शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

ललितपुरमा करिब पाँच सयवटा अक्सिजन सिलिन्डर बेवारिस अवस्थामा भेटियो

सोमबार, ०३ जेठ २०७८, ११ : ४९
सोमबार, ०३ जेठ २०७८

कोरोना संक्रमितको संख्यासँगै गम्भीर बिरामीको संख्यामा वृद्धि भएपछि अस्पतालहरुमा अक्सिजनको हाहाकार भएको छ । माग बढेसँगै सिलिन्डरको अभावले गर्दा समयमै अक्सिजन आपूर्ति हुन नसकेको धारणा सरकारी पक्षले राखिरहँदा ललितपुरमै करिब पाँच सयवटा अक्सिजन सिलिन्डर बेवारिस अवस्थामा फेला परेको छ ।

भैंसेपाटी जाने बाटोमा पर्ने मल पोखरीस्थित खाली जग्गामा ती सिलिन्डर त्यत्तिकै फ्यालिएको अवस्थामा पाइएको हो । समाजसेवी अन्सु यादवका अनुृसार उनलाई एकजना मित्रले ती सिलिन्डरको बारेमा जानकारी दिएका हुन् ।

‘कोरोना महामारीमा अक्सिजनको अभाव हुने बिरामीलाई मैले अक्सिजन उपलब्ध गराएर सहयोग गर्दै आएको छु, त्यो थाहा पाएर मल पोखरीतिर बस्ने मेरो एकजना साथीले मलाई ती सिलिन्डरबारे जानकारी दिएका हुन्,’ रातोपाटीसँग उनले भने ।

आफूहरु त्यहाँ पुग्दा फिल्डमा त्यत्तिकै ती सिडिण्डर फ्यालिएको अवस्थामा फेला परेको उनले बताए । छरछिमेकमा सोध्ने प्रयास गरे पनि कोही घरबाट ननिस्केको कारण सिलिन्डर कसको हो भन्ने पत्ता लगाउन नसकेको यादव बताउँछन् ।

‘त्यहाँका वडा अध्यक्षलाई पनि फोन गरेँ, फोन उठाउनु भएन,’ उनले भने, ‘स्थानीय जनप्रतिनिधिहरु पनि त्यो सिलिन्डर का बारेमा बेखबर रहेकोजस्तो पाएँ ।’

उनले करिब पाँच सयको संख्यामा ती सिलिन्डर रहेको र धेरैजसो काम लाग्ने अवस्थाकै रहेको पनि बताए ।

अन्सु यादव समाजसेवामा सक्रिय रहँदै आएका छन् । २०७६ चैत ११ गते लकडाउन सुरु भएदेखि नै उनले भोकाएकाहरुलाई निःशुल्क खाना खुवाउँदै आएका छन् । कोरोनाको दोस्रो लहरमा अक्सिजनको अभाव हुन थालेपछि उनले खोजीखोजी कोरोना पीडितलाई अक्सिजन पु¥याउने काम गरिरहेका छन् ।

उनी ‘१०० ग्रुप्स’ नामक संस्थाको माध्यमबाट कोरोनाका कारण गम्भीर अवस्थामा पुगेका बिरामीलाई अक्सिजन उपलब्ध गराउने, खाना खुवाउनुको साथै आवश्यक सहयोग गर्दै आइरहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप