बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

नयाँ पुनर्बीमा कम्पनी संचालनका लागि ५ कम्पनीको प्रस्ताव, कुनले पाउला लाइसेन्स !

आइतबार, ०९ जेठ २०७८, १३ : ५६
आइतबार, ०९ जेठ २०७८

काठमाडौं । नयाँ पुनर्बीमा कम्पनीको लाइसेन्सका लागि ५ कम्पनीको प्रस्ताव परेको छ । बीमा समितिले दिएको समय मंगलबारसम्म अन्नपूर्ण रि, काठमाडौं रि, प्रुडेन्सियल रि, हिमालयन रि र जेन्युन रि गरी ५ कम्पनीले लाइसेन्सका लागि आवेदन दिएको समितिका कार्यकारी निर्देशक राजुरमण पौड्यालले जानकारी दिए । ‘समितिले दिएको समयसिमा भित्र ५ कम्पनीको प्रस्ताव परेको छ’, उनले भने, ‘मूल्यांकनका सबैभन्दा बढी नम्बर प्राप्त गर्ने एक कम्पनीले लाइसेन्स प्राप्त गर्छ ।’

प्रस्ताव परेको मध्ये हिमालय रि–इन्स्योरेन्स कम्पनी एक हो । उक्त कम्पनीले मंगलबार लाइसेन्स माग गर्दै निवेदन दर्ता गराएको बीमा समितिले जनाएको छ । हिमालय रि–इन्स्योरेन्समा नेपाल उद्योग वाणिज्य महासंघका वर्तमान अध्यक्ष रहेका गोल्छा ग्रुपका अध्यक्ष शेखर गोल्छा, महासंघका पूर्व अध्यक्ष मुरारका ग्रुपका पशुपती मुरारका, महासंघकै पूर्व अध्यक्ष भवानी राणा, नेपाल परिसंघका वर्तमान अध्यक्ष तथा लक्की ग्रुपका सतिश मोर, शंकर ग्रुपका शाहिल  अग्रवाल र सुलभ अग्रवाल, के.एल. दुगड ग्रुपका विकास दुगड, एम.भी. दुगड ग्रुपका विवेक दुगड, लक्की ग्रुपका रोहित गुप्ता तथा अरु बिभिन्न व्यवसायिक घरनाका व्यक्तित्वहरु  रहेका छन् । 

अर्को प्रुडेन्सियल रि–इन्स्योरेन्समा व्यावसायिक घरानाहरू आइएमई ग्रुप, विशाल ग्रुप लगायतको लगानी रहको बताइएको छ । उता अन्नपूर्ण रि–इन्स्योरेन्समा गैरआवासीय नेपाली संघका अध्यक्ष उपेन्द्र महतोसहित केही गैरआवासीय नेपाली समेत रहेका छन् । यस कम्पनीले लाइसेन्स पाए गैरआवासीय नेपालीको लगानी रहेको एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनीले पनि लगानी गर्ने बताएको छ ।

अर्को कम्पनी काठमाडौं रि–इन्स्योरेन्समा बीमा क्षेत्रका विज्ञहरूको समूह छ । प्रस्तावित उक्त कम्पनीमा बीमा क्षेत्रको नियमनकारी निकाय बीमा समितिकै पूर्वअध्यक्ष देवेन्द्र प्रताप शाह, बीमा कम्पनीका सबैभन्दा पुराना सीईओ रमेशकुमार भट्टराई, नेपाल पुनर्बीमा कम्पनीका पूर्व अध्यक्ष महेश गुरागाईं र आइएमई लाइफ इन्स्योरेन्सका पूर्व प्रमुख कार्यकारी अधिकृत चन्द्र भट्टको टीम छ । 

प्रस्तावित जेन्यून रि–इन्स्युरेन्समा २ जना बीमा क्षेत्रका विज्ञहरू छन् । बीमा समितिकै कार्यकारी निर्देशकबाट अवकाश पाएका श्रीमान कार्की र पोखरा विश्वविद्यालयका प्राध्यापक डा. रवीन्द्र घिमिरे यो कम्पनीमा छन् । यस कम्पनीमा म्यानपावर व्यवसायी रघु पुरी समेत सहभागी रहेको बताइएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप