बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

खाडी मुलुकलगायतका श्रम गन्तव्यमा नेपालीलाई प्रवेश रोक

तीन महिनाभित्र नउडे भिसा रद्द हुने
आइतबार, ०२ जेठ २०७८, १५ : ३५
आइतबार, ०२ जेठ २०७८

नेपालमा कोरोना महामारी तीव्र रूपले बढेपछि अन्तर्राष्ट्रिय उडानमा लगाइएको रोकसँगै श्रम स्वीकृति लिएर बसेकाहरू रोकिएका छन् । नेपालको प्रमुख श्रम गन्तव्य मुलुकहरू मलेसिया, संयुक्त अरब इमिरेट्स (यूएई), कुवेत, जापानसहितका देशले तत्काल नेपालका नागरिकलाई आफ्नो देश प्रवेश गर्न रोक लगाएका छन् । नेपालमा नयाँ भेरिएन्टसहितको कोरोना सङ्क्रमण दर  उच्च बन्दै गएपछि ती देशले नेपालसहित बङ्गलादेश, पाकिस्तान र श्रीलङ्काका नागरिकलाई पनि प्रवेशमा रोक लगाएका हुन् । मलेसियास्थित नेपाली दूतावासका अनुसार मलेसिया सरकारको पछिल्लो निर्णयले कूटनीतिक र सरकारी राहदानी भएका बाहेक अन्य कुनै पनि भिसामा यी देशका नागरिक मलेसिया प्रवेश गर्न पाउने छैनन् । यूएईले बुधबारदेखि अर्को सूचना जारी नहुँदासम्मका लागि नेपालीलाई प्रवेशमा रोक लगाएको यूएईस्थित नेपाली राजदूतावासले जनाएको छ ।

तर यता वैदेशिक रोजगार विभागले भने ती मुलुकबाट रोकिएको नभई नेपालले नै रोकेको जनाएको छ । चार्टर्ड उडानमा आउनेहरू आइरहेका विभागका महानिर्देशक कृष्णप्रसाद दवाडी बताउँछन् । रातोपाटीसँग कुरा गर्दै दवाडीले भने, ‘उता ल्यान्ड गर्न नदिएको भन्ने जानकारी हामीलाई अहिलेसम्म आएको छैन । हामीले श्रम स्वीकृति दिएपछि सामान्यतया तीन महिनाभित्र उड्ने हो ।’

यूएई सरकारले पनि बुधबारदेखि नेपालीको प्रवेशमा रोक लगाउने निर्णय गरेको छ । त्यसैगरी कुवेत सरकारले पनि नेपालसहित चार देशबीच हुने व्यावसायिक उडानमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।

कुवेतस्थित नेपाली दूतावासले कुवेतको मन्त्रिपरिषद् निर्णयलाई उद्धृत गर्दै भनेको छ–‘नेपाल, बङ्गलादेश, पाकिस्तान र श्रीलङ्काबीच हुने कार्गो उडानबाहेक सबै व्यावसायिक उडानमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।

तीन महिनभित्र जान नपाए भिसा रद्द, उद्धारको योजना छैन

अन्तर्राष्ट्रिय उडान बन्द भएपछि करार अवधि सकिएका र घर बिदामा फर्कन टिकट लिएका श्रमिकले टिकटको अवधि सकिन लागेको भन्दै सम्बन्धित देशमा रहेका दूतावाससँग हारगुहार गर्न थालेका छन् ।

तर यता विभागले भने उद्धार गर्नुपर्ने कुनै पनि गुनासो नआएकाले उद्धारको व्यवस्था नभएको जनाएको छ । यदि शव ल्याउनुपर्ने भयो भने त्यसका लागि समेत सरकारले तत्काल कुनै रणनीति बनाएको छैन । श्रम मन्त्रालयले भने टिकट लिएका, रोजगारी गुमाएका र रोजगारीका क्रममा मृत्यु भएका श्रमिकलाई स्वदेश फर्काउने विषयमा छलफल भइरहेको जनाएको छ ।

हवाई यात्रामा प्रतिबन्ध लगाउँदा ५० हजारभन्दा धेरै नेपाली प्रभावित हुने मुख्य रोजगारदाता देशमा रहेका कूटनीतिक नियोगले जानकारी दिएका छन् । वैदेशिक रोजगार कार्यालय ताहाचलका अनुसार वैशाखमा मात्रै २४ हजार ३ सय ६३ जनाले श्रम स्वीकृति लिएको सूचना अधिकारी छत्र शाहीले बताए  ।

वैदेशिक रोजगार विभागले श्रम स्वीकृति लिएकाको अवधि सामान्यतया तीन महिनाको हुने  जनाएको छ । विभागका महानिर्देशक दवाडीका अनुसार यदि श्रम स्वीकृति लिएर ३ महिनाभित्र नगए भिसा रद्द हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप