मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

बेलायत कोरोना अपडेट : संक्रमण घटेपनि ‘इन्डियन भेरियन्ट’ को जोखिम बढ्दै

मङ्गलबार, ०४ जेठ २०७८, २२ : २१
मङ्गलबार, ०४ जेठ २०७८

लन्डन । बेलायतमा पछिल्लो समयमा कोरोनाको प्रभाव निरन्तर ओरालो लाग्दै  गइरहेको छ । तर, विगत केहि दिनयता ‘इन्डियन भेरियन्ट’ को संक्रमण तीव्र भएपछि बेलायत कोरोना संक्रमणको तेस्रो लहरको मारमा पर्न सक्ने सम्भावना बढेको छ । बेलायती स्वास्थ्यमन्त्री म्याट ह्यानककले सोमबार दिएको जानकारी अनुसार हालसम्म २ हजार ३२३ मा उक्त भाइरस पुष्टि भइसकेको छ । गत हप्ताको तुलनामा यसको संक्रमण दुई गुणाले बढेको पनि उनले बताए । यसअघिको तुलनामा यो भाइरस झन्डै ५० प्रतिशत बढी संक्रामक रहेको वैज्ञानिकहरुले बताएका छन् । हाल जारी कोरोनाविरुद्धको खोप कत्तिको प्रभावकारी छ भन्ने बारेमा अझै अनुसन्धान जारी छ । तर, बेलायतको पछिल्लो तथ्यांकलाई मूल्यांकन गर्दा खोप नलिएका व्यक्ति बढी प्रभावित देखिएका छन् । १८ जना अस्पताल भर्ना भएकामध्ये ५ जनाले सिंगल डोज मात्र लगाएका, एकजनाले दोस्रो डोज पनि लगाएका र बाँकी १२ जनाले खोप नलगाएको तथ्यांक सार्वजनिक भएको छ ।

पछिल्लो २४ घन्टामा बेलायतमा ७ जना कोरोना संक्रमितको मृत्यु भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जानकारी दिएको छ । योसँगै बेलायतमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या एक लाख २७ हजार ६९१ पुगेको छ ।

यसैगरी पछिल्लो २४ घन्टामा दुई हजार ४१२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बेलायतमा कोरोना संक्रमितको संख्या ४४ लाख ५० हजार ३९२ पुगेको छ । बेलायतमा हाल सक्रिय संक्रमितको संख्या करिब ४५ हजार रहेको छ भने छ ४२ लाख ८० हजार भन्दा बढी  संक्रमित निको भइसकेको वर्ल्डओमिटरको तथ्यांकमा उल्लेख छ ।

५ करोड ७३ लाख बढी डोज खोप वितरण

बेलायतमा हालसम्म खोपको पहिलो र दोस्रो गरि कुल ५ करोड ७३ लाख ५७ हजार ८५७ डोज खोप वितरण भएको छ । जसमध्ये ३ करोड ६८ लाख ११ हजार ४०५ जनाले पहिलो र दुई करोड ५ लाख ४६ हजार ४५२ जनाले खोपको दोस्रो डोज लगाएका छन् ।

हालसम्म कोरोनाभाइरस महामारीबाट विश्वभर मृत्यु हुनेको संख्या ३४ लाख नाघेको छ । कोभिड संक्रमणबाट संयुक्तराज्य अमेरिकामा ६ लाख  हजार, ब्राजिलमा ४ लाख ३६ हजार, भारतमा २ लाख ३० हजार, मेक्सिकोमा २ लाख २० हजार, बेलायतमा १ लाख २७ हजार, इटालीमा १ लाख २४ हजार, रसियामा १ लाख १६  हजार, फ्रान्समा एक लाख ७ हजारको मृत्यु भइसकेको  छ ।

सरकारको पूर्व निर्धारित समय अनुसार नै आउँदो मे १७ बाट इंग्ल्याण्डमा लकडाउन थप खुकुलो बनाइने भएको छ । लकडाउन खोल्ने सम्बन्धमा बेलायती प्रधानमन्त्री  बोरिस जोन्सनले सोमबार सांझ पत्रकार सम्मेलनमार्फत थप प्रष्टयाउने बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरेन्द्र बस्नेत
नरेन्द्र बस्नेत
लेखकबाट थप