शुक्रबार, ०९ फागुन २०८१
ताजा लोकप्रिय

बजेट अधिवेशन आह्वान गर्ने तयारीमा प्रदेश २ सरकार

आइतबार, १६ जेठ २०७८, १४ : ४०
आइतबार, १६ जेठ २०७८


प्रदेश २ सरकार नयाँ बजेट ल्याउने तयारीमा जुटेको छ । संघीय सरकारले शनिबार आर्थिक वर्ष २०७८÷०७९ को बजेट ल्याएसँगै प्रदेश सरकार पनि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेट ल्याउने तयारीमा जुटेको हो ।

तर अहिलेसम्म पनि प्रदेश सरकारले प्रदेशसभाको चालु अधिवेशन अन्त्य भने गरेको छैन ।  असार १५ सम्ममा नीति तथा कार्यक्रमसँगै आर्थिक वर्ष ०७८÷०७९ को बजेट ल्याउने तयारी भईरहेको प्रदेश सरकारको भनाइ छ ।

आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको बैठक बसेर चालु अधिवेशन अन्त्य गरी बजेट अधिवेशन आह्वान गर्ने गरि आन्तरिक तयारी भईरहेको जानकारी दिए । उनले सोमबार मुख्यमन्त्री तथा मन्त्रीपरिषदको बैठक बसेर चालु आर्थिक वर्षको अधिवेशन अन्त्य गरेर बजेट अधिवेशन आह्वान गरिने योजना रहेको बताए ।
यद्यपी चालु अधिवेशन प्रभावकारी भने भएको छैन । गत वैशाख १० गतेयता फेरि प्रदेशसभाको बैठक बस्न सकेको छैन । प्रदेशसभामा कार्यरत रहेका कर्मचारी तथा प्रदेशसभा सदस्यमा समेत कोरोना संक्रमणको पुष्टी भएपछि प्रदेशसभाको ५ औँ अधिवेशनको बैठकहरू अनिश्चितकालका लागि स्थगित गरिएको थियो ।

प्रदेशसभा सदस्य मञ्जु यादवले सत्तारुढ जसपा भित्रको आन्तरिक किचलोका कारण प्रदेशसभाको बैठक समेत अन्योलतामा पुगेको बताइन् । उनले भनिन्– ‘जसपाको आन्तरिक किचलोका कारण प्रदेशसभा बैठक बस्न दिइएको छैन, प्रदेशसभाका कर्मचारी तथा केहि प्रदेशसभा सदस्यहरु समेत संक्रमित मुक्त भएको लामो समय भएको छ, तरपनि नीति तथा कार्यक्रम, बजेट लगायतका महत्वपूर्ण प्रस्ताव माथि छलफल गर्नु आवश्यक भएपनि बैठक बसेको छैन ।’  प्रदेशसभा सदस्य यादवले अघि थप्दै भनिन्, ‘फेरि हतार हतारमा बिना छलफल ल्याइएका नीति तथा कार्यक्रमले कसैको भलो गर्दैन, बजेट आउनुपूर्व नीति तथा कार्यक्रममाथि व्यापक छलफल आवश्यक छ ।’

त्यस्तै अर्का प्रदेशसभा सदस्य सुरिता साहले समेत नीति तथा कार्यक्रम ल्याउनु अघि व्यापक छलफल हुनुपर्नेमा जोड दिइन् । 

प्रदेश सरकारले बजेट अधिवेशनको आह्वान गर्ने तयारी गरिरहँदा प्रदेश नीति तथा योजना आयोगले नीति तथा कार्यक्रम तयार पार्नका लागि छलफललाई तिव्रता दिएको छ । प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्रकुमार यादवले जेठ मसान्तसम्ममा प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत हुने जानकारी दिए ।

यता प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष प्रा.डा.भोगेन्द्र झाले नीति तथा कार्यक्रम तयार पार्नका लागि विभिन्न दल तथा मन्त्रीहरुसँगको छलफललाई तिव्रता दिइएको जानकारी दिए । उनले यस पटकको नीति तथा कार्यक्रम स्वास्थ्य क्षेत्रमा बढी केन्द्रित हुनुका साथै, कृषि, रोजगार, शिक्षा क्षेत्रलाई मुख्य रुपमा केन्द्रित रहेको बताए ।

नेपाली कांग्रेसका संसदीय दलका नेता रामसरोज यादवले आगामी नीति तथा कार्यक्रमका लागि आफूसँग छलफल गरिएको बताउँदै यसपालिको नीति तथा कार्यक्रम उत्पादनमुखि हुनु पर्नेमा आफ्नो जोड रहेको बताए ।

त्यस्तै नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता भरतप्रसाद साहले स्वास्थ्य क्षेत्रलाई गम्भीरताका साथ लिई नीति तथा कार्यक्रम बनाउन आग्रह गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप