बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

युनाइटेड रोकिँदा लेस्टरसँग चेल्सीको बदला

बुधबार, ०५ जेठ २०७८, ०८ : ०९
बुधबार, ०५ जेठ २०७८

म्यान्चेस्टर युनाइटेड रेलिगेसनमा परेको फुलहमसँग आफ्नै घरेलु मैदानमा बराबरीमा रोकिएको छ । खेलको १५ औँ मिनेटमा एडिन्सन काभानीले युनाइटेडलाई अग्रता दिलाएका थिए । ४० यार्ड टाढाबाट उत्कृष्ट गोल गर्दै  युनाइटेडलाई अग्रता दिलाए पनि खेलको ७६ औँ मिनेटमा जो ब्रायनले बराबरी गोल फर्काएका थिए ।

युनाइटेडले यो सिजन जीतको अवस्थाबाट ओल्ड ट्राफोडमा अहिलेसम्मकै धेरै १० अंक गुमाएको छ । युनाइटेडका म्यानेजर ओले गनर सोल्कसायरले मंगलबारको खेल आफ्नो टोलीका लागि ‘वेक अप कल’ भएको बताए । आगामी हप्ता युनाइटेडले युरोपा लिगको फाइनलमा भिल्लेरियालको सामना गर्दैछ ।

उता, चेल्सीले लेस्टर सिटीलाई पराजित गर्दै आगामी सिजन च्याम्पियन्स लिगमा छनोट हुने सम्भावना बलियो बनाएको छ । तीन दिनअघि एफए कपको फाइनलमा लेस्टरसँग १–० गोलले हारेको चेल्सीले त्यसको बदला लिँदै लेस्टरलाई २–१ गोलले हरायो ।

८ हजार समर्थकका अघि खेलिएको खेलमा चेल्सीका एन्टोनियो रुडिगर र जोर्जिन्होले एक–एक गोल गरे भने केलेची इहानाचोले लेस्टरका लागि एक गोल फर्काए । पराजयसँगै लेस्टरले आगामी सिजन च्याम्पियन्स लिगमा छनोट नहुने खतरा बढेको छ । हारपछि चेल्सीले लेस्टरलाई उछिन्दै लिगको तेस्रो स्थानमा उक्लेको छ भने बुधबार लिभरपुलले बर्नलीलाई हराए लेस्टर पाँचौ स्थानमा खस्किने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप