शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

'डेमोक्रयाट र लेफ्ट मिलेको कहीँ छ र ?'

मङ्गलबार, ३१ असोज २०७४, १२ : २१
मङ्गलबार, ३१ असोज २०७४

उमेश यादव, पालिटब्युरो सदस्य, माओवादी केन्द्र

एमाले र माआवादी केन्द्रबीच भएको गठबन्धन र त्यसपछि हुने एकताको विषय लिएर नेपाली राजनीतिक तातेको छ । यसका बारेमा धेरैले धेरै किसिमका टीकाटिप्पणी गरिरहेका छन् । दुवै पार्टीभित्रकै कतिपय नेताहरूले आशङ्का गरिरहेका छन् । माओवादी केन्द्रका पोलिटब्युरो सदस्य एवं सप्तरीका निवर्तमान सांसद उमेश यादवसँग गठबन्धन निर्माण र त्यसका प्रभाव तथा सप्तरीमा माआवादी कमजोर हुनुका कारणलगायतका विषयमा रातोपाटीका लागि गरिएको कुराकानीको प्रमुख अंशः


तपार्इंको पार्टीले एमालेसँग गठबन्धनसँग एकीकरणको प्रकृया अगाडि बढाउने निर्णय गरेको छ । यसलाई तपाईंले कसरी लिनुभएको छ ? 

–नेपालमा वामपन्थीहरूसँग दुई तिहाई बहुमत छ, तर त्यसको फाइदा अर्र्कै अर्कैले लिइरहेका छन् । नेपालका सबै वाम एक ठाउँ आएपछि देशमा परिवर्तन हुन समय लाग्दैन । जनयुद्धको चरणबाट नेपालमा रहेका अर्धऔपनिवेशिक परस्थितिलाई बदलेर देश पुँजीपति परिवेशमा प्रवेश गरिसकेको छ । आन्तरिक र बाह्य राष्ट्रियतालाई बलियो पार्न, नेपालमा जनसरकार स्थापना गर्न र संविधानले निर्दिष्ट गरेको समाजवादउन्मुख समाज स्थापनाका लागि हामी निर्वाचनको प्रतिस्पर्धामा रहेका सम्पूर्ण कम्युनिस्टहरू बीच एकता हुनुपर्ने उद्देश्यले यो कार्य सुरु गरेका हौँ । नेपाल कम्युनिस्ट पार्टी भनेर एउटै कम्युनिस्ट केन्द्र बनाउने लक्ष्यले दलहरू अगाडि बढिरहेका छन् । हेटौँडा महाधिवेशनले अब नेपाल पुँजीवादमा प्रवेश गरिसकेको बताएको छ । सो महाधिवेशनले पार्टीको स्पष्ट दिशा तय गरेको छ । एमालेको नवौँ महाधिवेशनले पनि देश पुँजीवादमा आइसक्यो भनेको कुराले पनि यो पुष्टि हुन्छ । माओवादी र एमाले धेरै पहिलादेखि यसको प्रयासमा थिए । यद्यपि शान्ति प्रकृयामा आइसकेपछि २०६४ सालको संविधानसभा चुनावमा माओवादी के हो ? त्यसले दुईचारवटा सिट ल्याउँछ होला जस्तो कुरा गरेर एमालेले माओवादीलाई बेवास्ता गर्यो तर एक नम्बरको पार्टी बन्यो । एक नम्बरको पार्टी बनेपछि माओवादीमा दम्भ पलायो । त्यसको नतिजा २०७० को संविधानसभा चुनावमा देखाइदियो । सुरुमा हामीलाई एमालेले निल्न खोज्यो, पछि हामीले एमालेलाई निल्न खोज्यौँ तर कसैले कसैलाई निल्न सकेन । निल्न नसकेपछि वैचारिक समानता देखिन थाल्यो र एकता प्रकृया सुरु भयो । 

हिजो माओवादीले एमालेलाई के भन्यो, एमालेले माओवादीलाई के भन्यो, त्यस्ता तीता कुरालाई लिएर अगाडि बढ्यौँ भने सहकार्य र गठबन्धन एवं एकता कहिल्यै हुन सक्दैन । विगतमा एकले अर्काको विरुद्धमा राखेका अभिव्यक्तिको बारेमा इतिहास साक्षी छ ।

सुरुमा एमालेसँग, पछि काङ्ग्रेससँग, अहिले काङ्ग्रेससँग गठबन्धन तोडेर फेरि एमालेसँग गठबन्धन बनाउनु यो एकाएक कसरी सम्भव भयो ?
–यो एकाएक भएकै होइन । हाम्रो पार्टी शान्ति प्रकृयामा आइसकेपछि पार्टीका अध्यक्ष प्रचण्डले देशमा एउटै कम्युनिस्ट केन्द्र बनाउने घोषणा गर्नुभएको थियो । नयाँ समाजवादी क्रान्ति पूरा गर्नका लागि सबै कम्युनिस्टहरू मिल्नुपर्छ भनी प्रयास त्यही बेलादेखि सुरु भएको थियो । त्यसपछि विभिन्न चरणमा कुरा हुने, मिल्ने र भत्किने काम भइरहेका थिए । कुनै न कुनै रूपमा कम्युनिस्टहरूको बीचमा कुराकानीहरू भइ नै रहेको थियो । यो एक्कासि र एकाएक भएकै होइन, बरु ढिलो भयो भन्नुस् । यो अचानक कुनै दूत आएर मिलाइदिएको वाहियात कुरा गरेर वाम गठबन्धनलाई अतिरञ्जित पार्ने काम भइहरेको छ । 

केही दिन पहिलेसम्म प्रचण्डले एमाले सङ्घीयता विरोधी, मधेस विरोधी, आदिवासी जनजाति विरोधी रहेको भन्दै विभिन्न अभिव्यक्ति दिनुहुन्थ्यो तर अचानक सङ्घीयता पक्षधर, मधेसी समर्थक कसरी बन्यो र यो गठबन्धन तयार भयो ?
–हिजो माओवादीले एमालेलाई के भन्यो, एमालेले माओवादीलाई के भन्यो, त्यस्ता तीता कुरालाई लिएर अगाडि बढ्यौँ भने सहकार्य र गठबन्धन एवं एकता कहिल्यै हुन सक्दैन । विगतमा एकले अर्काको विरुद्धमा राखेका अभिव्यक्तिको बारेमा इतिहास साक्षी छ । पुराना कुरा कोट्याएर भइरहेको गठबन्धनलाई भत्काउन सक्छ । विगतका कुरा विर्सेर वर्तमान अवस्थामा एक भएर अगाडि बढ्दा नै राम्रो । विगतका कुरालाई लिएर अगाडि बढ्यौँ भने समस्या कहिल्यै पनि समाधान हुँदैन र गठबन्धन पनि बन्न सक्दैन । 

जसरी एमालेलाई छाडेर काङ्ग्रेससँग मिल्यो, अब कुनै दिन एमालेलाई छाडेर काङ्ग्रेससँग माओवादी मिल्छ भनी टिप्पणीहरू भइरहेका छन्, यस्तो होला त ?
–काङ्ग्रेसबाट निस्केर एमालेमा जाने, एमालेबाट निस्केर काङ्ग्रेसमा जान कुरा हुँदै होइन । सरकार बनाउने कुरा र पार्टी एकीकरण गर्ने कुरा फरक फरक कुरा हुन् । यसलाई एउटै बुझ्नु गलत हुन्छ । हामीले सुरुमा एमालेसँग नै सहकार्य गर्ने कुरा गरेका थियौँ तर उसले पटक पटक सम्झौताका कुराहरू भत्कायो र बाध्य भएर हामी काङ्ग्रेससँग जोडियौँ । हामी खुशीले काङ्ग्रेसँग मिलेका थिएनौँ । काङ्ग्रेस डेमोक्र्याट हो, हामी लेफ्ट हौँ । डेमोक्रयाट र लेफ्ट कही मिलेको छ त ? छैन नि । यद्यपि हामीले एमालेसँग गठबन्धन बनाउने कुरा र सरकारमा जाने कुरालाई फरक ढङ्गबाट लिएका छौँ । यो फरक कुरा हो पनि । हामीले काङ्ग्रेससँग सहकार्य गरेर सरकार निर्माण गर्यौँ । यही सरकारले स्थानीय तथा प्रदेश र केन्द्रको चुनाव गराउँछ भनी सहमति गरी अगाडि बढिरहेका थियौँ । अझै त्यसलाई कायम राख्ने हाम्रो प्रयास रहिरहन्छ । सरकार बनाउने कुरा र एकीकरण गर्ने कुरा नितान्त फरक कुरा हो । देशमा कार्यकारी राष्ट्रपति र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुनुपर्छ । जुन एजेन्डा एमालेको पनि मिल्छ र हाम्रो पनि मिल्छ तर काङ्ग्रेसको मिल्दैन । हामीले बनाउने जनताको सरकार र काङ्ग्रेसले बनाउने जनताको सरकार फरक कुरा हुनुपर्छ । काङ्ग्रेसमा नोकरशाही, पुँजीपति, दलाल प्रवृत्तिका व्यक्तिहरूको अधिनायक र वर्चस्व रहेका छन् भने कम्युनिस्टमा सर्वहारा वर्ग र उत्पीडित जनताको उपस्थिति रहेको छ । 

तपाईंहरूको एउटै पार्टी हुँदा विभिन्न गुट, उपगुट, ठूला नेता र साना नेताहरूबीच द्वन्द्व हुने गथ्र्यो तर अब त दुइटा ठूला दल र त्यसका नेताहरू मिल्दैछन्,  यसलाई कसरी व्यवस्थापन गर्न सक्नुहुन्छ ?
–जनयुद्धमा होमिदा गुट, उपगुटहरू गौण थिए तर शान्ति प्रकृयामा आउँने वित्तिकै ती कुराहरू पार्टीमा देखिन थाल्यो । हामीभित्र पनि थोरबहुत फोहोर जम्मा भएकै छन् । अब हामीले आफ्ना व्यक्तिगत स्वार्थ र महत्वकाङ्क्षालाई त्यागेर जनताको हितमा, राष्ट्रको हितमा अगाडि बढेका छौँ । पार्टीगत स्वार्थ, व्यक्तिगत स्वार्थहरू त्यागेर सबैले नयाँ पार्टी बनाउनका लागि आआफ्नो पार्टी विघटन गरी नयाँ पार्टी बनाउन लागेका हौँ । अब नयाँ पार्टी गठनको प्रकृयाबाट, नयाँ सिद्धान्त र विचार स्थापना भएबाट यी सबै कुराहरू आफै हट्दैछ जानेछ । 

उत्पीडित राष्ट्रियाताका लागि लड्ने कम्युनिस्टहरू नै हुन् । मूलतको त्यसको नेतृत्व माओवादीले गर्यो । त्यसैले कम्युनिस्टहरू मिल्दा मधेसी, थारु, मुस्लिम, आदिवासी जनजातिहरू खुशी हुनुपर्ने देखिन्छ । हामीले नयाँ खालको कम्युनिस्ट बनाउँदैछाँै । हामी वैज्ञानिक समाजवाद निर्माणका लागि एक भएका हौँ ।

यी दुई दलको एकता तथा गठबन्धनले मधेस र थारुहरूको समस्या कसरी समाधान गर्ला ?
–तपाईंले छ बुँदे सम्झौता हेर्नुभयो भने त्यसमा मधेसी तथा थारुका जायज मागलाई संविधान संशोधनमार्फत समाधान गर्ने उल्लेख गरेको छ । हाम्रो पार्टीका अध्यक्ष प्रचण्डको नेतृत्वमा रहेको सरकारले दुई दुई पटक सविधान संशोधानको विधेयक प्रस्तुत गरेकै हो । हाम्रो सहयोगमा गठन भएको शेरबहादुर देउवा नेतृत्वको सरकारले त्यसलाई पास गराउने प्रयास गरेकै हो तर एमाले र राप्रपाका कारण त्यो पास हुन सकेन यो कुरा कसैबाट लुकेको होइन तर अहिले त्यही एमालेलाई माओवादी केन्द्रले संविधान संशोधनबाट समस्या समाधान गर्ने सहमतिमा ल्याएको छ । 

त्यसो भए वाम गठबन्धनले यो सविधान संशोधन गर्छन् भन्ने कुरामा तपाईं विश्वस्त हुनुहुन्छ ?
–उत्पीडित राष्ट्रियाताका लागि लड्ने कम्युनिस्टहरू नै हुन् । मूलतको त्यसको नेतृत्व माओवादीले गर्यो । त्यसैले कम्युनिस्टहरू मिल्दा मधेसी, थारु, मुस्लिम, आदिवासी जनजातिहरू खुशी हुनुपर्ने देखिन्छ । हामीले नयाँ खालको कम्युनिस्ट बनाउँदैछाँै । हामी वैज्ञानिक समाजवाद निर्माणका लागि एक भएका हौँ । कथमकदाचित बनाउन सकेनौँ भने बन्ने पार्टी पनि विघटन हुन्छ र अर्को पार्टी बन्छ । तर यो अभियान र प्रकृया रोकिँदैन । हामीले जतिपटक पार्टी विघटन गरेका छौँ त्यति पटक केही न केही नयाँ गरेका छौँ । एक कदम अगाडि बढेको छ । 

मधेस आन्दोलनको उद्गमस्थल सप्तरी जहाँबाट तपाईं चुनाव लड्दै हुनुहुन्छ, चुनावमा मधेसी जनतालाई कसरी चित्त बुझाउनु हुन्छ ? 
–इतिहासलाई हामीले तोडमडोर गर्नुहुँदैन । सद्भावना परिषद् जन्मिनु भन्दा पहिले त्यहाँ किसान आन्दोलन भएको थियो । गजेन्द्रनारायण सिंहभन्दा पहिलो रामराजाप्रसाद सिंहले आन्दोलनको विगुल फुक्नुभएको हो । त्यहाँ गुजाई कमरेड होस् या कन्छु कमरेड होस् वा त्योभन्दा अगाडि विष्णु मानन्धर, कृष्णराज वर्मालगायतका नेताहरूको कम्युनिस्ट आन्दोलनले सिंचित भएको त्यो ठाउँ हो । सप्तरी जिल्लामा डेमोक्रेटिक आन्दोलनलाई अगाडि बढाएको थियो भने कम्युनिस्ट आन्दोलन पनि एक दिन पछाडि परेको छैन । पटक पटक आन्दोलन गरेकै छन् । तर कम्युनिस्टहरू आन्तरिक राष्ट्रियताका कुरा नउठाउँदा कमजोर भएकै हो । अरू कसैले मधेसको मुद्दा उठाउँदा रअको एजेन्ट भन्नु, भारतीय भनेर आरोप लगाउनु आम कुरा थियो । त्यही भएर कम्युनिस्टहरू कमजोर भएका थिए । काङ्ग्रेस पनि रक्षात्मक अवस्थामा थियो । पछिल्लो समय नेपाल सद्भावना पार्टी, उपेन्द्र यादवको मधेसी जनअधिकार फोरम नेपालको आन्दोलन, जयकृष्ण गोइतको आन्दोलनले धेरै कुरा पूरा हुने सङ्केत गरेको छ ।  

मधेस आन्दोलनले माओवादीलाई दुई पटक क्षति गरेको छ । २०६४ सालमा मधेस आन्दोलनको रापताप हुँदा सप्तरीमा क्षति पुग्यो । अहिलेको मधेस आन्दोलनको रापतापले स्थानीय तहको चुनावमा असर पुर्यायो, यस अवस्थामा फेरि माओवादीले राम्रो गर्ने कुरा कसरी सोचेको छ ?
–२०६४ को अवस्थाका लागि त्यसअघि भएको मधेस आन्दोलन कुनै निश्चित पार्टी र कुनै व्यक्तिको चाहनामा भएको थिएन । आम मधेसी जनताको मनमा धेरै पहिलादेखि उकुसमुकुस भइरहेको विद्रोह र आक्रोश मधेसमा पोखिएको थियो र त्यो ऐतिहासिक थियो । सारा देशका शक्तिलाई बुझ्न र चिर्न बाध्य पार्यो । त्यसमा हाम्रो मिस्टेक कहाँ भयो भने त्यतिबेला लहान घटनामा हामीले ठीकसँग ट्याकल गर्न सकेनौँ । जुन माओवादी आन्दोलनले मधेसी मुक्ति मोर्चा बनाई दिएर मधेसी जनतालाई बन्दुकसहित लड्न सिकायो । आत्मनिर्णयको अधिकार, स्वशासन, समावेशी र समानुपातिकका लागि जसरी लड्यो, सङ्घर्ष गर्यो, त्यो माओवादीको नै देन हो । मधेस आन्दोलन माओवादीको विरुद्ध भएको हो भन्नु गलत हो । यो कसैको विरुद्ध भएको होइन, मधेसी जनता आफ्नो अधिकारका लागि स्वतः आन्दोलनमा गएको थियो । यदि माओवादी आन्दोलन नभएको भए मधेस आन्दोलन हुँदैन्थ्यो होला । माओवादी आन्दोलन हुनुभन्दा पहिले कुनै पनि मधेस आन्दोलन भएको उदाहरण छैन । राजनीतिक जागरण, चेतनाका कारण मधेस आन्दोलन भएको तर लहान घटनामा हाम्रो प्राविधिक त्रुटिले गर्दा केही समस्या भएकै हो । तत्कालीन नेतृत्वले लहान घटनामा ठोस अवस्थाका ठोस निर्णय नगरीकन मधेस आन्दोलन गर्नका लागि उक्साएको हो । त्यसको क्षति हामीले भोगेका हौँ । मधेसी जनअधिकार फोरम नेपाल जन्माउने माओवादी नै हो । गर्व से कहुँ हम मधेसी छि विदेशी भगौडा नई अ‍ेहे धर्तीके पुत्र छि भनी माओवादीले काठमाडौँमा गल्लीगल्लीमा लेखेको थियो । 

०७४ को स्थानीय तहको चुनावमा के भयो र सप्तरीमा यसरी पत्तासाफ भयो ?
–यो चुनावमा यस्तो हालत आफ्नै कारणले भएको हो । तपाईंलाई आश्चर्य लाग्न सक्छ, दोस्रो संविधानसभा चुनाव सम्पन्न भएयता पार्टीको बैठक नै बसेको छैन त्यहाँ । स्थानीय तहको चुनावमा उम्मेदवार चयन गर्नका लागि बैठक बस्नुबाहेक अरू कुनै बैठक बसेको छैन । २०७० मा भएको दोस्रो संविधानसभा चुनावको समय मेरो नेतृत्वमा सप्तरी जिल्ला थियो । म चुनाव जित्नेवित्तिकै अशोक मण्डलले नेतृत्व लिनुभयो । त्यस बेलादेखि न कुनै बैठक बस्यो न कुनै सरसल्लाह नै भयो । हामीबीचमा कुनै प्रकारको मतभिन्नता थिएन । सप्तरीमा तपाईं खोज्नुभयो भने माओवादी पार्टीको कार्यालय पनि छैन । बीचमा भएका पार्टी एकीकरणका कुरा वडा स्तरसम्म पुर्याउन सकेनौँ । टिकट वितरणमा गुटका कुराहरू बढी हाबी भयो । यसरी स्वस्थ्य मानव पनि लगातार तीन दिनसम्म सुति रह्यो भने त्यो रोगी हुन्छ । पार्टी चार वर्षसम्म सुतिरह्यो र रोगी भयो । 

यत्रो लामो समयसम्म बैठक बस्न नसक्नुको कारण के हुनसक्छ ?
–बैठक बस्न नसक्नुको कारण के हो, त्यसबारेमा नेतृत्वलाई सोध्नुपर्छ । 

चार पाँच वर्ष सुत्दा पनि जनताले हामीलाई विर्सेको छैनन् । सम्मानजनक मत हामीलाई दिएका छन् । धेरै ठाउँमा हामी थोरै मतले हारेका छौँ । कतिपय ठाउँमा हामी उम्मेदवारका कारणले पनि हारेका छौँ । 

तपाई पनि त एउटा जिम्मेवार नेता हुनुहुन्छ नि तपाईको पनि जिम्मेवारी बन्छ नि ?
–म जिल्ला जनसरकार प्रमुख हुँदा फेल थिएँ कि पास, सप्तरीको जनतालाई सोध्नुस् । सप्तरीदेखि सर्लाहीसम्म मिथिलामा जनमुक्ति सेनाका पाँचवटा कम्पनी बनाएका थिए । मेरो मात्र कम्पनी बटालियनमा विकास भयो । म वाईसीएलको राज्य संयोजक हुँदा वाईसीएल कसरी चलेको थियो, त्यो पनि बुझ्न सक्नुहुन्छ । जुनबेला पार्टी विभाजन भएको थियो, त्यो बेला सप्तरीमा पार्टीको जिम्मेवारी मैले लिएको थिएँ त्यो बेला पार्टीेको अवस्था कस्तो थियो, पार्टी कार्यालयहरू कसरी सञ्चालन भएका थिए,  ती कुरा पनि बुझ्दा हुन्छ । पार्टीको बैठक, जनवर्गीय समितिहरूका बैठक कसरी बसेका थिए,  त्यो लिखित रूपमा अझै पाउन सकिन्छ । मैले जिम्मेवारी छाडेपछि कसरी बैठक बस्यो, के–के भयो त्यो पनि बुझ्दा हुन्छ । बैठक बोलाउन अधिकार मलाई छैन । 

तपाईं पोलिटब्युरो सदस्य हुनुहुन्छ, बैठक बोलाउने र निर्देशन दिने हैसियतमा हुनुहुन्छ अनि किन बैठक बोलाउन निर्देशन दिनुभएन, किन दबाब दिनुभएन त ? 
–तपाईंलाई लाग्छ, मैले बैठक बोलाउन नभनेको हुँला र ? यो कुरा त मधेसका इन्चार्ज विश्वनाथ साहलाई पनि थाह छ नि । यो कुरा मातृका यादवलाई पनि थाह छ । 

त्यसो भए त्यहाँका कार्यकर्ता अथवा अशोक मण्डलले तपाईंलाई नटेरेका हुन् ?
–चार पाँच वर्ष सुत्दा पनि जनताले हामीलाई विर्सेको छैनन् । सम्मानजनक मत हामीलाई दिएका छन् । धेरै ठाउँमा हामी थोरै मतले हारेका छौँ । कतिपय ठाउँमा हामी उम्मेदवारका कारणले पनि हारेका छौँ । 

अब सप्तरीमा माओवादी उठे कि उठेनन् ?
–जनताले सबैलाई झकझकाएकै हो । तिमीहरू जाग, तिमीहरू अहिलेसम्म किन सुतेको भन्न थालेका छन् । जनताले हामीलाई कडा निर्देशन दिएका छन् । जनताले हामीलाई निर्देशन दिएअनुसार हामी जाग्यौँ भने मात्र जनताले हामीलाई साथ दिनेछन् । हामी जागेनौँ भने हाम्रो रक्षा कसैले गर्न सक्दैन । स्थानीय तहको चुनावपछि सप्तरीमा माओवादीहरू जागिसकेका छन् । 

तपाईं पनि प्रतिनिधिसभाको चुनावमा उठ्दै हुनुहुन्छ, त्यहाँका जनतालाई के भन्न चाहनुहुन्छ ?
–पहिलो कुरा त संसदमा जितेपछि धेरै सांसदहरू आफ्नो क्षेत्रमा फर्केर गएका छैनन् । गए भने आक्लझुक्ल मात्र जान्थे । मैले जितेपछि प्रायः समय जनताको साथमा गुजार्न थाले । जनताको दुःख सुखमा साथ दिए । सडक, बाटोघाटो, हाटबजार भेटेका जनतासँग भलाकुसारी गर्थे । जनताको पीडा सुन्थे र सकेसम्म समाधान गर्नेतिर लाग्थे । दोस्रो, कुरा विकास निर्माणका कार्यलाई पनि सकेसम्म पूरा गर्ने प्रयास गरँे । तेस्रो, पार्टीले मलाई सिंचाइ मन्त्रालयको जिम्मेवारी दिइसकेपछि मैले मधेसभरि समृद्ध तराई मधेस सिंचाइ विकास विशेष कार्यक्रम ल्याएर बजेटमै युगान्तकारी परिवर्तन ल्याइदिएँ । सप्तरीमा मात्र एक अर्ब ४० करोड रुपियाँ हालेँ । ग्रामीण क्षेत्रमा सडक निर्माण, विद्यालय निर्माणका कार्यहरू पनि गरँे । सप्तरीमा धेरै मन्त्री भए, धेरै संसद भए तर मभन्दा बढी कसैले बजेट ल्याएनन् । यदि कसैले ल्याएका छन् भने भनोस् म चुनौती दिन चाहन्छु । व्यवस्थापिका संसदमा मैले जनताका जल्दाबल्दा उठाएँ । हवाई मार्ग बनाउने कार्य पनि अन्तिम चरणमा पुर्याएका छाँै । खाँडो नदी नियन्त्रण स्थापना गराएको, खडक र मौहली नदीलाई आयोजनामा समावेश गराएको, चतरामा ब्यारेज निर्माणको प्रकृयालाई अगाडि बढाएको, मुस्लिम समुदायको कवरिस्तानलाई समृद्ध बनाउने कार्यलाई पनि अगाडि बढाएको, दलितका लागि सार्वजनिक दलान बनाउनुको साथै उनीहरूको विद्यार्थीलाई बढ्ने व्यवस्था पनि मिलाएको, दलितका लागि छुट्टै छात्रावास निर्माण गर्ने कार्यलाई पनि अगाडि बढाउने कार्य गरेका छौँ । माओवादी जितेका क्षेत्रमा भएको विकास र अरू पार्टीले जितेको क्षेत्रमा भएको विकासलाई दाँजेर हेर्दा पुग्छ हुन्छ, कहाँ कसले कति विकास गरेका छन् । हामी जित्नैपर्छ । हामीलाई हार्ने छुट छैन । यसैले सप्तरीको क्षेत्र नम्बर २ का लागि प्रतिनिधिसभाका लागि उम्मेदवारी दिने दाबी गरेको हुँ ।  


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप