द्वन्द्वकालीन समयमा पत्रकारको हत्यामा संलग्नहरूलाई कानुनी दायरामा ल्याउन माग
![द्वन्द्वकालीन समयमा पत्रकारको हत्यामा संलग्नहरूलाई कानुनी दायरामा ल्याउन माग](https://rpcdn.ratopati.com/media/albums/Krishna-Sen-Ichhuk-342x450_w6FztTLjBI.jpg)
नेपाल पत्रकार महासंघले द्वन्द्वकालीन समयमा पत्रकारहरुको हत्यामा संलग्नहरूलाई कानुनी दायरामा ल्याउन माग गरेको छ ।
दिवंगत पत्रकार कृष्णसेन इच्छुकको १९औं स्मृति दिवसका अवसरमा महासंघ परिसरमा बिहीबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दे वरिष्ठ उपाध्यक्ष रमेश विष्टले पत्रकार हत्यामा संलग्नलाई कारवाहीको दायरामा ल्याउन माग गरेका हुन् ।
उनले नेपालमा द्वन्द्वकालदेखि हालसम्म राज्यपक्ष र गैर राज्य पक्षबाट तीनदर्जन भन्दा धेरै पत्रकारहरु मारिएको भन्दै ती घटनाका दोषीहरु अहिले पनि खुलेआम हिडडुल गरेर कानुनी राजलाई चुनौति दिएको बताए । उनले द्धन्दकालिन समयमा र कोभिड १९ महामारीमा ज्यान गुमाएका पत्रकारका परिवारको उचित व्यवस्थापन गर्न समेत माग गरे ।
महासंघका महासचिव रोशन पुरीले कृष्णसेन इच्छुक लगायत पत्रकारहरुको हत्यामा संलग्नहरुलाई कानुनी दायरमा ल्याउन माग गरे । उनले महामारीमा फ्रन्टलाईनमा बसेर भूमिका निर्वाह गर्ने क्रममा १६ जना पत्रकारले ज्यान गुमाउनुपरेको भन्दै उनीहरुका परिवारको उचित व्यवस्थापनको जिम्मा सरकारले लिनुपर्ने बताए ।
महासंघका पदाधिकारी लगायत पत्रकारहरुले महासंघ परिसरमा रहेको पत्रकार शहिद स्तम्भमा कोणसभा गरि पत्रकार सेनको तस्विरमा पुष्पगुच्छा अर्पण गर्दै सम्पूर्ण दिवंगत पत्रकारको चिर शान्तिको कामना गरेका थिए । महासंघका अनुसार, द्वन्द्वकाल देखि हालसम्म ३८ जना पत्रकारको हत्या गरिएको छ भने ४ जना पत्रकारको अवस्था अज्ञात छ । पछिल्लो कोभिड महामारीमा परी अहिले सम्म १६ जना पत्रकारले ज्यान गुमाएका छन् ।