शनिबार, १९ माघ २०८१
ताजा लोकप्रिय

मदन भण्डारीबारे ओलीको टिप्पणी– प्रगतिशील राष्ट्रवादका सम्वाहक

सोमबार, ०३ जेठ २०७८, ०८ : ४५
सोमबार, ०३ जेठ २०७८

प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जननेता मदन भण्डारीका योगदान नेपाल र नेपाली जनताका लागि दूरगामी महत्वका र अतुलनीय रहेको बताएका छन् । उनले मदन भण्डारीलाई प्रगतिशील राष्ट्रवादका सम्वाहकका रुपमा टिप्पणी गरेका छन् ।

मदन आश्रित स्मृति दिवसका अवसरमा सोमबार प्रेस वक्तव्य जारी गर्दै ओलीले मदन भण्डारीका विविध पक्षबारे चर्चा गरेका हुन् ।

‘मदन भण्डारी नवीन विचारका प्रतिपादक र मौलिक सिद्धान्तका अन्वेषक हुनुहुन्थ्यो,’ प्रेस वक्तव्यमा ओलीले भनेका छन्, ‘नेपाली समाजको ऐतिहासिक विकासक्रम तथा विशेषता, मार्क्सवादका आधारभूत सिद्धान्त र अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनका अनुभवहरुको गहन अध्ययन एवं समीक्षामाथि आधारित भएर उहाँले जनताको बहुदलीय जनवाद (जवज) को प्रतिपादन गर्नुभयो ।’

उनले मार्क्सवादका विश्वव्यापी सच्चाइलाई नेपाली क्रान्तिको ठोस व्यवहारमा लागू गर्ने क्रममा आविर्भाव भएको जबज आज नेपाली क्रान्तिको सिद्धान्तका रुपमा स्थापित भएको चर्चा पनि गरेका छन् । ओलीले भनेका छन्, ‘यसले लोकतन्त्रलाई सामाजिक न्यायसँग जोड्न, कम्युनिस्ट आन्दोलनको लोकतान्त्रिकरण गर्न एवं प्रतिकुलताका बीचमा पनि नेपाली कम्युनिस्ट आन्दोलनलाई सही दिशामा अगाडि बढाउन सफल मार्गदर्शन गरिरहेको छ ।’

प्रधानमन्त्री ओलीले मदन भण्डारी नेपालको लोकतान्त्रिक आन्दोलनका महत्वपूर्ण धरोहर रहेको पनि उल्लेख गरेका छन् । ‘तत्कालीन नेकपा (माले)लाई शान्तिपूर्ण आन्दोलनको अग्रणी शक्तिका रुपमा स्थापित गर्दै उहाँले त्यतिबेलाको शक्ति सन्तुलनको आधारमा आन्दोलनको उपयुक्त लक्ष्य, कार्यदिशा र नारा तय गर्न अगुवाई गर्नुभयो,’ ओलीले भनेका छन्, ‘संयुक्त वाममोर्चा गठन गर्न पहल गर्नुभयो एवं नेपाली काँग्रेसलाई संयुक्त आन्दोलनका लागि सहमत गराउन निर्णायक भूमिका खेल्नुभयो ।’

ओलीले तत्कालीन संगठन विभाग प्रमुख जीवराज आश्रितलाई नेपाली कम्युनिस्ट आन्दोलनका एकजना भरोसायोग्य नेताका रुपमा स्मरण गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप