शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

गण्डकी प्रदेश : कोरोना संक्रमितको उपचारका लागि प्रदेशभर सरकारी अस्पतालमा सय बेडमात्र

प्राविधिक जनशक्तिको अभावमा उपकरण थन्किए
शुक्रबार, ३१ वैशाख २०७८, २१ : ५५
शुक्रबार, ३१ वैशाख २०७८

पोखरा । कोरोना संक्रमण दैनिक बढ्दै गएको अवस्थामा गण्डकी प्रदेशमा स्वास्थ्य सुविधा प्रवन्ध निकै कमजोर देखिएको छ । प्रदेशमा सरकार स्तरका दुईवटा अस्पतालमा कोरोना संक्रमितको उपचार भइरहे पनि ती दुवै अस्पतालमा गरी जम्मा १०० शय्यामात्र संक्रमितको उपचारका लागि छुट्याइएको छ ।

प्रदेशभरका संक्रमितको उपचार गर्न अहिले सरकारी स्तरबाट पोखरामा सरुवा रोग तथा संक्रामक अस्पताल र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले सेवा प्रदान गरिरहेका छन् । तर दुवै अस्पतालमा हाल ५०÷५० जनामात्र संक्रमित भर्ना गरिएको छ । संक्रमितको उपचारका लागि निर्धारित शय्या भरिभराउ भएको भन्दै ती दुवै अस्पतालले जटिल खालका संक्रमितलाई भर्ना गर्न नसक्ने जनाउँदै आएका छन् ।

अस्पतालमा बेड नभएका कारण ठुलो संख्यामा संक्रमितहरु जोखिम मोलेरै घरमा होम आइसोलेसनमा बस्न बाध्य भएका छन् । प्रदेशमा पोखराभन्दा बाहिर बागलुङमा मात्र आइसियु सहितको अस्पताल सञ्चालनमा छ । त्यहाँ पनि थोरै संख्यामा मात्र संक्रमितको उपचार भइरहेको छ ।

पोखरामा निजीस्तरका डेढ दर्जनभन्दा बढी अस्पताल सञ्चालनमा रहे पनि आधादर्जन अस्पतालमा मात्र आइसियु सेवा उपलब्ध छ । कोभिड संक्रमितका लागि आवश्यक पर्ने आइसियु वार्ड भएका अस्पतालहरुले महँगो रकम असुल्ने गरेका छन् । चर्को शुल्कका बाबजुत ती अस्पताल पनि अहिले भरिभराउ भएका छन् ।

चरक मेमोरियल अस्पताल, मणिपाल शिक्षण अस्पताल, गण्डकी मेडिकल कलेज, मेडिप्लस अस्पताल लगायत निजी अस्पतालले संक्रमितको उपचार गरिरहेका छन् ।

प्रदेशका विभिन्न जिल्लामा रहेका अस्पतालहरुले सामान्य खालका बिरामीलाई सेवा दिइरहेका छन् । साधन, स्रोत र आवस्यक जनशक्तिको ब्यवस्था नभएका कारण जिल्ला अस्पतालहरुले आइसियु र भेन्टिलेटरको व्यवस्था गर्न सकेका छैनन् । आइसियु र भेन्टिलेटर विना सञ्चालित अस्पतालमा जटिल खालका संक्रमितको उपचार सम्भव छैन ।

नयाँ बिरामीलाई ठाउँ छैन

गण्डकी प्रदेशमा जटिल खालका संक्रमितलाई उपचार गर्दै आएका पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र सरुवा रोग तथा संक्रामक अस्पतालका सबै बेड भरिएका छन् । ५० सिट क्षमता भएको सरुवा रोग तथा संक्रामक अस्पतालमा अहिले ५५ जना संक्रमितको उपचार भईरहेको अस्पतालका कार्यकारी निर्देशक विकास गौचनले जानकारी दिए ।

संक्रमितको संख्यासँगै गम्भीर प्रकारको बिरामीको संख्या पनि बढेको उनले बताए । पहिलो लहरका तुलनामा संक्रमणको दोस्रो लहरले मानिसलाई बढी सताएको तथा संक्रमण दर र असरसमेत बढेको कारण गम्भीर समस्या देखिने बिरामीको संख्या बढेको उनको भनाइ छ ।

अस्पतालमा दैनिक रुपमा ३०÷३५ वटा अक्सिजन सिलिन्डर खपत भइरहेको उनले बताए । ‘तर, अस्पतालमा अहिलेसम्म अक्सिजनको अभाव भने भएको छैन,’ उनले भने, ‘तर हामीसँग अहिले नै क्षमताभन्दा बढी बिरामी संख्या भएकाले अब भने जटिल अवस्थाका बिरामी भर्ना गर्न सक्ने अवस्था छैन ।’

गण्डकी प्रदेशकै सवैभन्दा ठुलो अस्पतालका रुपमा रहेको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको कोभिड उपचार केन्द्र पनि भरिभराउ छ । ४० बेडको आइसोलेसन भरिभराउ भएपछि थप १० बेड बढाइएकोमा अहिले ५० बेड नै भरिएको हो ।

पछिल्लो समय आइसोलेसनमा भर्ना भएका बिरामीमध्ये धेरैजसोलाई अक्सिजन चाहिने गरेको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका कोभिड उपचार केन्द्रका फोकल पर्सन डा.शरदचन्द्र बरालले बताए ।

जनशक्ति र प्रविधिको अभाव

गण्डकी प्रदेशमा स्रोत साधन र आवश्यक जनशक्तिको व्यवस्था नभएका कारण जिल्ला अस्पताल लगायतका अन्य स्वास्थ्य संस्थाले आइसियु सहितको स्वास्थ्य सेवा दिन सकेका छैनन् ।

आइसियु र भेन्टिलेटर विना सञ्चालित अस्पतालमा जटिल खालका संक्रमितको उपचार सम्भव छैन ।

गण्डकी प्रदेशका विभिन्न अस्पतालमा जम्मा ८६ वटा भेन्टिलेटर छन् । प्रदेशका केही अस्पतालले मात्र भेन्टिलेटर सञ्चालनमा ल्याएका छन् । कतिपय अस्पतालले भेन्टिलेटर भए पनि आवश्यक प्राविधिकको ब्यवस्था मिलाउन नसक्दा सञ्चालन गर्न सकेका छैनन् ।

प्रदेशमा रहेका जम्मा ८६ वटा भेन्टिलेटर मध्ये अहिले २५ वटामात्र सञ्चालमा छन् । अन्य ६१ वटा भेन्टिलेटर प्राविधिकको अभावमा विभिन्न अस्पतालमा थन्क्याएर राखिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

संक्रामक तथा सरुवा रोग अस्पतालमा जम्मा ६ वटामात्र भेन्टिलेटर छन् । यस अस्पतालमा ६ वटा भेन्टिलेटरका भरमा ५५ जना गम्भीर अवस्थाका संक्रमितको उपचार गरिँदै आएको छ । प्रदेशमा सबैभन्दा बढी १९ वटा भेन्टिलेटर भएको गण्डकी मेडिकल कलेजमा सबै भेन्टिलेटर कोरोना संक्रमितले भरिएका छन् ।

गण्डकीमा अहिलेसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ८ हजार पुगेको छ । ९५ प्रतिशतभन्दा बढी कोरोना संक्रमित होम आइसोलेसनमा छन् ।

अक्सिजनभन्दा पनि सिलिन्डरकै अभाव

पछिल्लो समय देशभरी अक्सिजनको अभाव भएको बेला पोखरा पनि यसबाट अछुतो छैन । अन्य रोगका बिरामीको तुलनामा कोरोना संक्रमितका लागि अक्सिजन बढीमात्रामा खपत भएका कारण संक्रमितको संख्या बढेसँगै अक्सिजन अभाव चुलिएको हो ।

पोखरामा निजी क्षेत्रका कालीगण्डकी अक्सिजन ग्यास प्रालि र पोखरा अक्सिजन ग्यास प्रालिले व्यावसायिकरुपमा अक्सिजन उत्पादन गर्दै आएका छन् । पोखराका यी दुई प्लान्टले दैनिक १२ सय सिलिन्डर अक्सिजन उत्पादन गर्ने क्षमता छ । तर, पछिल्लो समयमा अक्सिजन खपतमा वृद्धि हुनु र नागरिकले अनावश्यकरुपमा सिलिन्डर होल्ड गरेर राखेका कारण अभाव बढेको स्वास्थ्यकमीहरु बताउँछन् ।

पोखरामा अक्सिजनको उत्पादन क्षमता धेरै भए पनि कम मात्रामा सिलिन्डर भएका कारण अभाव देखिएको पोखरा महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख हेमन्त पौडेलले बताए । अनावश्यक रुपमा घरमा सिलिन्डर लैजाने गरेका कारण बजारमा सिलिन्डर अभाव भएको उनको भनाइ छ ।

पौडेलका अनुसार पोखरामा अक्सिजनको भन्दा पनि सिलिन्डरको अभाव देखिएको छ । प्लान्ट हुने अस्पतालले सिलिन्डर कम राख्नाले पनि महामारीमा अक्सिजनको अभाव देखिएको उनले बताए ।

पोखरामा मणिपाल शिक्षण अस्पताल र गण्डकी मेडिकल कलेजमा मात्रै प्लान्ट छन् । अन्य अस्पतालले सिलिन्डर नै प्रयोग गर्दै आएका छन् ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आवश्यकतालाई धान्ने गरी अक्सिजन प्लान्ट निर्माण गर्न बतास फाउन्डेसनले अग्रसरता लिएको छ । फाउन्डेसनका आनन्दराज बतासले कोभिड संक्रमण वृद्धिसँगै अक्सिजनको अभावमा बिरामीको मृत्यु भएकाले धेरै बिरामीको उपचार हुने प्रतिष्ठानमा प्लान्ट निर्माणको अभियान थालेको बताए । प्लान्ट निर्माणका लागि ३ करोड रुपैयाँ लाग्ने बताउँदै उनले अहिलेसम्म विभिन्न दाताबाट झण्डै २ करोड रुपैयाँ उठिसकेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरहरि पौड्याल
नरहरि पौड्याल
लेखकबाट थप