प्रतिगमन २ को डटेर प्रतिवाद गरौं : माधव नेपाल

नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले संसद विघटन र निर्वाचनको घोषणा प्रतिगमन भाग २ भएकोले डटेर प्रतिवाद गर्न आग्रह गरेका छन् । शनिवार बिहान आफ्नो बिचार सार्वजनिक गर्दै नेता नेपालले षड्यन्त्रकारीहरूको उक्साहट र चाहनामा फेरि पनि संसद्को चीरहरण भएको बताउँदै फेरी प्रतिगमन दोहोरिएको बताएका छन् ।
संविधानका मर्ममाथि प्रहार गर्दै सर्वसत्तावाद लाद्ने उद्देश्यले भएको कथित चुनावको उद्घोष जालझेल भएको नेता नेपालको भनाई छ ।
उनले भनेका छन्–‘षड्यन्त्रकारीहरूको उक्साहट र चाहनामा फेरि पनि संसद्को चीरहरण भएको छ। प्रतिगमन दोहोरिएको छ । संविधानका मर्ममाथि प्रहार गर्दै सर्वसत्तावाद लाद्ने उद्देश्यले भएको कथित चुनावको उदघोष जालझेल हो । यो व्यवस्था नै कू गर्ने अग्रसरता हो । शीतल निवासले संविधानको मर्मलाई कुठाराघात गरेको छ । यो प्रतिगमन भाग २ हो । केपी ओलीको यो कदमको भत्र्सना गर्दछु । यसको प्रतिवाद डटेर गर्न आह्वान गर्दछु ।’