शुक्रबार, २८ मङ्सिर २०८१
ताजा लोकप्रिय

उपेन्द्र पक्षको कार्यकारणी समितिको बैठक : ५१ मध्ये ३१ जना सदस्य उपस्थित रहेको दाबी

ठाकुर र महतोलाई कारवाही गर्न माग
शनिबार, ०८ जेठ २०७८, १२ : ००
शनिबार, ०८ जेठ २०७८

जनता समाजवादी पार्टी (जसपा) नेपालको उपेन्द्र यादव पक्षको कार्यकारिणी समितिको बैठक सोह्रखुटेस्थित नेवाः ब्याङ्क्वेटमा शुरु भएको छ । जसपा नपालका अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा शुरु भएको बैठकमा अर्का अध्यक्ष महन्थ ठाकुर पक्षका कार्यकारिणी सदस्यहरुको सहभागिता भने छैन ।

बैठकमा सहभागी एक नेताका अनुसार बैठकमा ३१ जना सदस्यको उपस्थिति रहेको छ । जसपाको कार्यकारिणी समिति ५१ सदस्यीय रहेका छन् । गत जेठ ४ गते अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले जेठ ८ र ९ गतेका लागि कार्यकारिणी समितिको बैठक तय गरेका थिए । तर शुक्रबार अचानक अध्यक्ष ठाकुरले कोरोनाको कारण देखाउँदै बैठक स्थगित भएको विज्ञप्ति जारी गरेका थिए । तर लगत्तै अध्यक्ष यादवले अर्को विज्ञप्ति जारी गरी बैठक स्थगित नभएको र निर्धारित मितिमा नै बैठक हुने विज्ञप्ति जारी गरेका थिए ।

बैठकमा वर्तमान राजनीतिक अवस्था, पार्टीमा देखिएको आन्तरिक विवाद, अध्यक्ष ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोको कदमलगायतका विषयमा छलफल भइरहेको बैठकमा सहभागी नेताले रातोपाटीलाई जानकारी दिए । बैठकमा सहभागी सदस्यहरुले पार्टीको हितविपरीत अध्यक्ष ठाकुर र महतोले कार्य गरेको हुनाले पार्टीको विधानअनुसार कारवाही गर्नुपर्ने सुझाव दिएको बैठकमा सहभागी ती नेताले बताए ।

बैठकमा अध्यक्ष यादवले जसपाका ४० प्रतिशतभन्दा बढी सांसद ओलीको प्रतिगमनविरुद्धमा रहेको जानकारी नेताहरुलाई गराएका थिए । अध्यक्ष ठाकुर र महतोले सांसदहरुलाई विभिन्न प्रलोभनमा पारेर हस्ताक्षर गराएको कारण अन्य थुप्रै सांसद अहिले त्यसको विरोधमा गएको ब्रिफिङ बैठकमा गरेको स्रोत जनाएको छ । सरकारका लागि कुनै पनि पक्षलाई समर्थन नगर्ने र तटस्थ बस्ने भन्दै अध्यक्ष ठाकुर र महतोले सांसदहरुलाई हस्ताक्षर गर्न लगाएको तर पछि त्यही हस्ताक्षरलाई ओलीलाई प्रधानमन्त्री बनाउनमा प्रयोग गरेको यादवले बैठकमा दाबी छ ।

अध्यक्ष ठाकुर र महतोले प्रधानमन्त्री अ‍ोलीलाई नै निरन्तरता दिने निर्णय गरी सांसदको हस्ताक्षर बुझाएपछि त्यसको विकल्पमा अर्को सरकार बनाउन बाध्य भएर तत्काल उपलब्ध १२ जना सांसदको हस्ताक्षर गराएर गठबन्धनको वैकल्पिक सरकार बनाउन तयारी गरेको उनले बैठकमा स्पष्टिकरण दिएका थिए ।

उनले बैठकमा पार्टीको संसदीय दलको नेतामा राजेन्द्र महतोलाई चयन नगरिएको पनि प्रष्ट पारेका थिए । पार्टीका विधान विपरित छलछामबाट संसदीय दलको नेता बनेको कारण त्यसलाई खारेज गरिएको कुरा बैठकमा उनले राखेका थिए । बैठक भोलिसम्म चल्नेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप