बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

ऋचाको लकडाउन डायरी : नकारात्मक समाचारबाट आफूलाई टाढा राखेकी छु

आइतबार, ०९ जेठ २०७८, १० : १७
आइतबार, ०९ जेठ २०७८

नयाँ भेरियन्ट भित्रिएसँगै देशका अधिकांश ठाउँमा यतिबेला कोरोनाको दोस्रो लहरले आतङ्क मच्चाइरहेको छ । को, कुन बेला, कसरी सङ्क्रमित हुने र सङ्क्रमितको अवस्था के हुने हो भन्न सक्ने अवस्था छैन । पहिलो लहरको तुलनामा दोस्रो लहरमा मृत्यु हुनेको दर पनि धेरै छ । यस्तो अवस्थामा सर्वसाधारणलाई कोरोनाको दोस्रो लहरबाट जोगाउन सरकारले विगत तीन सातादेखि निषेधाज्ञा जारी गरेको छ ।

निषेधाज्ञामा अधिकांश मानिस घरभित्र सीमित हुन पुगेका छन् । चर्चित अभिनेत्री ऋचा शर्मा पनि निषेधाज्ञाको समयदेखि घरभित्रै छिन् । प्रेग्नेन्सीको ६ महिना पार गरिसकेकी ऋचाका लागि यो निषेधाज्ञा आराम गर्न जुराएको अवसर जस्तो पनि भएको छ । तैपनि यो समय उनी खाली दिमाग कोठामा त्यसै बस्नु नहुने बुझेर योग, अध्ययन, पाककलालगायतमा समय बिताइरहेकी छन् । अभिनेत्री शर्माकै शब्दमा यस्तो छ उनको ‘निषेधाज्ञा डायरी’ :

समाचारबाट टाढा

म गर्भवती छु । त्यसैले यो निषेधाज्ञाको समय मैले घरमै बिताइरहेकी छु । अहिलेको समय हामी जस्ता गर्भवती महिला सेन्सेटिभ ग्रुपमा पर्दछाैँ । जति नै इमर्जेन्सी आए पनि बाहिर निस्कनु हुँदैन । अहिलेको रेगुलर चेकअपका लागि समेत डाक्टरसँग फोनबाट परामर्श लिने गरिरहेको अवस्था हो । डाक्टरले पनि एकदमै इमर्जेन्सी नपरेसम्म अस्पताल नआउनु नै भन्नु भएको छ ।

जीवन बचाउन अहिले घरमै बस्नुपर्छ भनेर धेरैले बुझेको अवस्था पनि हो । म पनि त्यही गर्दैछु । अघिल्लो पटकको लकडाउन बिताउन एकदमै गाह्रो भएको थियो । यो पटक समय बितेको पत्तै छैन । निषेधाज्ञाको तीन साता भइसक्यो । अहिले पनि यति धेरै दिन बित्यो जस्तो लागेकै छैन । अहिलेका समय सकेसम्म आफूलाई व्यस्त र समाचारबाट टाढा राख्ने कोसिस गरिरहेको छु । यो समय सामाजिक सञ्जालदेखि चारैतिर छाउने नकारात्मक समाचार नहेरौँ भन्ने लागेको छ ।

पुस्तक र फिल्म

निषेधाज्ञाको धेरै समय मैले अध्ययनलाई पनि दिइरहेको छु । अहिले हेल्थ टिप्स, शिक्षामूलक र कथालगायतका पुस्तक अध्ययन गरिरहेको छु । जीवनीहरू पनि अध्ययन गर्न रुचाउँछु । यो समय मैले सुशीला कार्कीको जीवनी, ‘न्याय’ भन्ने किताब, विजय कुमारको ‘सम्बन्ध’ लगायत धेरै किताब पढैँ । अझै धेरैथरीका किताब पढ्दैछु ।

टीभी र फिल्म हेरेरसमेत समय बिताइरहेकी छु । यो समय मैले फिल्म हलमा हेर्न छुटाएका जति पनि नेपाली फिल्म छन् ती युट्युबमा खोजेर हेरिरहेको छु । धेरै पुराना नेपाली फिल्महरूसमेत हेरिरहेको छु । ती फिल्मबाट नेपाली फिल्म, कलाकारिताको इतिहास जान्न र बुझ्नसमेत सजिलो भएको छ । बलिउड र हलिउडका फिल्म समेत हेर्छु । बलिउड र हलिउडको फिल्मबाट धेरै कुरा सिक्ने अवसर मिलेको छ ।

नियमित योगा

यो फुर्सदको समय मैले कुकिङमा पनि सदुपयोग गरिरहेको छु । मैले अहिले युट्युब च्यानल बनाएको छु । समयको सदुपयोग पनि हुने र क्यामरा अगाडि बसेपछि केही नगरी बसेको जस्तो अनुभूति पनि नहुने सोचेर युट्युबका लागि केही न केही कुकिङको भिडियो अहिले दैनिक अपलोड गर्ने गरेकी छु । जे बनाउन आउँछ, त्यो सिकाउने गरेको छु । युट्युब, इन्स्टाग्राम र सामाजिक सञ्जालबाट दर्शकसँग जोडि नै रहेकी छु ।

प्रेग्नेन्सी अनुभव सेयरसमेत गरिरहको छु ।

यो समय प्रायः बिहान ७, ८ बजे मात्र उठ्छु । सुत्ने बेला रातिको ११, १२ बज्छ  । मानिसले आफूलाई स्वस्थ राख्न मेडिटेसनमा ध्यान दिनुपर्छ । मेरो पनि योग प्रथामिकतामा पर्ने गरेको छ । आफूलाई उपयुक्त हुने योगका आसनहरू नियमित गर्छु । त्यसपछिको केही समय किचनमा बिताउँछु । बिहान बेलुकाको खानासमेत कहिलेकाही आफै बनाउँछु ।

प्रेग्नेन्ट भएर मात्र यो समय म घरमै रहेको होइन । प्रेग्नेन्ट नभए पनि म अहिले घरमै रहन्थे । हामी कलाकार सधैँ सुटिङ, मेला, महोत्सव लगायतमा रमाउने भएकाले अहिलेको समय बिताउन गाह्रो त हुन्छ तर स्वास्थ्यका लागि घरमै बस्नु अनिवार्य छ । 

प्रेग्नेन्सीका कारण जुराएको जस्तो भयो

गत वर्षको लकडाउन कटाउन एकदमै गाह्रो भएको थियो । त्यो समय म सङ्क्रमित भएर आत्तिएको पनि थिएँ । कसरी समय बिताउने, के गर्ने विभिन्न टेन्सन थियो । यो निषेधाज्ञा मेरा लागि चाहिँ जुराएको जस्तो भयो । प्रेग्नेन्सीका कारण यो समय मेरो घरमै बस्नुुपर्ने, धेरै हिँडडुल गर्न नहुने र आफूलाई जोगाउनुपर्ने समय पनि हो । यो समय घरभित्रै बस्नुपर्दा झन् धेरै सुरक्षित महसुस भएको छ ।

हामी कलाकारका लागि यो एक किसिमले अवसर हो । यो समय क्रिएसनमा पनि लगाउन सकिन्छ । केहीले सदुुुयोग पनि गर्दै होलान् । कतिपयका लागि यो अभिसाप भएको होला । यो समय युट्युबमा भिडियो अपलोड गर्नेबाहेक अन्य केही क्रिएटिभ काम गर्न सकेकी छैन । क्रिएटिभ हुनैपर्छ भन्ने पनि होइन । महत्त्वपूर्ण कुरो के हो भने केही न केही गरेर आफ्नो दिमाग र आफूलाई व्यस्त राख्नुप¥यो । कोठामा त्यतिकै खाली बस्नु भएन । त्यो मैले गरेकी छु । खाली बस्दा दिमागमा विभिन्न कुरा खेल्छ । त्यसले आफैलाई असर गर्छ भन्ने मैले बुझेकी छु । बिहानदेखि साँझसम्म केही न केही गर्छु ।

यो खतरनाकै रहेछ

गत वर्षको लकडाउन र अहिलेको निषेधाज्ञा धेरै फरक छ । गतवर्षको कोरोनाभन्दा अहिले कोरोनाको भेरियन्ट धेरै खतरनाक रहेको पुष्टि भएको छ । गतवर्ष कोरोना हाम्रा लागि नौलो भएकाले के हो, कसो हो, यसको असर के होला भन्ने थियो ।

यो वर्ष त कोरोनाको बारेमा हामीले राम्ररी बुझेका छौँ । छिमेकी देश भारतमा र हाम्रै देशमा पछिल्लो समय पारेको प्रभावको जानकारी छ । पहिलेको कोरोना होम आइसोलेसनमा धेरै ठीक भएका थिए । अहिले अधिकांश सङ्क्रमित अस्पताल भर्ना हुन परेको छ ।

यो भेरियन्ट यसरी निको हुन्छ भनेर विभिन्न अनुसन्धानबाट पनि भन्न नसकिएकाले सचेत भएर स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर घरमै बस्न म सबैमा अनुरोध गर्दछु । अहिले घरमा बसे भोलि बाहिर निस्कन पाइन्छ । अहिले निस्किए भोलि भन्न सकिन्न । म सबैलाई यही भन्छु ।

कोरोनाको दोस्रो भेरियन्ट खतरनाकै रहेछ । त्यसैले पनि होला मानिसहरू अहिले सारै डराएका छन् । पहिलेको तुलनामा अहिले अनलाइन स्टोरहरू समेत बन्द छन् । बाहिरी सडक पनि सुनसान देखिन्छन् । अहिले धेरैले प्राण गुमाइसका छन् । त्यसमा सबै उमेर समूहका छन् । सकेसम्म घरबाहिर ननिस्कन अनुरोध गर्छु ।

गरिबको चुलो राज्यको जिम्मा

अहिले दोस्रो लहरको समय राज्यको उपस्थिति देख्न सकिएन । उसले आफ्नो हिसाबले काम त गरिरहेको होला तर जुन हिसाबले उपस्थिति देखिनुपर्ने हो त्यो देखिएको छैन । नेपालमा हेल्थ केयर सिस्टम नभएको छर्लङ्ग भएको छ । राज्यको हामीले यसका लागि समयमा तयारी गर्न सकेनौँ । राज्यले त्यसमा लापरबाही गरेको मेरो बुझाइ हो । यस्तो महामारीको समयमा पनि चौतर्फी लुट, अस्पतालमा पनि सोर्सफोर्स, पैसाको खेल भइरहेको छ । त्यो कुरा देख्दा सारै मन दुख्छ ।

यो समयमा पनि गलत क्रियाकलाप गर्नेलाई राज्यले सबक सिकाउन सक्नुपर्ने हो । त्यो गरिरहेको अवस्था छैन । अहिले दोषीलाई त्यस्तो कारबाही गर्नुपर्छ । त्यो देखेर भविष्यमा गलत क्रियाकलाप गर्ने सोच्दासमेत डर लागोस् ।

अहिलेको समयमा राज्यभन्दा पनि व्यक्तिहरूले आ–आफ्नो स्तरबाट गरेको कार्य प्रशंसनीय छ । विदेशमा रहेका नेपालीहरूले पनि सहयोग गरिरहेका छन् । त्यो सहयोग सदुपयोग हुन्छ भन्ने अपेक्षा छ । जो दिनभर काम गरेर बिहान बेलुकाको छाक टार्ने वर्गमा पर्छन् ती मानिसलाई राज्यबाट विशेष सम्बोधन हुनुपर्छ । उनीहरूको घर, डेरामा चुलो बल्ने वातावरण बनाउनुपर्छ । राज्यले त्यो गर्न सकोस् भन्छु ।

(कुराकानीमा आधारित)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप