शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अक्सिजन अभाव : उपत्यकाका ११ अस्पतालद्वारा थप संक्रमितको उपचार गर्न नसक्ने उद्घोष

अफिन भन्छ— सरकारको बाल हठले १५ दिनभित्र प्लान्ट बन्दैन
शुक्रबार, ३१ वैशाख २०७८, ०७ : ३८
शुक्रबार, ३१ वैशाख २०७८

काठमाडौं । बुटवलमा अक्सिजन अभावमा ५ जना कोरोना संक्रमितको ज्यान गयो । कोरोना विशेष अस्थायी अस्पतालमा अक्सिजन अभावमा बुधबार ५ जनाले ज्यान गुमाएका हुन् । काठमाडौं उपत्यकालगायत देशका विभिन्न भागका अस्पतालमा यस्तै नियति छ । यद्यपि कोरोना संक्रमणको दोस्रो लहरमा बेड र अक्सिजनको अभावमा ज्यान गुमाउनेको सम्पूर्ण तथ्याङ्क स्वास्थ्य मन्त्रालयसँग छैन । अक्सिजन आवश्यक पर्ने संक्रमितको संख्या बढ्दै जाँदा उपत्यकाका ११ भन्दा बढी अस्पतालले अक्सिजनको अभाव देखाउँदै बिरामीको उपचारबाट हात झिकेका छन् ।  

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल, नागरिक सामुदायिक तथा शिक्षण अस्पताल भक्तपुरले थप संक्रमित बिरामीलाई भर्ना लिन नसक्ने जनाएका छन् । यस्तै, ओम अस्पताल, नर्भिक अस्पताल, मेडिसिटी अस्पताल, त्रिवि शिक्षण अस्पताल, नेपाल मेडिकल कलेज, मेडिकेयर, हेल्पिङ ह्याण्ड्स, हिमाल अस्पताल, नेपाल भारतमैत्री अस्पतालले अक्सिजन अभाव देखाउँदै संक्रमितको उपचार गर्न नसक्ने बताएका छन् । अक्सिजनको सुनिश्चितता नभएसम्म नयाँ बिरामी भर्ना गर्न नसकिने उनीहरुको भनाइ छ ।

कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सिसिएमसी)ले अस्पतालहरुलाई अक्सिजन सिलिण्डरको कोटा छुट्याएपछि  अस्पतालहरुले संक्रमितको उपचार भर्ना गर्न नसक्ने भन्दै धमाधम हात उठाएका छन् ।
सिसिएमसीले अस्पतालमा बिरामीको चाप नहेरी अक्सिजनको कोटा छुट्याएको पाटन अस्पतालका निर्देशक डा.रवि शाक्यको गुनासो छ ।

सिसिएमसीले कोटा तोकेअनुसार वितरकले अक्सिजन उपलब्ध नगराउँदा झन् समस्या बल्झिएको उनी बताउँछन् । ‘अस्पतालमा कोभिड, ननकोभिड बिरामीलाई आवश्यकताको आधारमा माग्दा अक्सिजन अभाव भयो भन्छन्,’ डा. शाक्यले भने, ‘बेड भए पनि अक्सिजन अभावमा थप कोभिड बिरामी भर्ना लिने अवस्था छैन ।’

पाटन अस्पतालको लागि दुईदिन अघि सरकारले ४०० वटा अक्सिजन सिलिण्डरको कोटा छुट्याए पनि २०० सिलिण्डरमात्र प्राप्त गरेको उनले सुनाए । थप २०० सिलिण्डर उपलब्ध नगराएको उनको भनाइ छ । पाटन अस्पतालमा कोभिड र ननकोभिड बिरामीका लागि दैनिक ५०० सिलिण्डर अक्सिजन आवश्यक पर्र्ने निर्देशक डा.शाक्यको भनाइ छ । तर, अस्पतालले चाहेर पनि कोभिडका बिरामीलाई भर्ना लिन नसकेको उनी बताउँछन् । 

यता अल्का अस्पतालका प्रशासकीय प्रमुख रोजिका प्रधानका अनुसार अक्सिजन पर्खाइमा बिरामीको ज्यान गुम्ने खतरा बढेको छ । अल्का अस्पतालमा दैनिक ४६ सिलिण्डर अक्सिजन उत्पादन हुने भन्दै उनी सबै अस्पताललाई एकै विधिबाट कोटा छुट्याउँदा अस्पतालमा भर्ना हुने बिरामीको ज्यान खतरामा परेको सुनाउँछिन् ।

दैनिक २१५ भन्दा बढी अक्सिजन सिलिण्डर आवश्यक पर्ने भए पनि  कहिले ५०,  कहिले ७० सिलिडण्र अक्सिजन आउने गरेको उनको भनाइ छ । पाटन, त्रिवि शिक्षण अस्पताल, वीर अस्पतालले समेत अक्सिजन वितरण कोटाबाट ठूला अस्पताल मारमा परेको बताउँदै आएका छन् ।

‘१५ दिनभित्र अक्सिजन प्लान्ट बन्दैन’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २०० बेड भएका अस्पताललाई अनिवार्य रुपमा १५ दिनभित्र अक्सिजन प्लान्ट जोड्न निर्देशन दिएको छ । यद्यपि निजी अस्पतालले छोटो समयमा अक्सिजन प्लान्ट व्यवस्थापन गर्न नसक्ने सुमेरु अस्पतालका प्रवन्ध निर्देशक तथा निजी अस्पताल सञ्चालकहरुको संस्था ‘एसोसिएसन अफ प्राइभेट हेल्थ अर्गनाइजेसन नेपाल’ (अफिन) का महासचिव हेमराज ढकाल बताउँछन् ।

‘महमारीको समयमा सरकारको यो बाल हठमात्र हो, १५ दिनभित्र प्लान्ट स्थापना गर्ने स्थिति छैन,’ उनी भन्छन्, ‘अक्सिजन प्लान्ट राख्ने जिम्मा हाम्रोमात्रै होइन, १५ दिनमा २०० बेड भएका सरकारी अस्पतालहरुले प्लान्ट स्थापना गर्न सक्छन् र ?’

निजी अस्पताललाई सञ्चालनको अनुमति दिँदा अनिवार्य रुपमा अक्सिजन प्लान्ट राख्नैपर्ने शर्त नभएको उनको भनाइ छ । यद्यपि महामारीमा अक्सिजनको अभावमा बिरामीको ज्यान जाने स्थिति सिर्जना हुन नहुने भन्दै उनले अक्सिजन प्लान्ट स्थापना गर्नेबारे छलफल भइरहेको बताए ।

अल्का अस्पतालका प्रशासकीय प्रमुख प्रधान पनि १५ दिनभित्र अक्सिजन प्लान्ट तयार पार्न सहज नहुने बताउँछिन् । ‘प्लान्ट राख्नका लागि चाहिने सामग्री सबै पाउन अहिले सम्भव छैन,’ उनी भन्छिन्, ‘बन्दाबन्दीमा कहाँबाट तत्काल सामान ल्याउने ?’   

नेपाल अक्सिजन ग्यास उत्पादक संघका अध्यक्ष गौरव शारडाका अनुसार तत्काल अक्सिजन उत्पादन गर्न सक्ने अवस्था छैन । अक्सिजन उत्पादन गर्ने मेसिन आजभोलिमा आए पनि फाउन्डेशन तथा विविध पूर्वाधार बनाउन कम्तीमा ३÷४ महिना लाग्ने उनी सुनाउँछन् ।

२०० सय बेड भएका अस्पतालले पनि अक्सिजन प्लान्ट बनाउन चाहिने सामग्री तत्काल उपलब्ध भएको खण्डमा मात्रै व्यवस्थापन गर्न सक्ने उनको भनाइ छ । यता स्वास्थ्य मन्त्रालयले अक्सिजन प्लान्ट राख्नका लागि सहजीकरण गर्न तयार रहेको सचिव लक्ष्मण आर्यालले बताएका थिए । 

नेपालमा साना÷ठूला गरी २० वटा अक्सिजन उद्योग छन् । तीमध्ये काठमाडौं उपत्यकामा ८ वटा अक्सिजन उद्योग सञ्चालनमा रहेका नेपाल अक्सिजन उत्पादक संघका अध्यक्ष शारडा बताउँछन् ।​

निजी अस्पतालहरू सामूहिक रुपमा अक्सिजन प्लान्ट बनाउने योजनामा

अफिनले कोरोना महामारीमा नागरिकप्रतिको दायित्व भन्दै संयुक्त रुपमा प्लान्ट बनाउनेबारे छलफल थालेको अफिनका महासचिव ढकालले जानकारी दिए । प्लान्ट स्थापना सम्बन्धी जानकारी लिन विज्ञसँग छलफल भइरहेको उनले बताए ।

सरकारले भनेअनुसार १५ दिनमा प्लान्ट गर्न नसके पनि छिटै काठमाडौं उपत्यकामा दैनिक ५ हजार सिलिण्डर अक्सिजन उत्पादनको गृहकार्यमा निजी अस्पताल लागेको उनले सुनाए । उनी भन्छन्, ‘विज्ञको सुझाव, लगानी उत्पादन, प्लान्ट राख्न कस्ता सामग्री कहाँबाट कसरी ल्याउने बारेमा हामी छलफल गरिरहेका छौं ।’

१०/११ दिनमा प्लान्ट, ट्याङ्क सञ्चालनमा आउँदै 

नेपालमा दैनिक ८ हजार सिलिण्डर अक्सिजन उत्पादन हुन्छ । ८ हजार सिलिण्डर भनिए पनि प्रत्येक दिन कुनै न कुनै प्लान्ट मर्मतसम्भार भइराख्ने भएकाले त्यसमा केही कम हुने अक्सिजन ग्यास उत्पादक संघका अध्यक्ष शारडा बताउँछन् । 
‘अक्सिजन चाहिने संक्रमितको दर बढेसँगै अक्सिजनको माग बढ्यो,’ उनले भने, ‘जति दबाब भए पनि हामी क्षमताभन्दा बढी उत्पादन गर्न सक्दैँनौं ।’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दैनिक १५ हजार सिलिण्डर अक्सिजन माग भइरहेको जनाएको छ । मन्त्रालयले आउँदो असार महिनासम्म ५ लाख ६६ हजार सिलिण्डर अक्सिजन चाहिने आँकलन गरेको छ । 

कोरोना संक्रमणको पहिलो लहरमा कुल उत्पादनको २० प्रतिशत मात्रै अक्सिजन कोभिड बिरामीका लागि खपत भएको थियो । नेपालमा कोरोना संक्रमितले करिब तीन सातादेखि अस्पतालमा बेड पाइरहेका छैनन् । त्रिवि शिक्षण अस्पताल, पाटन अस्पतालकै प्लान्टबाट उत्पादित अक्सिजनले नधान्दा अस्पतालका प्रमुखहरुले यही तरिकाले संक्रमित बढे अक्सिजनको हाहाकार हुने चेतावनी दिएका थिए । 

संक्रमितको संख्या प्रक्षेपण गर्न सक्ने सरकारले अक्सिजन बेडहरुको आवश्यकताबारे गम्भीर बन्न नसक्दा अक्सिजन अभावले कोभिड बिरामीको ज्यान खतरा बढेको जनस्वास्थ्यविद् बाबुराम मरासिनी बताउँछन् ।

लिक्विड अक्सिजन उत्पादन केही अस्पतालले सुरु गरिसकेकाले सरकार ट्याङ्क किन्ने प्रक्रियामा रहेको स्वास्थ्य मन्त्रालयका सचिव लक्ष्मण अर्यालले बताए । सरकारले अक्सिजन ट्याङ्कका लागि दाताहरुसँग प्रस्ताव गरिसकेको भन्दै मन्त्रालयले अबको १०÷११ दिनमा प्लान्ट, ट्याङ्क ल्याउने जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप