शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

काठमाडौँ उपत्यकामा मात्र ३९ हजार बढी सक्रिय संक्रमित

१ लाख ७ हजार बढी होम आइसोलेशनमै
मङ्गलबार, ०४ जेठ २०७८, १९ : ४१
मङ्गलबार, ०४ जेठ २०७८

काठमाडौं उपत्यकामा मंगलबारसम्म सक्रिय संक्रमितको संख्या ३९ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाका तीन जिल्लामा सक्रिय संक्रमितको संख्या ३९ हजार २४५ पुगेको हो । हालसम्म यी तीन जिल्लामा संक्रमित २ लाख १३ हजार ५६ जना रहेकामा सक्रिय संक्रमित ३९ हजार बढी रहेको हो । संक्रमितमध्ये १७९१ जनाको मृत्यु भएको छ । अन्य संक्रमित भने निको भएर घर फर्किसकेका छन् ।

मन्त्रालयको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा मात्रै काठमाडौंमा २०४९ जना संक्रमित थपिएका छन् । जसमा भक्तपुरमा २२१ र ललितपुरमा  ३६५ जना संक्रमित थपिएका छन् ।

१ लाख ७ हजार बढी होम आइसोलेशनमै

देशभर कोरोना संक्रमित बढेसँगै उपचारको उचित प्रबन्धमा हाहाकार भएको छ । अधिकांश संक्रमित होम आइसोलेशनमै रहेपनि देशभरका कोभिड अस्पतालमा बेड पाउन समस्या भएको गुनासो चौतर्फी सुनिँदै आएको छ । देशभरका संस्थागत आइसोलेशनमा ७ हजारको हाराहारीमा मात्रै संक्रमित रहेपनि उपचारको अभावमा कतिपय नागरिकले अकालमै ज्यान गुमाएको खबर सार्वजनिक हुँदै आएको छ ।

मन्त्रालयको मंगलबारको अध्यावधिक विवरणअनुसार ७ हजार ४४७ जना संक्रमित मात्रै संस्थागत आइसोलेशनमा रहेका छन् । जसमध्ये १ हजार ५९० जना आईसीयू र ३९० जना भेन्टिलेटरमा रहेका छन् ।

त्यसबाहेकको ठूलो संख्या अर्थात् होम आइसोलेशनमा बस्नेको संख्या १ लाख ७ हजार बढी रहेको छ । मन्त्रालयको मंगलबारको तथ्यांकअनुसार १ लाख ७ हजार ८२ जना होम आइसोलेशनमा रहेका हुन् ।

मन्त्रालयका अनुसार प्रदेश १ मा १० हजार ५२२, प्रदेश २ मा ६ हजार ६६९, बागमतीमा ४७ हजार ८४४, गण्डकीमा ८ हजार २२०, लुम्ब्निीमा २२ हजार ९२, कर्णालीमा ४ हजार ७२२ र सुदूरपश्चिममा ७ हजार १३ संक्रमित होम आइसोलेशनमा रहेका छन् ।

यस्तै संस्थागत आइसोलेशनमा बस्नेमध्ये प्रदेश १ मा ८५३, प्रदेश २ मा ६८७, बागमतीमा २ हजार ४६८, गण्डकीमा २६०, लुम्बिनीमा १ हजार २४२, कर्णालीमा ४३० र सुदूरपश्चिममा १ हजार ५०७ जना रहेका छन् । उपत्यकामा २२८ आइसोलेशन बेड गरिएका छन् ।

५०० बढी कोरोनाको सक्रिय संक्रमित रहेका जिल्ला

मन्त्रालयले तीन दर्जन बढी जिल्लामा कोरोनाका ५०० बढी सक्रिय संक्रमित रहेको बताएको छ ।

मन्त्रालयका अनुसार ती जिल्लामा मोरङ, सुनसरी झापा, रौतहट, धनुषा, पर्सा, महोत्तरी, बारा, सप्तरी, काठमाडौं उपत्यकाका तीन जिल्ला, चितवन, काभ्रे, मकवानपुर, धादिङ, सिन्धुपाल्चोक, सिन्धुली, नुवाकोट, रामेछाप, कास्की, गोरखा, नवलपुर, तनहुँ, स्याङ्जा, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलबस्तु, अर्घाखाँची, गुल्मी, नवलपरासी, सल्यान, सुर्खेत, डडेलधुरा, कैलाली, कञ्चनपुर, बैतडी र अछाम रहेका छन् ।

२०० बढी संक्रमित रहेका जिल्ला

यस्तै २०० बढी सक्रिय संक्रमित रहेको जिल्लामा ताप्लेजुङ, उदयपुर, धनकुटा, संखुवासभा, सर्लाही, सिरहा, दोलखा, रसुवा, पर्वत, म्याग्दी, लमजुङ, रोल्पा, दैलेख, जाजरकोट, रुकुम पश्चिम र टोली रहेका छन् । हालसम्म ७४ जिल्लामा बै जिल्लामा निषेधाज्ञा लगाइएको छ ।

पछिल्लो २४ घण्टामा ६८९१ ले जिते कोरोना

पछिल्लो २४ घण्टामा नेपालमा थप ६८९१ जना कोरोना संक्रमणमुक्त बनेका छन् । यससँगै देशभर कोरोना निको हुनेको संख्या ३ लाख ५२ हजार ४१४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

यस्तै कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या ४ लाख ७२ हजार ३५४ पुगेको छ । हाल कोरोना निको हुनेदर ७४.६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८२०३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।  यस्तै १९६ जनाको संक्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

यसअघि सोमबार देशभर ९ हजार २४७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको थियो भने २१४ जनाको मृत्यु भएको थियो ।

मंगलबार भने पीसीआर विधिबाट २०२८६ र एन्टिजेन विधिबाट ६९३ जनाको स्वाब परीक्षण भएकोमा  कुल ८२०३ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयले हाल देशभर सक्रिय संक्रमितको संख्या १ लाख १४ हजार ५२९ पुगेको जनाएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप