कर्णालीमा कोरोना प्रतिकार्यका लागि खरिद गरिएका मेसिन प्रयोगविहीन
सुर्खेत । कर्णाली प्रदेश सरकारले कोरोना प्रतिकार्यका लागि बजेटको खोला बगाए पनि उपलब्धि हासिल हुन सकेको छैन ।
प्रदेश सरकारले झण्डै १ अर्ब रुपैयाँभन्दा बढी बजेट कोरोना रोकथाम तथा नियन्त्रणका लागि छुट्याएको छ । अझ, संघीय सरकारले समेत अस्पतालहरुलाई कोरोना रोकथामका लागि भन्दै बजेट पठाइरहेको अवस्था छ ।
तर, कर्णाली प्रदेशमा बजेट अनुसारको प्रतिफल भने हासिल हुन सकेको छैन । कोरोना संक्रमणबाट गम्भीर स्वास्थ्य समस्या भएका बिरामीलाई भेन्टिलेटरसहितको उपचार सेवा आवश्यक पर्ने भए पनि पर्याप्त भेन्टिलेटर तथा आइसियु बेड सहितका अस्पताल नहुनु, दक्ष जनशक्ति नहुनुजस्ता कारणले बजेट खर्चको तुलनामा प्रतिफल कम देखिएको हो ।
यतिबेला कोरोना नियन्त्रणका लागि ल्याइएका स्वास्थ्य सम्बन्धी केही सामग्री सञ्चालनका लागि दक्ष जनशक्तिको अभाव भइरहेको छ । केही समयअघि प्रदेश सरकारको ३९ लाख २२ हजार रुपैयाँ खर्चिएर स्वास्थ्य सामग्री ल्याएको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ ।
तर, दक्ष जनशक्ति नहुँदा समस्या भएको हो । जाजरकोट, रुकुम पश्चिम, डोल्पा र सल्यानमा अक्सिजन प्लान्ट खरिद भए पनि जडान हुन सकेको छैन ।
अर्कोतिर प्रदेश सरकारले बजेट उपलब्ध गराइसकेका केही अस्पतालले भने अहिलेसम्म सामग्री खरिद गर्न सकिरहेका छैनन् । जसका कारण गम्भीर प्रकृतिका बिरामीलाई प्रदेश अस्पताल सुर्खेत रिफर गर्नुपर्ने बाध्यता छ ।
सल्यान अस्पतालमा खरिद गरिएको अक्सिजन प्लान्टमा भ्रष्टाचार भएको आशंकामा छानविन सुरु गरिएको छ । जाजरकोटमा गत वर्ष खरिद गरिएको भेन्टिलेटर अस्पतालको एक कोठामा थन्किएको छ । जनशक्ति अभावमा भेन्टिलेटर प्रयोगमा ल्याउन नसकिएको अस्पतालका डाक्टर अमिन शाहले जानकारी दिए ।
त्यस्तै, डोल्पामा अक्सिजन प्लान्ट दुई हप्तादेखि थन्किएको छ । जोड्नका लागि प्राविधिक नहुँदा उक्त प्लान्ट सञ्चालनमा ल्याउन नसकिएको स्वास्थ्य सेवा कार्यालयका व्यवस्थापक अमरसिंह शाहीले जानकारी दिए ।
यता, प्रदेश सरकारले भने अक्सिजन उत्पादन गर्ने प्लान्ट जोड्न दक्ष जनशक्तिको अभाव पूर्ति गर्न तालिम सञ्चालन गर्न लागिएको बताएको छ । सामाजिक विकास मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले मेसिन सञ्चालनका लागि दुईवटा समूहलाई तालिम दिएको बताए ।
कर्णाली प्रदेशका दुई अस्पताललाई संघीय सरकारले थप ७५/७५ लाख रकम प्रदान गरेको छ । अक्सिजन प्लान्ट स्थापना, अक्सिजन ट्यांक, एचडियु जडान र पीसीआर मेसिन खरिदका लागि अर्थ मन्त्रालयले जिल्ला अस्पताल दैलेख र रुकुम पश्चिमको चौरजहारी अस्पताललाई उक्त रकम दिएको हो ।
दुबै तहका सरकारले अस्पतालहरुलाई बजेट पठाइरहेको पनि व्यवस्थापन कार्यमा अस्पतालहरू पछि परिरहेका देखिन्छन् भने आलोचना प्रदेश सरकारको हुने गरेको छ ।
हाल प्रदेशमा अक्सिजनको चरम अभाव छ । प्रदेश अस्पताल र कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठान जुम्लामा उत्पादन हुने अक्सिजनले प्रदेशका सबै जिल्लाको माग धान्न सक्ने अवस्था छैन । यद्यपि, जसोतसो समस्या टार्ने काम भने भइरहेको छ । जिल्ला अस्पतालहरुले अक्सिजन अभावमा बिरामीको भर्ना तथा उपचार गर्न नसक्ने अवस्था आए प्रदेश अस्पतालमा रिफर गर्ने गर्दछन् ।