शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

माधव नेपाल : कोटेश्वरमा तातो, चपली हाइटमा चिसो !

अब एक महिना २० सांसदको राजीनामा खल्तीमै थन्किने
शुक्रबार, ३१ वैशाख २०७८, ०९ : ३९
शुक्रबार, ३१ वैशाख २०७८

नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले विहीबार दिउँसो संविधानविद् एवं कानुनविद्हरुसँग कोटेश्वरस्थित आफ्नै निवासमा परामर्श गरे । एमालेका २० सांसदको सामुहिक राजीनामा खल्तीमै बोकेर छलफलमा उपस्थित नेता नेपाल कानुनविद्सँग अलि खरोरुपमा प्रस्तुत भए । वकिलहरूलाई उनले ‘पानी मरुवा’ भन्नसमेत भ्याए ।

कानुनी परामर्शका पुगेका वकिलहरूमा बरिष्ठ अधिवक्ता शम्भु थापा, गोविन्द बन्दी र टीकाराम भट्टराई थिए । उनीहरु तीनैजना एमाले निकट कानुन व्यवसायी हुन् ।

नेता नेपालको निवासमा पुगेका तीनैजनाले अहिलेको अवस्थामा सांसद पदबाट सामुहिक राजीनामा दिन नहुने सुझाव नेता नेपाललाई दिएका थिए । तर, नेता नेपालले तातिँदै आफूहरुलाई थर्काएको सहभागी एक अधिवक्ताले रातोपाटीलाई सुनाए ।

माधव नेपाल पक्षका सांसदहरुको सामुहिक राजीनामाले एमालेको एकतालाई बल नपुर्‍याउने, त्यसो गर्दैमा धारा ७६(२) अनुसारको सरकार पनि नबन्ने र जनताले चुनेर पठाएका प्रतिनिधिले मतदातामाथि न्याय गरेको पनि नठहरिने वकिलहरूको साझा सुझाव थियो ।

तर, नेता नेपालले राजीनामा दिई छाड्ने प्रतिवद्धतासहित झोक्किँदै भने, ‘तपाईंहरु यस्तो डरछेरुवा कुरा नगर्नोस् । यो पानी मरुवा कुरा हो । २०३२ सालदेखि मैले यो पार्टी बनाएको हुँ, अबको दुई वर्षमा म एमालेलाई अहिलेकै ठाउँमा  ल्याइपुर्‍याउँछ ।’

कानुनविद्हरुले नेता नेपाललाई सम्झाउँदै भने, ‘तपाईहरु २० जनाले राजीनामा दिँदैमा केही हुँदैन, धारा ७६(३) कै सरकार बन्छ । महन्थ ठाकुरको हस्ताक्षरले मात्रै वैधानिकता पाउने भएकाले उपेन्द्र यादवहरूको समर्थनले पार्टीगत मान्यता पाउँदैन, त्यसैले तपाईहरुले राजीनामा दिए पनि केपी ओली नै प्रधानमन्त्री बन्छन् ।’

कानुनविद्हरुले नेता नेपाललाई थप सम्झाए, ‘बरु ३० दिनपछि केपी ओलीले विश्वासको मत लिने बेलामा सोच्दा हुन्छ । त्यतिबेलासम्म एमालेमा एकताको आधार पनि बन्न सक्ला, नभए पनि त्यसपछि धारा ७६(५) अनुसार बन्ने सरकारका लागि दल चाहिँदैन, व्यक्तिले मान्यता पाउँछ र त्यो बेला महन्थ ठाकुरको हस्ताक्षर नभए पनि संख्या  पुर्‍याएर सरकार बन्न सक्छ, त्यसबेला राजीनामा दिनुभयो भने त्यसले अर्थ राख्छ ।’

यसरी बहस हुँदै जाँदा नेता नेपाल एक महिनापछिको विश्वासको मत लिने बेलासम्म केपी ओलीलाई पर्खेर हेर्न सहमत देखिएको छलफलमा सहभागी वकिलले बताए ।

केपी ओलीको घण्टी !

यसरी कोटेश्वरमा तात्तातो बहस चलिरहेकै बेला माधव नेपालको मोबाइलमा घण्टी बज्यो । त्यो प्रधानमन्त्री केपी शर्मा ओलीको फोन थियो ।

त्यहीँबाट प्रधानमन्त्री ओलीले नेता नेपालसँग भेट गर्ने प्रस्ताव राखे । नेपालले पनि छलफलका लागि तयार भएको बताए । र, उनी चपली हाइटस्थित व्यापारी रामेश्वर थापाको आलिशान महलतिर लागे । वकिलहरू आ–आफ्नो बासस्थानतिर हिँडे ।

विष्णु पौडेलको दौडधूप

यसबीचमा केपी ओली र माधव नेपाललाई मिलाउन ओली समूहका नेता विष्णु पौडेलले निकै दौडधूप गरेका थिए । उनी माधव नेपाललाई भेट्न विहीबार विहानै कोटेश्वर पुगेका थिए । केपी ओलीलाई सहमतिमा ल्याउने वचन दिएर उनी बालुवाटारमा आयोजित ओली समूहको १९ सदस्यीय स्थायी कमिटी बैठकमा सहभागी बनेका थिए ।

बालुवाटारको सो बैठकले माधव नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेमाथिको कारवाही फिर्ता लिने  निर्णय गरेको थियो ।

यसक्रममा केपी ओलीलाई मनाउन र नरम बनाउन विष्णु पौडेल, सुवास नेम्वाङ, प्रदीप ज्ञवाली र विष्णु रिमाल लगायतका ओली पक्षका दोस्रो पुस्ताका नेताहरुले भूमिका खेलेको एमाले स्रोतको भनाइ छ ।

चपली हाइटमा उधारो सहमति

अन्ततः चपली हाइटमा प्रधानमन्त्री ओलीले नेता नेपाललाई चार घण्टासम्म ‘होल्ड’ गरेर राखे । सांसदहरुको राजीनामा माधव नेपालसँगै थियो । बेलुका पाँच बजेपछि संसद सचिवालयका कर्मचारीहरु ढोका बन्द गरेर घरतिर हिँडेपछि बल्ल दुई नेताहरुको वार्ता सकियो । वार्तामा ‘सहमति खोज्ने’ उधारो सहमति भयो । र, सहमति खोज्नका लागि १० सदस्यीय कार्यदल बनाउने निर्णयसम्म भयो ।

सिंहदरबारमा तातिएका नेता नेपालले चपली हाइटबाट फर्कने बेलामा नरम देखिँदै यस्तो प्रतिक्रिया दिए–

हामी दुईजनाका बीचमा कुराकानीहरू भए । पार्टीभित्रका समस्याहरूका बारेमा हामीले आफ्नो–आफ्नो सोचाइ राख्यौं । मैले बैशाख २६ गते जारी गरेको वक्तव्य र कमरेड केपी ओलीलाई पठाएको पत्रमा ६ बुँदे जे प्रस्ताव अगाडि सारेको थिएँ, त्यसमा केन्द्रित भएर छलफल गरियो ।

छलफल गरिसकेपछि फागुन २८ गतेको निर्णय फिर्ता गर्ने, त्यसपछि भएको निर्णयहरु र सर्वोच्चको फैसला बमोजिम पार्टीलाई जेठ २ गतेको अवस्थामा पुर्‍याउ​​ने र पार्टीलाई नयाँ ढंगले अघि बढाउनका लागि हामीले कुन तरिका अवलम्बन गर्ने हो भन्नेबारेमा छलफल जारी राख्ने कुरा भएको छ । कुरा जारी छ । र, अब विभिन्न तहमा कुराकानीहरू अगाडि बढ्छ ।

जेठ दुईमा फर्कने कुरामा पोजेटिभ्ली सोचेर कुराकानी अगाडि बढाउने । कुन तरिकाबाट गर्न सकिन्छ भनेर उपाय खोजी गरेर गर्ने । कार्यदल बन्छ । मिल्ने दिशामा अगाडि बढ्न खोजियो । अब सबै कुराहरु कार्यदल बनाएर तय हुन्छ । राजीनामा दिने कुरा थियो, आज भएन । अब राजीनामा दुई–चार दिनलाई ट-यो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप