‘वायुपङ्खी’ वाम गठबन्धन

person access_timeअसोज ३०, २०७४ chat_bubble_outline0

एउटा लोक कथामा बाल नायक निकै बिरामी पर्छ । नायक निद्राको तन्द्रामा विचरण गर्दैगर्दा एउटी राजकुमारी वायुपङ्खी घोडामा टुप्लुक्क आइपुग्छे । नायकको छेउमा बस्छे र बिरामी नायकलाई ढाडस दिन्छे । मीठामीठा कुरा गर्छे । उनीहरू साथीभाइका कुरा गर्छन् । घोडचढीका कुरा गर्छन् । खेलौनाका कुरा गर्छन् । सपनाका कुरा गर्छन् । दुवैले आपसमा अङ्कमाल गर्छन्, अनि नायिका त्यही वायुपङ्खी घोडा चढेर फर्किन्छे । यता, बिरामीले थलिएको बाल नायक एक्कासि निद्राबाट ब्युँझिन्छ अनि स्वप्निल रोमान्टिसिज्मबाट एकाएक तीतो यथार्थमा फर्किन पुग्छ र आफ्ना धरातलीय यथार्थताको महशुस गर्छ । 

दुई साताअघि नेपाली राजनीतिमा यस्तै प्रकृतिको वायुपङ्खी राजनीतिक गठबन्धन बन्यो । नेकपा एमाले, नेकपा माके र नयाँ शक्तिको त्रिदलीय ‘बाम गठबन्धन’ । लामो दसैँ बिदाको उत्तरार्धतिर नागरिकहरू दसैँको मैजारो गर्दै गाउँघरबाट कुम्लो कुटुरो बोकेर सहरतिर फर्किंदै गर्दा एकाएक राजधानीमा त्रिदलीय गठबन्धन बन्न पुगेको थियो । अनि त्यसले निकै ठूलो राजनीतिक कम्पन पनि पैदा भयो । राजधानीमा आएको वाम गठबन्धनको कम्पन विद्युतीय तरङ्गहरूमार्फत देशका कुनाकाप्चा र कन्दराहरूसम्म पुगे । अनि त्यो कम्पन पुग्यो सामाजिक सञ्जाल, अनि द्रुत गतिमा दौडने इन्टरनेटको तरङ्गमार्फत विश्वभर । 

जसै तरङ्ग फैलियो गठनबन्धनको कम्पनको आयतन थप फराकिलो हुन पुग्यो । गठबन्धनको समर्थन र आलोचनामा अखबार, अनलाइन पोर्टल एवं सामाजिक सञ्जालका भित्ताहरूमा शब्दक्रीडा सुरु भयो । अनि विद्युतीय तरङ्गमार्फत प्रवाहित हुने ध्वनिजन्य सञ्चारका माध्यमहरूमा विभिन्न विश्लेषणका वाणीहरू गुञ्जायमान भए र भइरहेका छन् । गठबन्धनका सारथीहरू गठबन्धनको भाष्य निर्माण गर्नतिर लागे भने छापामार शैलीमा एकाएक घोषणा भएको वामपन्थीहरूको बाम गठबन्धनबाट अत्तालिन पुगेको नेपाली काङ्ग्रेस बृहत् प्रजातान्त्रिक गठबन्धन गर्न भन्दै अगाडि बढ्यो । हो, विगत एक साता वामपन्थीहरूको बाम गठबन्धन अनि गैरवामपन्थीहरूको लोकतान्त्रिक गठबन्धन नेपाली राजनीतिको ट्रेन्डिङ बन्यो । 

आखिर बहस, विवाद र चर्चामा भने नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नयाँ शक्तिबीच निर्माण भएको वामपन्थी गठबन्धन नै रहन गयो । आउँदो प्रतिनिधि सभा र प्रदेश सभाको चुनावका लागि चुनावी तालमेलसँगै चुनावपछि पार्टी एकीकरण गरेर नयाँ ‘कम्युनिस्ट केन्द्र’ बनाउने घोषित लक्ष्य थियो सो गठबन्धनको । यसका अभियोजनकर्ताहरूले त्यही अनुसारका भाष्य निर्माण गर्न थाले । तर, वाम गठबन्धनको पवित्र एवं बृहत् उद्देश्यको भाष्यलाई स्थापित गर्न नपाउँदै गठबन्धनको एक घटक नयाँ शक्ति बाहिरिएको छ । 

आखिर चुनावलाई लक्षित गरेर निर्माण गरिने यस प्रकारका चुनावी गठनबन्धनहरूको लक्ष्य र उद्देश्य निश्चित हुन्छ । खासगरी चुनावी सफलताका लागि यस प्रकारका गठबन्धनहरू निर्माण गरिन्छन् । यसरी गठबन्धन निर्माण गर्दा चुनावी लाभ हानिलाई नै मुख्य आधार बनाइन्छ । दलहरूबीच हुने चुनावी एकतामा तत्कालीन आवश्यकता प्रधान हुने भएकाले यस्तो गठबन्धनलाई कुनै प्रकारको सैद्धान्तिक लेपन गर्नु जरुरी पर्दैन पनि । हामीले गएको स्थानीय तह निर्वाचनमा दलहरूले गरेका चुनावी एकतालाई हेर्दा पनि यस्तो प्रकारको तालमेलका लागि कुनै सैद्धान्तिक आधार चाहिँदैन भन्ने प्रस्ट भइसकेको छ । यस्तो एकता चुनावी मतलाई प्रभावित पारी चुनावमा श्रेष्ठता हासिल गर्ने उद्देश्यका साथ निर्माण गरिन्छ । यद्यपि यस्ता चुनावी गठबन्धनले काम गर्छ नै भन्ने चाहिँ छैन । 
हो, चुनावी एकताको चर्चासँगै वामपन्थी गठबन्धनको उद्देश्य र उपदेयताको बारेमा थप चर्चा गर्नु जरुरी हुँदैन । यो यसै प्रष्ट भएको विषय हो । फेरि दुई ठूला कम्युनिस्ट पार्टीहरूले चुनावी एकता गर्नु अस्वभाविक पनि होइन । तर, जसरी वैकल्पिक राजनीति गर्नका लागि स्थापना भएको नयाँ शक्ति कम्युनिस्ट केन्द्र बनाउने उद्देश्यले निर्माण गरिएको गठबन्धनमा हेलिन गयो, त्यहाँ भने अलिकति अस्वभाविक र असङ्गतिपूर्ण देखिएको साँचो हो ।

पुराना पार्टीहरूले बदलिएको राजनीतिक परिवेशमा नयाँ गन्तव्य सिर्जना गर्न असमर्थ भएकाले अबको निकासका लागि वैकल्पिक राजनीतिको आवश्यकता र अपरिहार्यता महसुस गरी नयाँ राजनीतिक विचार र चिन्तनमा आबद्ध भएर अघि बढेको वैकल्पिक शक्तिले पुरानै पार्टीहरूसँग मिलेर नयाँ राजनीतिक ध्रुवीकरण गर्ने उद्देश्य राखेर चुनावी एकतामा होमिनुचाहिँ कसैगरे पनि स्वभाविक देखिएको थिएन । 

त्यसो त समाज सधैँ स्थिर रहँदैन र समाजका भेरियवलहरू पनि चलायमान नै रहन्छन् । अनि समाजको गतिसँगै राजनीति पनि चलायमान हुन्छ नै । नेपालमा पनि बेलामौकामा राजनीतिक ध्रुवीकरणका विभिन्न प्रयोगहरू हुँदै आएका छन् । ती अधिकांश प्रयोग चुनावकेन्द्रित भएका छन्, जसले कुनै अमूक दललाई शक्ति र सत्ता आर्जन गर्नबाहेक देशको कायाकल्प गरेको छैन । त्यसरी आमूल परिवर्तनकै लागि भनेर त्यस प्रकारको राजनीतिक ध्रुवीकरण भएको पनि देखिँदैन । हो, आन्दोलनको समयमा दलहरू एउटा एजेन्डामा ध्रुवीकृत हुनु एउटा कुरा हो नत्र, सचेतन ढङ्गबाट देशको विकास र समृद्धिकै लागि भनेर त्यसरी दलहरू ध्रुवीकृत भएका उदाहरणहरू छैनन् । बरु सत्ता र शक्ति आर्जन गरिसकेपछि सहयात्रीहरूप्रति नै चरम कृतघ्नता प्रस्तुत गर्ने नेपाली राजनीतिमा दलीय संस्कार नै बनिसकेको छ । 

त्यसै आलोकमा हेर्ने हो भने नयाँ शक्ति पार्टी कम्युनिस्ट भनिने शक्तिहरूको ध्रुवीकरणमा सामेल हुन खोज्नुमा चाहिं तत्कालीन चुनावी कार्यक्रमभन्दा पनि दीर्घकालीन उद्देश्य अन्तरनिहित देखिन्छ । यद्यपि दीर्घकालीन उद्देश्यलाई बल पुग्ने तत्कालीन व्यवहारले पनि हो । सतहमा केही निर्वाचन क्षेत्रमा कुरा नमिल्दा नयाँ शक्ति वामपन्थी गठबन्धनबाट बाहिरिएको देखिन्छ तर यसको अन्तर्यमा हेर्दा तीनवटै दलहरूका बीचमा भएको ध्रुवीकरणसम्बन्धी बुझाइको अन्तर यसको मुख्य कारण हो भन्ने लाग्छ ।

मूलतः नेकपा एमाले र नेकपा माकेले यो गठबन्धनलाई दीर्घकालीनभन्दा पनि तत्कालीन चुनावी लाभका लागि रचेको देखिन्छ । उनीहरूको पछिल्ला सत्ताकेन्द्रित व्यवहारले नै यो कुुराको पुष्टि गर्छ । अनि चुनावको मुखमा एकाएक ती पुराना चिन्तन बोकेका मान्छेहरूमा समाजवादी केन्द्र बनाउने र देशको कायाकल्प गर्ने पवित्र सोच पलायो भनेर विश्वास गर्नु पनि बालापन नै हो । नत्र गएको स्थानीय तहको चुनावमा नेपाली काङ्ग्रेससँग चुनावी गठबन्धन निर्माण गरी केही स्थानमा विजयी हासिल गरेको माओवादी केन्द्रले एकाएक सत्ता साझेदार दललाई धोका दिई अर्को गठबन्धन निर्माण गर्न हिँड्नु पनि राजनीतिक नैतिकताको हिसाबले पाच्य कुरा होइन । कि सरकार छोडेर विपक्षी दलसँग गठबन्धन बनाउन जानुपथ्र्यो, नत्र अझै पनि सरकारमा बसेर सामान्य राजनीतिक चरित्र पनि प्रदर्शन नगर्ने माओवादीबाट दीर्घकालीन समाजवादी गठबन्धन बन्नेछ भनेर विश्वास गर्नु आफैंमा एउटा स्वेरकल्पना हो भन्दा फरक पर्दैन ।
जहाँसम्म दुई पार्टी एमाले र माओवादीबीच चुनावी या स्थायी एकताको कुरा छ, यो भने स्वभाविक र सकारात्मक नै देखिन्छ । किनकि अब यी दुई पार्टीमा त्यस्तो ठूलो भिन्नता पनि छैन । यी दुई पार्टी एक भएको अवस्थामा पारम्परिक राजनीति पनि दुई ध्रुवीय हुनेछ र दुई ध्रुवीय राजनीतिलाई चेकजाँच गर्नका लागि वैकल्पिक शक्तिको आवश्यकता झन् टड्कारो प्रतीत हुनेछ । 

खासमा विकास र समृद्धिकै लागि वैकल्पिक राजनीति जरुरी होइन, तर नेपालको सन्दर्भमा पारम्परिक राजनीतिले अर्थतन्त्रको विकासमा ध्यान दिएन । अझ हाम्रो राजनीतिले त निकै लामो समयसम्म विकास र समृद्धिलाई राजनीतिक प्रक्रियाबाट अलग राख्नुपर्छ भन्नेसम्मको धारणा बनायो । हामी विगत लामो समय राजनीति र विकासलाई अलगअलग प्रक्रियाको रूपमा विभक्त गर्नमै अल्मलियौँ । बृहत् राजनीतिक प्रक्रियाबाटै देशको विकास र समृद्धि सम्भव हुन्छ भन्ने हामीले भुल्यौँ र लामो समय पहिले विकास कि राजनीति भनेर निरर्थक बहसमा बिताइदियौँ । परिणामतः देशमा पटकपटक राजनीतिक परिवर्तन भयो तर त्यसले जनताको दैनिकीमा उनीहरूको जीवनस्तरमा परिवर्तन ल्याउन सकेन । किनकि त्यो परिवर्तनले आम नागरिकलाई आर्थिक उत्पादनको प्रक्रियामा आबद्ध गराएन । त्यसैले विकासको प्रक्रियाबाट हामी पछि पर्न गयौँ । 

पारम्परिक राजनीतिले गर्नुपर्ने सामान्य काम पनि गरेन । त्यसैले त्यही राजनीतिका बाँकी कार्यभार पूरा गर्नकै लागि भनेर वैकल्पिक शक्ति जन्मिएको हो । खासमा वैकल्पिक राजनीति पारम्परिक राजनीतिको दुई धारबीचको सन्तुलन र गतिशीलता हो । यसर्थ, नेपालमा वैकल्पिक राजनीतिको आवश्यकता बोध गर्नकै लागि पनि अहिलेको बहुध्रुवीय राजनीतिलाई दुई ध्रुवीय बनाउनु जरुरी हुन्छ । चुनावी गठबन्धनकै सिलसिलामा सही अहिले नेपालको राजनीति दुई ध्रुवीय हुन खोजेको प्रतीत हुन्छ । अबको चुनावले यसलाई दुई ध्रुवीय बनायो भने त्यहाँनेर वैकल्पिक राजनीतिको आवश्यकता झन् टड्कारो महसुस हुनेछ । 
यसर्थ, नेपालमा वैकल्पिक राजनीतिको विजारोपण गर्ने डा. बाबुराम भट्टराईलाई पारम्परिक राजनीतिको एउटा ध्रुवमा गएर मिसिनु सहज थिएन, जुन यो पङ्क्ति तयार पार्दासम्म हुने सम्भावना पनि कमै देखिन्छ । यद्यपि पछिल्लो बाम ध्रुवीकरणको कसरतले अहिलेको नेपाली समाजको आवश्यकता वैकल्पिक राजनीति हो या विकास र समृद्धिमुखी राजनीति ? भन्ने एउटा जर्बजस्त बहस सिर्जना गरिदिएको छ । 

वैकल्पिक राजनीतिको परिभाषा र अन्तरवस्तुभित्र विकास र समृद्धि स्वतः पर्न जाने हुनाले वैकल्पिक राजनीति भनेपछि विकास र समृद्धिका बारेमा थप कुरा गर्न जरुरी हुँदैन । तर, विकास र समृद्धिको मात्र कुरा गर्दा त्यहाँ वैकल्पिक राजनीति भने अटाउँदैन । वैकल्पिक राजनीति समग्र राजनीतिकै पूर्णपरिभाषा भएको हुनाले यो आफैंमा तेस्रो ध्रुव हो । हो, अब त्यो तेस्रो ध्रुवलाई कसरी शक्तिशाली बनाउने र जनमुखी काममा लगाउने भन्ने विषय भने मनन् योग्य छ । यसका लागि शक्ति आर्जन गर्ने वैकल्पिक बाटोहरूको बारेमा छलफल हुनु जरुरी छ । तर, जसरी माथिको लोककथामा वायुपङ्खी घोडामा सवार नायिकाले बिरामी नायकको उद्धार गर्न सकिनन्, सोलोडोलो रूपमा वायुपङ्खी वामपन्थी गठबन्धनले वैकल्पिक राजनीतिको उद्धार गर्न सम्भव थिएन, भएन ।
manikar.nibartaman@gmail.com

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ