शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

निषेधाज्ञाको फाइदा उठाउँदै सार्वजनिक जग्गा अतिक्रमण

शनिबार, ०१ जेठ २०७८, १६ : ५३
शनिबार, ०१ जेठ २०७८

 कोरोना महामारी तथा स्थानीय प्रशासनले लगाएको निषेधाज्ञाका बाबजुद प्रदेश २ को सत्तारुढ दल जनता समाजवादी पार्टी (जसपा) नेपालका स्थानीय नेताले गुठीको जग्गा कब्जा गरी भवन निर्माण थालेका छन् ।

प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा रहेको ऐतिहासिक तथा धार्मिक धरोहर तिरहुतिया गाछीको जग्गा अतिक्रमण गरी सत्ताको आडमा दुई कोठे पक्की घर निर्माण कार्य भएको हो ।

क्लोथ बैंक धनुषाका अध्यक्षसमेत रहेका जसपा नेपालका स्थानीय नेता राजीव झाले ऐतिहासिक तथा धार्मिक तिरहुतिया गाछीको १० धुर जग्गामा अवैधानिकरुपमा दुई कोठे पक्की भवन निर्माण गराएका हुन् ।

युवा अभियन्ता सुशिल कर्णले ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको जग्गा अतिक्रमण गरी भवन निर्माण भईरहेको भन्दै जनकपुरधाम उपमहानगरपालिकामा निर्माण कार्य बन्द गराउन निवेदन दिएका थिए ।

गुठी संस्थान अन्तर्गत रहेको तिरहुतिया गाछीको जग्गामा भवन निर्माणका लागि स्वीकृति नलिएको पाइएपछि उपमहानगरले भवन निर्माण रोेक्न जिल्ला प्रहरी कार्यालय धनुषालाई पत्राचार गरेको थियो ।

हालै धनुषा प्रहरी र जनकपुरधाम उपमहानगरको नगर प्रहरीले ३० बोरा सिमेन्ट, मिक्सर मेसिन एक थान र भवन निर्माण कार्यमा प्रयोग गरिएका प्राविधिक औजारसमेत निर्माण स्थलबाट उठाएर लगेको छ ।

अवैधानिक भवन निर्माण नगर्न बारम्बार आग्रह गर्दा अटेर गरेपछि ती सामग्री जफत गरिएको धनुषा प्रहरीले जनाएको छ ।

धनुषाका प्रहरी उपरीक्षक प्रकाश रानाभाटका अनुसार अवैधानिकरुपमा भवन निर्माण गरिरहेको भनि जनकपुरधाम उपमहानगरबाट सूचना प्राप्त भएपछि प्रहरीले निर्माणस्थलमा गएर विभिन्न सामग्री नियन्त्रणमा लिएको हो ।

कोरोना महामारीको बेलामा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेर सर्वसाधारणलाई घरमै सीमित रहन आग्रह गरिरहँदा भू–माफियाहरु सार्वजनिक जग्गा अतिक्रमण गरी भौतिक संरचना निर्माणमा सक्रिय हुन थाल्नु चिन्ताको विषय बनेको युवा अभियन्ता कर्ण बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप