बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

लिभरपुल खेलाडीलाई क्लपको चेतावनी – च्याम्पियन्स लिग खेल्न सबै खेल जित्नैपर्छ

शुक्रबार, ३१ वैशाख २०७८, ११ : १३
शुक्रबार, ३१ वैशाख २०७८

म्यानचेस्टर युनाइटेडलाई ४–२ ले हराउँदै लिभरपुलले आगामी सिजनको युरोपेली च्याम्पियन्स लिग फुटबलमा छनोट हुने आशा जीवित राखेको छ । यद्यपी, च्याम्पियन्स लिगमा छनोट हुनका लागि बाँकी सबै खेल जित्न जरुरी रहेको प्रशिक्षक योर्गान क्लपले बताएका छन् ।

ओल्ड ट्राफोडमा लिभरपुललाई महत्त्वपूर्ण जित दिलाउने क्रममा रोबर्टो फिर्मिन्होले दुई गोल गरे भने मोहम्मद सलाह र डियोयो जोटाले एक–एक गोल गरे । म्यानचेस्टरलाई खेलको १० औँ मिनेटमा ब्रुनो फर्नान्डेसले अग्रता दिलाएका थिए । तर, जोटाले ३४ औं मिनेटमा लिभरपुलबाट बराबरी फर्काए ।  पहिलो हाफको इन्जुरी समय र दोस्रो हाफ सुरु हुनासाथ फिर्मिन्होले लगातार दुई गोल गरेपछि लिभरपुल ३–१ ले अघि बढ्यो । ६८ औं मिनेटमा मार्कस रासफोर्डले म्यानचेस्टरबाट गोल फर्काउँदै खेललाई ३–२ को स्थितिमा ल्याएका थिए ।  तर ९० मिनेटमा सलाहले अर्को गोल गर्दै लिभरपुललाई ४–२ को जित दिलाए ।

खेलपछि प्रतिक्रिया दिँदै लिभरपुल प्रशिक्षक क्लोपले म्यानचेस्टरमा हासिल गरेको जितले लिभरपुल च्याम्पियन्स लिगका लागि लायक छ भन्ने प्रमाणित गरेको बताए । यद्यपि, च्याम्पियन्स लिग खेल्नका लागि बाँकी सबै खेल जित्न जरुरी रहेको चेतावनी उनले खेलाडीहरुलाई दिए । लिभरपुलले लिगमा अब तीन खेल खेल्न बाँकी छ । ३५ खेलबाट लिभरपुलले ६० अंक बटुलेको छ र लिगको पाँचौ स्थानमा छ । लिभरपुलभन्दा एक खेल बढी खेलेको चेल्सी ६४ अंकसहित लिगको चौथो स्थानमा छ, तेस्रो स्थानको लेस्टरको ६६ अंक छ । प्रिमियर लिगको उपाधि म्यानचेस्टर सिटीले जितिसकेको छ भने दोस्रो स्थानको युनाइटेड पनि च्याम्पियन्स लिगमा छनोट भइसकेको छ ।

च्याम्पियन्स लिगमा इंलिस प्रिमियर लिगका शीर्ष चार क्लब छनोट हुनेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप