बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय

नुभिव उप्रेती हत्या प्रकरण : ३ जना किशोर पुर्पक्षका लागि थुनामा

सोमबार, १० जेठ २०७८, ११ : ३०
सोमबार, १० जेठ २०७८

काठमाडौं । कास्कीको पोखरा महानगरपालिका फेवातालस्थित बाराही मन्दिरसँगै मृत फेला परेका थिए नुभिव उप्रेती । ललितपुरको खुमलटार घर भएका १८ वर्षीय नुभिवको हत्या आरोपमा पक्राउ परेका ३ जना किशोरलाई अदालतको आदेशले थुनामा पठाइएको छ । 

वैशाख ४ मा नुभिवको शव भेटिएपछि जिल्ला प्रहरी कार्यालय कास्कीको सहयोगमा वडा प्रहरी कार्यालय बैदामले घटना अनुसन्धान गरेको थियो । नुभिवको हत्या गरिएको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।

हत्यामा संलग्न रहेको आरोपमा खोटाङ घर भई पोखरा बस्ने आशिष राई, स्याङ्जा घर भएका बिगेन गुरुङ र बासुदेव गुरुङलाई जिल्ला अदालत कास्कीले थुनामा पठाउन आदेश दिएको हो । बालिग नभएका कारण आशिषलाई बाल सुधार गृहमा राखिएको छ । बिगेन र बासुदेव १९ वर्षका छन् ।

पोखराको घारीपाटन बस्दै आएका ३ जना मिलेर लेकसाइडको स्ट्रिट नम्बर–१३ मा मरणासन्न हुनेगरी नुभिवलाई कुटेका थिए ।

‘कुटपिट भएको सीसीटीभी फुटेजमा देखिएको छ,’ जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी जिवन श्रेष्ठले रातोपाटीसँग भने, ‘ज्यान मुद्दामा अनुसन्धान गरेर अनुसन्धान प्रतिवेदन बुझाएका थियौं, अदालतको आदेशपछि आरोपीहरु थुनामा गएका छन् ।’

वडा प्रहरी कार्यालय बैदामले शुरुमा ‘आत्महत्या गरेको’ भन्दै जाहेरी लिन अस्विकार गरेपछि मृतकका परिवार आक्रोशित भएका थिए । वैशाख ३ मा काठमाडौँबाट पोखरा गएका नुभिव राति होटल वेलकम इनमा बसेका थिए । यसअघि अपरिचित किशोरहरूसँग पोखराका एउटा रेष्टुेरेन्टमा भनाभन हुँदा कुटपिट गरेको आरोपीहरुले स्वीकार गरेका छन् ।

बुवा, आमालाई थाहा नदिइकन पोखरा गएका नुभिवले बोक्ने मोबाइल फेला परेको छैन । आमालाई ह्वाट्स एपमा गरेको भनिएको म्यासेजको डिटेल्स पनि प्रहरीले फेला पार्न सकेको छैन् ।

नुभिवकी आमा भगवती मैनाली उप्रेतीले शव भेटिँदा पनि छारोको मोवाइल चलिरहेको दाबी गर्दै प्रहरी अनुसन्धानमा शंका गरेकी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप