बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

‘२०६’ देशको सिक्का टाँसेका सिक्का बाबा

शुक्रबार, ०९ असार २०७४, १० : ५५
शुक्रबार, ०९ असार २०७४

‘मेरो मोबाइलमा ब्यालेन्स हुँदैन,’ रामबहादुर परियारले छुट्टिने बेला भने, ‘काम पर्यो भने तपाईंले नै कल गर्नुस् है सर ।’

पंक्तिकारले सहमति जनाए ।

हेम्जा–२ कास्कीका रामबहादुर परियारलाई नागरिकताको नामबाट थोरैले चिन्छन् । वास्तविक नामभन्दा उनी सिक्का बाबाबाट परिचित छन् । सिक्का टाँसेको कपडा लगाएर हिँड्ने भएकाले उनलाई सिक्का बाबा भन्ने गरिएको हो ।

ताइवानलाई छुट्टै देश नमान्ने हो भने संसारमा १९५ देश छन् । तर, सिक्का बाबाले २०६ देशको सिक्का टाँसेको कपडा लगाएको छु भनेर दाबी गरे । सुन्दा अचम्म लाग्छ । नाम नै नभएको देशको सिक्का उनले कसरी फेलापारे ? हङकङ र तिब्बत छुट्टै देश नमानिए पनि उनीहरूको मुद्रा प्रचलनमा छ । सिक्का बाबाले हङकङ र तिब्बतका प्रचलित सिक्काका आधारमा हङकङ र तिब्बतजस्तै अन्यलाई छुट्टै देश मानी २०६ देशको सिक्का टाँसेको कपडा लगाएको छु भनेर दाबी गरेको हुनुपर्छ । 

संवत् २०६९ मंसिर २१ बाट ८० देशको सिक्का टाँसेको सर्टपाइन्ट र टोपी लगाएर यात्रामा निस्केका उनले हिजोआज २०६ प्रकारको सिक्का टाँसेको कपडा लगाउँदै आएका छन् । कास्कीको पोखराबाट यात्रा थालेका उनले ७५ जिल्ला फन्को मारिसकेका छन् । डोल्पा र हुम्ला हवाईजहाजमा गएका उनले पैदल र सार्वजनिक यातायातमार्फत अधिकांश जिल्ला पुगेका थिए ।

विश्व शान्तिको कामना गर्दै नेपाललाई संसारभरि चिनाउन ४८ वर्षीय सिक्का बाबा सिक्का टाँसेको सर्टपाइन्ट र टोपी लगाएर विश्वभ्रमणमा निस्कने तयारीमा छन् । पहिलो विदेश यात्रा अमेरिकाबाट थाल्ने उनको रहर छ । 

प्रहरीको जुत्ता सिलाउने काम र ट्रेकिङ छाडेर विश्वभ्रमणमा निस्कने तयारी थालेका उनी जहाँ/जहाँ पुग्थे सम्बन्धित जिल्लाका सरकारी तथा गैरसरकारी कार्यालयसम्बद्ध कर्मचारी, व्यवसायी तथा व्यक्तिसँग आर्थिक सहयोग माग्दै भ्रमणखर्च जोहो गरेका थिए । उनले तीन वर्ष जुत्ता सिलाएका थिए भने साढे दुई वर्ष ट्रेकिङ गरेका थिए । सहयोग मागेरै भ्रमणमा निस्के पनि आफू कहिल्यै अप्ठ्यारो र भोको बस्न नपरेको बताए । 

यसअघि सिक्का टाँसेको कपडा लगाएर भारत जान खोज्दा उनलाई नेपाली सुरक्षाकर्मी रोकेका थिए । सुरक्षाकर्मीले माथिको आदेशविना जान नदिने अड्डी कसेपछि उनले पहिलो विदेश यात्रा अमेरिकाबाट थाल्ने जानकारी गराए । सिक्का बाबाको बुझाइ छ, ‘सिक्का टाँसेको कपडा संसारमा कसैले लगाएका छैनन् ।’ 

सिक्का बाबाले लगाएको सिक्का टाँसेको कपडा र टोपीको तौल झन्डै १५ किलोग्राम रहेको छ । उनले लगाउँदै आएको कपडा अगाडि र पछाडिबाट लगाउन मिल्छ । २१ टुक्रा जिन्सबाट तयार पारिएको सो कपडा उनी आफैंले ‘कटिङ’ गर्छन् । सिलाउनचाहिँ अरूलाई नै दिन्छन् । उनले दुःखेसो पोखे, ‘एकपटक सिलाउनेले मेरो कपडा अर्कोपटक सिलाउन मान्दैनन् । सिलाउन झमेला छ ।’

बिहान १० देखि बेलुका ६ बजेसम्म सिक्का टाँसेको कपडा लगाउने उनले अहिलेसम्म ६ पटक कपडा फेरिसकेका छन् । कटिङबाहेक उनले लगाउँदै आएको  कपडा  र कपडा सिलाउन सात हजार रुपैयाँ लाग्छ ।    

प्रहरीको जुत्ता सिलाउने काम र ट्रेकिङ छाडेर विश्वभ्रमणमा निस्कने तयारी थालेका उनी जहाँ/जहाँ पुग्थे सम्बन्धित जिल्लाका सरकारी तथा गैरसरकारी कार्यालयसम्बद्ध कर्मचारी, व्यवसायी तथा व्यक्तिसँग आर्थिक सहयोग माग्दै भ्रमणखर्च जोहो गरेका थिए । उनले तीन वर्ष जुत्ता सिलाएका थिए भने साढे दुई वर्ष ट्रेकिङ गरेका थिए । सहयोग मागेरै भ्रमणमा निस्के पनि आफू कहिल्यै अप्ठ्यारो र भोको बस्न नपरेको बताए । 

धनबहादुर परियार र माइली परियारका कान्छा छोरा सिक्का बाबाले रंगीन सपना देखेका छैनन् । अविवाहित उनले पंक्तिकारमार्फत सरकारसँग अनुरोध गरे, ‘सिक्का टाँसेको कपडा लगाएर विश्वभ्रमण निस्कँदा प्रयोग गरेका वस्तु सुरक्षित राख्न संग्रहालय स्थापना गरिदिए हुन्थ्यो । संग्रहालय स्थापना गर्दा दुई÷चारजनाले रोजगारी पाउँथे । आर्थिक संकलन पनि हुन्थ्यो ।’

आफ्नो नाममा घर÷जग्गा केही नभएको बताउने सिक्का बाबा पोखराका रामबहादुर श्रेष्ठको घरमा बस्दै आएका छन् । श्रेष्ठकै छत्रछायाँमा रहेका उनले सिक्का टाँसेको कपडा लगाएको सपनामा तीनपटक देखेका थिए । पटक–पटक त्यस्तो सपना देखेपछि उनले गर्दै आएको काम छाडेर यो अभियानमा लागेका हुन् । 

२०६ प्रकारको सिक्का जम्मा गर्न त्यति सजिलो थिएन । नेपाल आएका पर्यटकसँग मागेर अधिकांश सिक्का जम्मा गरेका उनले कतिपय सिक्का आफैंले किनेका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दीपेन्द्र राई
दीपेन्द्र राई

दीपेन्द्र राई रातोपाटीका लागि फिचर स्टोरी लेख्छन् । 

लेखकबाट थप