैनिक एक हजार १७३ सिलिण्डर अक्सिजन माग हुँदै आएको छ । तीनदिन यता दैनिक करिब ८ सय सिलिण्डर अक्सिजनमात्र वितरण हुँदै आएको छ ।

विराटनगर महानगरपालिका कार्यालयको कोभिड तथ्याङ्क अनुसार विराटनगरका पाँच कोभिड अस्पतालमा रहेका कुल ६६ वटै भेन्टिलेटरमा बिरामी छन् । त्यसैगरी १७० बेडको आइसीयुमा १६६ जना संक्रमित उपचाररत छन् भने कुल २६५ अक्सिजन बेडमध्ये सोमबार अपरान्हसम्म २३६ वटा बेडमा बिरामी उपचाररत छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप