शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रशासनकै कारण मकवानपुरमा कोरोना जोखिम बढ्दो

मङ्गलबार, ०४ जेठ २०७८, २० : १२
मङ्गलबार, ०४ जेठ २०७८

मकवानपुरमा स्थानीय प्रशासनकै निर्णयले कोरोना संक्रमणको जोखिम उच्च भएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौंडाको मुख्य बजार क्षेत्रमा अत्यावश्यक खाद्यान्न तथा तरकारी खरिद गर्नका लागि साताको २ दिन बजार क्षेत्रका पसलहरु खुला गर्ने निर्णय गरेसँगै कोरोनाको जोखिम झनै बढेको हो ।

मकवानपुरमा कोरोना संक्रमणको जोखिम नियन्त्रणका लागि निषेधाज्ञा जारी छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी)को सिफारिस अनुसार गत जेठ १ गतेदेखि हेटौंडाको मुख्य बजार क्षेत्रको खाद्यान्न तथा तरकारी पसल सञ्चालनमा रोक लगाएको थियो ।

सो निर्णय अनुसार हेटौंडा–१० बसपार्कमा रहेको तरकारी मण्डी, खोपेगल्लीका तरकारी पसल र टोल टोलमा तरकारी विक्री वितरण रोकिएको छ । अर्कोतिर सातामा २ दिनमात्र अत्यावश्यक खाद्यान्न तथा तरकारी पसल खुल्दा उपभोक्ताको भिड अत्यधिक हुन गइ संक्रमण फैलने जोखिम बढेको हो ।

कोरोना नियन्त्रणका लागि प्रशासनले स्वास्थ्य मापदण्ड अपनाउन र भिडभाडजन्य कार्य गर्न रोक लगाए पनि मंगलबार हेटौंडाको मुख्य बजार क्षेत्रमा उक्त निर्णयको विपरित व्यापक भिड लागेको थियो ।

अर्कोतिर टोलटोलमा रहेका पसलहरु बन्द गराएका कारण उपभोक्ताले सहज रुपमा तरकारी खरिद गर्न पाएका छैनन् भने किसानले उत्पादन गरेको तरकारी बारीमै कुहिने अवस्था आएको छ ।

बैंकमा सर्वसाधारणको भीड

प्रशासनले मकवानपुरका बैंक तथा वित्तीय संस्थाहरु पनि साताको दुई दिनमात्रै खोल्ने निर्णय गरेको छ । मंगलवार र शुक्रबार बिहान १० बजेदेखि १ बजेसम्म मात्रै बैंक खोल्न अनुमति दिइएको छ । जसका कारण मंगलबार बैंकमा सर्वसाधारणहरुको भिड देखिएको छ ।

तातो घाममा सर्वसाधारणहरू बैंक परिसरमा लाइन लागेका थिए भने निश्चित समयसम्म मात्रै बैंक खुला रहने र यातायात सञ्चालनमा रोक लगाइएका कारण हेटौँडा उपमहानगरपालिका बाहेकका अन्य स्थानीय तहका जनता समस्यामा पर्ने गरेका छन् ।

तरकारी पसल बन्द, क्रसर खुला

मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले निषेधाज्ञाका बाबजुद मकवानपुरका क्रसर उद्योग खोल्न अनुमति दिएका छन् । प्रशासनको अनुमति पाएकोले क्रसर निर्वाध सञ्चालनमा छन् ।

तर, नागरिकको लागि अत्यावश्यक मानिने खाद्यान्न, तरकारीलगायतका पसल व्यवसाय भने साताको दुई दिनमात्रै सञ्चालन गर्न दिइएका कारण धेरैलाई सास्ती भएको छ भने सातामा दुई दिनमात्र बजार खुल्न दिने नीतिका कारण भिड बढेर सर्वसाधारणमा संक्रमण फैलने खतरा पनि उत्तिकै देखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप