बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

४ सय ५० पुरानो चार नारायण मन्दिरको जीर्णोद्धार सुरु

सोमबार, ३० असोज २०७४, २० : २९
सोमबार, ३० असोज २०७४

काठमाडौँ – अमेरिकी राजदूत एलेना बी टेप्लिज र पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले ऐतिहासिक चार नारायण मन्दिरको जीर्णोद्धारको आज उद्घाटन गरेका छन् ।  

अमेरिकी सरकारको सांस्कृतिक संरक्षणसम्बन्धी राजदूत कोष (एएफसिपी) कार्यक्रमअन्तर्गत दूतावासले २०७२ सालको भूकम्पबाट क्षति पुगेको सो मन्दिरको जीर्णोद्वारका लागि सहयोगार्थ एकलाख अमेरिकी डलर काठमाडौँ उपत्यका संरक्षण कोषलाई प्रदान गरेको छ । 

अन्य दाताको समायोजनमा सो परियोजनाले मल्लकालीन चार नारायण मन्दिरलाई स्थिर र भूकम्प प्रतिरोधी बनाउनाका साथै त्यसको मर्मतका लागि अत्यावश्यक जीर्णोद्वार लाई सहयोग गर्नेछ । 

चारसय ५० वर्षअघि निर्मित मन्दिर चार नारायढण नेवारी वास्तुकलाको एक महत्वपूर्ण तथा अत्यधिक विकसित अभिव्यक्तिका रूपमा रहेको छ । मन्दिरको जीर्णोद्वार दुई वर्षभित्र सकिने अपेक्षा गरिएको छ । 

‘सांस्कृतिक संरक्षणसम्बन्धी राजदूत कोषको माध्यमद्वारा गरिने हाम्रो कामले हाम्रा राष्ट्रहरूबीचको बलियो, सक्रिय साझेदारी तथा नेपालको विविधता र समृद्ध सम्पदाप्रति रहेको हाम्रो आदर झल्काउँछ’ सो अवसरमा आयोजित कार्यक्रममा राजदूत टेप्लिजले भने,‘हाम्रा दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वर्ष मनाउँदै गर्दा म खुशीसाथ चार नारायण मन्दिरको जीर्णोद्वार कार्यलाई हाम्रो मित्रताको मूर्त प्रतीकका रूपमा उद्घाटन गर्न चाहन्छु ।’ 

अमेरिकी दूतावासले एएफसिपी कार्यक्रमद्वारा नेपालमा सन् २००३ देखि संसारको सबैभन्दा बढी २२ परियोजनालाई सहयोग गरेको छ । कुल ३४ लाख अमेरिकी डलरको लगानी रहेको एएफसिपी कार्यक्रममार्फत नेपालमा ऐतिहासिक पाटन राजदरबार, मुस्ताङको प्राचीन बौद्ध छोर्तेन, माचली पाटीको महत्वपूर्ण हिन्दूस्थलको जीर्णोद्धार, ११ औँ शताब्दीको रिन्छेन्लिन गुम्बालगायतको संरक्षण गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप