शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

फूल अभावले पाँच गुणा मूल्य बढ्यो

मङ्गलबार, ३१ असोज २०७४, १६ : ०६
मङ्गलबार, ३१ असोज २०७४

भक्तपुर-वार्षिक रु पाँच करोडको फूल तथा फूलको माला बिक्री हुने जिल्लामा यस वर्ष फूलको अभाव भएको छ । 

यस वर्ष फूलको माग दोब्बर भएको छ । उत्पादन कम भएपछि मूल्यमा पाँच गुणाले वृद्धि भएको छ । मखमली फूलको उत्पादन पर्याप्त भएपनि सयपत्री फूलको उत्पादन भने विगत वर्षका तुलनामा कम भएपछि मूल्य पाँच गुणाले वृद्धि भएको हो । 

गुण्डुमा पाँच वर्षदेखि फूलखेती गर्दै आउनु भएकी ५० वर्षीया सीता थापा यस वर्ष विगत वर्षभन्दा फूलको माग दोब्बर भएको र मागअनुसार मूल्य बढाउनु परेको बताउनुहुन्छ । 

विगतका वर्षमा एक थुंगा सयपत्री फूल एक रुपैँयामा बिक्री गर्दै आएका सूर्यविनायक नगरपालिका गुण्डुका किसान यस वर्ष प्रतिथुंगा पाँच रुपैयामा बिक्री गरिरहेका छन् । यहाँका एक सयभन्दा बढी किसानले आधा रोपनीदेखि पाँच रोपनी जग्गामा फूलखेती गर्दा एक वर्षमा रु ५० हजारदेखि रु आठ लाखसम्म आम्दानी हुन थालेपछि किसान फूलखेतीतर्फ आकर्षित हुँदै गएका छन् । 

गुण्डुकी ४८ वर्षीया देवु कुँवर दिनको रु ५०० ज्याला तिरेर मखमली फूलको माला गाँस्न लगाएको बताउनुहुन्छ । एउटा माला रु २५ देखि रु ५० सम्ममा बिक्री गर्ने गरेको उहाँले बताउनुभयो । सयपत्री फूल उत्पादन कम भएकाले एउटै थुंगा पाँच रुपैयाँमा बिक्री गर्ने गरेको कुँवरले बताउनुभयो । 

फूल र माला खोज्न गाउँ÷गाउँमै एक महिना अघिदेखि व्यापारी आउने भएकाले बजार खोज्दै जानु नपर्ने भएपछि सहज भएको फूलको व्यापार गर्दै आउनुभएकी ३० वर्षीया सविना नगरकोटी बताउनुहुन्छ । यस वर्ष मागअनुसारको माला र फूल दिन नसक्दा समस्या परेको बताउँदै उहाँले फूलखेती गर्ने जग्गाको समेत अभाव भएको बताउनुभयो । 

पाँच वर्षदेखि जग्गा भाडामा दिएर फूलखेती गर्दै आएकी स्थानीयवासी इन्दिरा नगरकोटी फूलबाट मनग्य आम्दानी हुने भए पनि मागअनुसारको फूल उत्पादन गर्न नसकेको बताउनुभयो । सयपत्री फूल भर्खरै फुल्न थालेकाले फूलको अभाव भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप