बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

देउवा–प्रचण्ड त्यो भेट, जहाँ एकले अर्कालाई दिए चेतावनी, अनि बिग्रियो खेल

मङ्गलबार, ३१ असोज २०७४, १५ : ४७
मङ्गलबार, ३१ असोज २०७४

काठमाडौँ– सोमवार माओवादी निकट विद्यार्थी संगठनको वैठकमा बोल्दै प्रचण्डले भनेका थिए, ‘म आज प्रधानमन्त्रीलाई भेट्छु । सरकारमा रहने वा नरहने भन्ने विषयमा उहाँको धारणा बुझ्छु र हामी निर्णय लिन्छौँ ।’

प्रधानमन्त्री शेरबहादुर देउवाले कमल थापासहित आठ मन्त्री थपेपछि माओवादी मन्त्रीहरुको भविष्यलाई लिएर अनेकौ बहस भएका थिए । त्यसपछि प्रचण्डले आफ्नो कुरा राखेका थिए । 

तर, सोमबार प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भेट भएन । त्यसपछि मंगलवार विहान प्रधानमन्त्री देउवा र प्रचण्डबीचको भेट तय भयो ।

साढे १० बजे प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटार गए, जहाँ दुई नेताबीच पहिला जस्तो सौहार्दपूर्ण संवाद भएन ।

स्रोतका अनुसार भेटमा देउवाले प्रचण्डलाई भनेका थिए ‘मलाई तनाव भयो । मैले कमल थापासँग लिखित सहमति गरेको छु । उनीहरुलाई विनाविभागीय मन्त्री बनाएर राखेको छु । तपाईंले आजै सरकार छाड्नुस् । तपाईंले मन्त्री फिर्ता नबोलाए माओवादीका सबै मन्त्रीलाई बिनाविभागीय बनाउँछु ।’

त्यसपछि प्रचण्डले ‘तपाईंको सरकारलाई कुनै थ्रेट पनि छैन । हामीले समर्थन फिर्ता लिएको पनि होइन । तै पनि गाह्रै भयो भने हामी बाहिर निस्कन्छौँ । तर, तपाईले चुनाव यताउति गर्न पाउनुहुन्न । चुनाव तलमाथि भयो भने त्यसको परिणाम ठीक हुने छैन । आफै विचार गर्नुहोला ।’

जतिबेला प्रचण्ड बालुवाटारबाट निस्केका थिए, उनी सरकारबाट बाहिरिने मानसिकतामा थिए । त्यहीँ आधारमा समाचारहरु पनि प्रकाशमा आए ।

छोटो सवाल जवाफपछि प्रचण्ड बालुवाटारबाट निस्किए । बालुवाटारको वैठक लगत्तै प्रचण्ड आन्तरिक छलफलमा लागे । शुरुमा उनले पार्टीका केही नेतासँग यस विषयमा कुराकानी गरे ।

लगत्तै बामगठबन्धनसँग छलफल गरे । यो वैठकमा पनि प्रचण्डले देउवासँग भएको कुराकानीबारे विफ्रिङ गरेका थिए । मानभवनस्थित एक ठेकेदारको घरमा एमाले र माओवादी एकता संयोजन समितिको बैठक बसेको थियो । जहाँ एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले छलफल गरे ।

प्रधानमन्त्री देउवाले सत्तारुढ माओवादीसँग कुनै सल्लाह नगरी निर्वाचन मन्त्रीमण्डल विस्तार गरेको, निर्वाचन आचारसंहिता मिचेको आरोपसहित सरकारबाट बाहिरिने विषयमा प्रचण्ड र ओली दुवै तयार भए । यसै अनुसार सरकारबाट बाहिरिने विज्ञप्तीको पनि मस्यौदा तयार हुँदै थियो ।

नेताहरुवीच छलफल हुँदाहुँदै दोस्रो तहका नेताहरुले सरकारले चुनाव सार्ने तयारी के गर्दैछ ? भन्ने विषयमा बुझ्न थाले । ‘कसैले निर्वाचन आयोगमा फोन गरे, कसैले अदालततिर । उनीहरुले चुनाव सार्ने सरकारी तयारी रहेको भन्दै शीर्ष नेताहरुलार्ई बिफ्रिङ गरे,’ वैठकमा सहभागी एक नेताले भने ।

सरकारबाट बाहिरिने मूड बनाएर बालुवाटारबाट निस्केका प्रचण्डले जब ओलीसँग वार्ता गरे र निर्वाचन आयोगबाट आएको सूचना बुझे । त्यसपछि झस्किए । त्यसपछि यो निश्कर्षमा पुगे, ‘आजै सरकारबाट बाहिरिने र सरकारले चुनाव सार्ने निर्णय गरे खेल बिग्रन्छ ।’

त्यसलगत्तै १ बजे पत्रकार सम्मेलन बोलाएका उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले सरकारबाट बाहिरिने निर्णय नभएको बताए ।

लगत्तै २ बजे गृहमन्त्री जनार्दन शर्माले पत्रकार सम्मेलन गरेर चुनाव सार्ने षड्यन्त्र भएको भन्दै तत्कालका लागि सरकारबाट बाहिरिने निर्णय स्थगित गरेको बताए ।

बामगठबन्धनपछि प्रदेश र केन्द्रको चुनावी परिणामलाई लिएर काँग्रेसभित्र चिन्ता पनि देखिएको थियो ।

गत असोज १७ गते एमाले, माओवादी र नयाँ शक्तिवीच चुनाव गठबन्धन रपार्टी एकतामा जाने सहमति बनेपछि सत्तारुढ दल काँग्रेस र माओवादीबीचको सम्बन्धमा खटपट भएको थियो । त्यसपछि पनि माओवादीले पूर्व सहमति अनुसार चुनावसम्म सरकारलाई समर्थन गर्ने निर्णय गरेको थियो ।

तर, जब असोज २८ गते प्रधानमन्त्री देउवाले मन्त्रीमण्डल विस्ता् गरे, त्यहाँबाट झन् समस्या आयो । आठ जना मन्त्री थपेपनि देउवाले उनीहरुको कार्यविभाजन गरेका थिएनन् । विनाविभागीय मन्त्रीका रुपमा राखेका थिए । नवनियुक्त मन्त्रीहरुका अनुसार प्रधानमन्त्री देउवाले माओवादी मन्त्रीहरु हटेपछि विभाग तोक्ने बताएका थिए ।

देउवा माओवादीको समर्थनमा गत जेठ २३ मा प्रधानमन्त्री भएका हुन् । असोज २८ गते रातीदेखि व्यवस्थापिका संसदको समय सकिएकाले माओवादी सरकारबाहिर भएपनि सरकारमाथि भने कुनै खतरा हुने छैन ।

काँग्रेस र माओवादी केन्द्रबीच आलोपालो प्रधानमन्त्री बन्ने सहमति अनुसार प्रचण्ड २०७३ साउन १९ मा प्रधानमन्त्री भएका थिए । प्रचण्डको राजीनामापछि सहमति अनुसार देउवा प्रधानमन्त्री भएका हुन् ।

अब माओवादी के गर्छ ?
स्रोतहरुलाई आधार मान्ने हो भने पहिलो चरणको निर्वाचनको मनोनयनसम्म माओवादीले पर्खने भएको छ । कातिक ५ गते पहिलो मंसिर १० मा हुने पहिलो चरणको चुनावका लागि मनोनयनको मिति तोकिएको छ । ‘पहिलो चरणका चुनावको लागि मनोनयन दर्ता भयो भने सरकारबाट बाहिरन समस्या छैन । तर, चुनावका लागि सुनिश्चता हुने वातवरण चाहियो,’ माओवादीका एक शीर्ष नेताले भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप