साउथ सुडानको गर्मीमा नेपाली आर्मी : चुनौती झेल्नेदेखि पुरस्कार पाउनेसम्म

person access_timeअसोज ३१, २०७४ chat_bubble_outline0

काठमाडौँ– जुबा अन्तर्राष्ट्रिय विमानस्थल नजिकै रहेको यूएनको टम्पिङ क्याम्पमा १५० जना नेपाली सेनाको टोली तयारी अवस्थामा छ । साउथ सुडानको राजधानी जुबास्थित टम्पिङको फौजलाई संयुक्त राष्ट्र सङ्घीय मिसन साउथ सुडानले ‘फोर्स रिजर्भ बटालियन’को संज्ञा दिएको छ । ‘फोर्स रिजर्भ बटालियन हरक्षण तयारी अवस्थामा रहन्छ’ – पशुपतिप्रसाद गणका गणपति एवं प्रमुख सेनानी डिकबहादुर थापा भन्छन्– ‘आवश्यक पर्दा अनमिसको म्यान्डेडअनुसार यो फौज साउथ सुडानको जुनसुकै भू–भागमा परिचालित हुन्छ ।’

जातीय युद्धको आगो सल्किरहेको साउथ सुडानमा शान्ति स्थापनार्थ विश्वका ४२ भन्दा बढी राष्ट्रका सुरक्षा अधिकारीहरू खटिएका छन् । तर सबै देशका सुरक्षा अधिकारीले ‘फोर्स रिजर्भ बटालियन’को जिम्मा लिन मान्दैनन् । ‘यो चुनौतीपूर्ण र रिस्की काम हो’– प्रमुख सेनानी थापा भन्छन्– ‘यस्तै चुनौतीपूर्ण काम गर्न अग्रसर भएबापत हामीलाई यूएन फोर्स हेडक्वार्टरले प्रशंसा–पत्र प्रदान गरेको थियो । 

भर्खरै मिसन सकेर स्वदेश फर्किएको पशुपतिप्रसाद गणलाई त्यहाँ पुगेको ६ महिनामै यूएन फोर्स हेडक्वार्टरले राम्रो काम गरेको भन्दै प्रसंशा–पत्र प्रदान गरेको थियो । 

प्रशंसापत्र मात्रै हैन, रिस्की कामलाई सहजै सम्पन्न गर्ने र ‘सक्दिनँ’ भन्न कहिल्यै नजान्ने नेपाली सेनालाई संयुक्त राष्ट्रसङ्घीय मिसन साउथ सुडान (अनमिस) ले दिएको अर्को पुरस्कार हो, ‘हाई रेडिनेस कम्पनी ।’ यो कम्पनीलाई साउथ सुडान मिसनमा नेपाली सेनालाई यूएनले दिएको बोनस भन्दा पनि फरक पर्दैन । 

क्याम्प बनाउँदै ‘हाई रेडिनेस कम्पनी’

पाँच महिनाअघि साउथ सुडान पुगेको नेपाली सेनाको हाई रेडिनेस कम्पनी संयुक्त राष्ट्र सङ्घीय मिसन साउथ सुडान (अनमिस)को रिजनल प्रोटेक्सन फोर्स डिप्लोयमेन्ट (आरपिएफ) अन्तर्गत सञ्चालित छ । यूएन टर्मिनोलोजिमा साधारणभन्दा उच्च स्तरको तालिम पाएको यो फौजलाई अनमिसले भर्खरै जुबाको दुरूपी वेस्टमा नयाँ क्याम्प खडा गरेर राख्ने तयारी गरिहेको छ । 

गत साता दुरूपी वेस्टमा पुग्दा नेपाली सेनाका अधिकारीहरू क्याम्प निर्माणको काममा व्यस्त थिए । ‘हाम्रो फौजको सङ्ख्या १५० छ’– हाई रेडिनेस गुल्मका गुल्मपति (प्रमुख सेनानी) युव धिरमानसिंह अधिकारी भन्छन्– ‘हामीले जुबाको २५ किलोमिटर आसपासमा सुरक्षा प्रदान गर्ने जिम्मा पाएका छौँ ।’

राजधानी जुबाबाहिर हरेक दिनजसो सरकारी र विद्रोही पक्षका सैनिकहरू मरिरहेका छन् । युद्धका कारण विस्थापितहरूको क्याम्पको सुरक्षा यो कम्पनीको मुख्य काम हो ।

साउथ सुडानमा सरकार पक्षको सेना एसपीएलए (सुडान पिपुल्स लिवरेसन आर्मी’ सँगको अनुमतिबिना जुबा सिटीबाहिर जान मिल्दैन । त्यस्तोमा अत्याधुनिक हातहतियारसहित तैनाथ आफ्नो कम्पनीले फाइरिङ अभ्यास गर्न नपाएको बताउँछन् प्रमुख सेनानी अधिकारी । ‘साउथ सुडानी सरकारले अनुमति नदिएकाले यहाँ आएपछि हामीले फायरिङ अभ्यास गर्न पाएका छैनौँ’– उनले भने– ‘हाम्रा अन्य अभ्यासहरू निरन्तर भइरहेका छन् ।’

नागरिकको रक्षा, मानव अधिकार उल्लङ्घनका घटनाको अनुगमन र मानवीय अत्यावश्यक वस्तुहरूको आवागमनमा सहयोग गर्ने म्यान्डेडसहित साउथ सुडानमा सञ्चालित यूएन मिसनमा नेपाली सेना एक महत्वपूर्ण इकाइको रूपमा दर्ज भैसकेको छ । 

हाई रेडिनेस गुल्म अहिले संयुक्त राष्ट्रसङ्घका अधिकारीहरूले पनि प्रशंसनीय फौज बनेको छ । अनमिस (संयुक्त राष्ट्रसङ्घीय मिसन साउनथ सुडान) स्थित फोर्स हेड्क्वार्टरका पब्लिक इन्फर्मेसन अफिसर  लेफ्टनिनेन्ट कर्णेल जेरार्डले नेपालले राम्रो काम गरेबापत ‘हाई रेडिनेस फोर्स’ उपहार पाएको बताए । ‘नेपाली सेना तत्काल रेस्पोन्समा जान्छ, यो ज्यादै सराहनीय छ’– जेरार्डले भने– ‘जुबामा रहेका आन्तरिक विस्थापितको सुरक्षामा पनि नेपाली सेनाले गरेको योगदान प्रशंसनीय छ ।’

चुनौती झेल्दै, रुम्बेकमा रमाउँदै 
साउथ सुडानमा शान्ति स्थापनार्थ नेपाली सेनाको बटालियन ‘नेपब्याट–१’ २०१२ मा पहिलोपटक राजधानी जुबाबाट ३८४ किलोमिटर टाढा रुम्बेकमा बस्न थालेको थियो । रुम्बेकमा अहिले नेपालका सात सय फौज परिचालित भएको छ, जसलाई प्रमुख सेनानी अञ्जन केशर खत्रिले कमाण्ड गरेका छन् । 

लेक्स स्टेटमा रहेको रुम्बेक राजधानीबाट निकै ढाटा मात्रै छैन, सडकको अवस्था खराब हुनुको सास्ती नेपाली सेनाले व्यहोर्दै आएको छ । रुम्बेकमा परिचालिन रिपुमर्दन गणको कार्यक्षेत्रमा कुनै पनि सड्क पक्की नभएकाले वर्षातको समयमा काम गर्न निकै कठिन हुनेगरेको बताउँछन् प्रमुख सेनानी अञ्जन केशर खत्री ।

‘गणको जिम्मेवारी क्षेत्रका सड्कहरूको अवस्था ज्यादै नाजुक छ’– प्रमुख सेनानी खत्रीले भने, ‘वर्षातको बेला पट्रोलिङमा जाँदा हामी हप्तौँ बाटोमा रोकिन बाध्य हुन्छौँ ।’

 रुम्बेक क्षेत्रमा आफ्नो परिवार र समुदायको सुरक्षाका लागि व्यक्तिगत हतियार राख्ने कल्चरले गर्दा सुरक्षाफौजको भन्दा स्थानीयसँग आधुनिक र धेरै हतियार छन् । विद्रोही र सरकारी सेनाबीच भिडन्त नभए पनि स्थानीयको हातहातमा हतियार हुनाले जुनसुकै समयमा घटनाहरू घट्ने सक्ने सम्भावना रहेको सुरक्षा अधिकारीहरू बताउँछन् । 

‘नेप ब्याट–१’ मातहत अवेल भन्ने ठाउँमा पनी नेपाली सेनाको सानो टुकडी परिचालित छ । रुम्बेक र अवेलमा फैलिएको ‘गन कल्चर’ र ‘बदलाभाव’ त्यस क्षेत्रको अर्को सुरक्षा चुनौती हो । 

‘रिभेन्ज अट्याक एन्ड किलिङ, गन कल्चर, नयाँ राज्यहरूबीचको सीमा विवाद पनि यहाँको सुरक्षा चुनौतीका रूपमा रहेको छ’– प्रमुख सेनानी खत्री भन्छन्– ‘सुख्खा मौसममा पानी र चरनका निमित्त हुने द्वन्द्व पनि उत्तिकै चुनौतीपूर्ण रहेको छ ।’ 

चुनौतीका बाबजुद रुम्बेकमा नेपाली सेनाले स्थानीय जनता, यूएन एजेन्सीका कार्यालयहरू र गोदाम घरहरूलाई सुरक्षा प्रदान गर्दै आएको छ । चीन सरकारले सुरु गरेको सडकमा निर्माण कार्यमा सुरक्षा प्रदान गर्ने र अनमिसको बन्दोबस्तीका सामान स्कर्टिङ गर्ने कार्य पनि नेपाली सेनाले गर्दै आएको छ । 

‘इन्टिग्रेटेड पेट्रोल सञ्चालनको समयमा अनमिसका सिभिल कर्मचारीलाई फोर्स प्रोटेक्सन गर्छौं’ प्रमुख सेनानी खत्री भन्छन्– ‘स्थानीयलाई सुरक्षाको प्रत्याभूति दिन रुम्बेक बजार वरपर दैनिक रूपमा भेहिकल बेस पेट्रोल गरिरहेका छौँ ।’

वर्षातको समयमा अधिकांश बाटो बिग्रिने र हवाई साधनको सीमितताको बाबजुद नेपाली सेनाका अधिकारीहरू अनमिसले दिएको जिम्मा रमाएरै पूरा गरिरहेका छन् ।


 
साउथ सुडानमा यूएनका १८ हजार शान्ति सेना 

डिंका जातिको तर्फबाट साउथ सुडानी राष्ट्रपति साल्भाकिरले लडाइँको नेतृत्व गरेका छन् भने विद्रोही सेनाको तर्फबाट निउर जातिको प्रतिनिधित्व गर्दै पूर्व उपराष्ट्रपति डा. रिक मचार लडाइँको मैदानमा छन् । त्यस्तोमा संयुक्त राष्ट्रसङ्घले विभन्नि मुलुकका १८ हजार शान्तिसेनालाई सर्वसधारणको सुरक्षाका लागि साउथ सुडानको विभिन्न भागमा परिचालन गरेको छ । 

नेपालका तर्फबाट भने १७ सय नेपाली सेना र सशस्त्र प्रहरी बलको ३ सय फौज साउथ सुडानमा परिचालित छन् । एसएसपी हरिश अधिकारीका अनुसार सशस्त्र प्रहरी बलको १६० जनाको टोली जुबामा रहेको छ । त्यस्तै १४० जना बोरमा परिचालित भएका छन् । सशस्त्र प्रहरीले यूएनका पीओसी क्याम्पहरूको सुरक्षासम्बन्धी आन्तरिक व्यवस्थापन गर्दै आएको छ । 

राष्ट्रसङ्घको कार्यालय स्टाफका रूपमा नेपाल प्रहरीका सुरक्षा अधिकारीसहित नेपाली सेना र सशस्त्र प्रहरीका तर्फबाट पनि उल्लेख्य सङ्ख्यामा सुरक्षा अधिकारीहरू कार्यरत छन् । त्यस्तोमा दुई हजारभन्दा बढी नेपाली पिस किपर्सहरू साउथ सुडानमा रहेको नेपाली सेनाका प्रमुख सेनानी डिकबहादुर थापाले बताए ।

अनमिसको तेस्रो स्थानमा नेपाली सेना 
साउथ सुडानी सरकरले यूएनलाई स्वतन्त्र गतिविधि गर्न दिएको छैन । कतिपय अवस्थामा साउथ सुडानी सरकारको एउटा सिपाहीले फिल्डमा गएको शान्तिसेनाको ठुलै डफ्फालाई फिर्ता पठाउने हैसियत राख्छन् । त्यस्तोमा नेपाली सेनाले समस्याग्रस्त ठाउँमा गएर जनतासँग अन्तरक्रिया गर्दै बेस बनाएर सुरक्षा प्रदान गर्ने गरेको छ । 

साउथ सुडानका विभिन्न भागमा खाद्य सामग्री र पेट्रोलियम पदार्थ ढुवानीमा गर्न महिनौँ लाग्छ । आपराधिक समूहरूले बाटोमा खाद्य सामग्री र पेट्रोलियम पदार्थ लुटपाट गर्छन् । त्यस्तोमा नेपाली सेनाले युगान्डा र केन्याबाट आउने पेट्रोलियम पदार्थलाई सुरक्षित रूपमा देशका विभिन्न भागमा सुरक्षित रूपमा स्कर्टिङ गरेर लैजाने गरेको छ ।

विश्व खाद्य कार्यक्रमले वितरण गर्ने खाद्य सामग्री सुरक्षित ढुवानी तथा पीओसी क्याम्पको सुरक्षामा देखाएको कौशलताका कारण नेपाली सेना सुडान मिसनमा तेस्रो स्थानमा रहेको छ । संयुक्त राष्ट्रसङ्घीय मिसन साउथ सुडान (अनमिस)ले कार्यक्षमताको आधारमा इन्डियन आर्मीलाई पहिलो, रुवान्डाको फौजलाई दोस्रो र नेपाली सेनालाई तेस्रो कुशल फौजको संज्ञा दिएको छ । 

साउथ सुडान : जातीय युद्धको डरलाग्दो तस्बिर

साउथ सुडानमा राष्ट्रसंघको विश्वास जित्दै नेपाली सेना

साउथ सुडानमा अपमानित यूएन मिसन


 

राजेश भण्डारी

राजेश भण्डारी रातोपाटीका लागि क्राइम बिटका संवाददाता हुन् । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ