बिहीबार, १० माघ २०८१
ताजा लोकप्रिय

इजराइलको हमलामा आफ्ना नेताको मृत्युपछि हमासको जवाफी हमला

बिहीबार, ३० वैशाख २०७८, १३ : ०९
बिहीबार, ३० वैशाख २०७८

प्यालेस्टिनी चरमपन्थी संगठन हमासले गाजामा इजराइली हवाई हमलामा आफ्ना वरिष्ठ कमान्डरहरुको मृत्यु र एक भवन भत्किएपछि इजराइलमाथि दर्जनौं हमला गरेको हो ।

बीबीसी हिन्दीमा प्रकाशित समाचार अनुसार दक्षिणी इजराइलको थुप्रै स्थानमा हमला भएको खबर प्राप्त भएको छ । यस्तै स्टेरोड शहरमा एक बालकको मृत्यु भएको खबर प्राप्त छ ।

इजराइल र प्यालेस्टिनी चरमपन्थीबीच सोमबारदेखि अचानक हिंसा भड्किएको छ जुन रोकिने छाँटकाँट नै छैन । प्यालेस्टिनी चरमपन्थी इजराइलमा रकट हमला गरिरहेका छन् र इजराइलले गाजामा चरमपन्थीको क्याम्पमा निशाना बनाइरहेका छन् ।

हालसम्म गाजामा ६५ जना मारिएका छन् जसमध्ये १४ बालबालिका छन् । यस्तै इजराइलमा सातजनाको मृत्यु भएको छ ।

संयुक्त राष्ट्रले स्थितिमाथि गहिरो चिन्ता व्यक्त गर्दै संघर्ष एक युद्धमा परिवर्तन हुनसक्ने चेतावनी दिएको छ ।

इजराइलभित्र पनि यस्ता इलाकामा हिंसा भइरहेको छ जहाँ यहूदी र अरब जनता बस्छन् । इजराइली मिडियामा इजराइलका थुप्रै शहर र इलाकामा आक्रमणकारीले कतै अरबीलाई निशाना बनाइरहेका छन् त कतै यहूदीलाई ।

इजराइली प्रहरीका अनुसार बुधबारको हिंसापछि ३४७ जनालाई पक्राउ गरियो । ३६ प्रहरी घाइते भएका छन् ।

इजराइलका प्रधानमन्त्री बिन्यामिन नेतन्याहूले हिंसा प्रभावित शहरमा प्रहरीको मद्दतका लागि सेना पठाउनेबारे आफूले विचार गरिरहेको बताए ।

बुधबार राती एक भिडियो सन्देशमा उनले यी हमलालाई अराजकता बताउँदै भने, ‘अरब आक्रमणकारीको यहूदीमाथि हमला र यहूदी आक्रमणकारीहरुको अरबीहरुलाई मारिरहेको विषयलाई कसैले पनि जायज बताउन सक्दैन ।’

नेतन्याहूले आफ्नो सरकारले इजराइललाई बाहिरको दुश्मन र देशभित्रका आक्रमणकारीबाट बचाउनका लागि पूरा शक्तिको प्रयोग गर्ने बताए ।

नेतन्याहूले यसअघि तेल अविव नजिकैको शहर लडमा संकटकालको घोषणा गरे । टाइम्स अफ इजराइलका अनुसार सन् १९६६ पछि पहिलो पटक सरकारले अरब समुदायविरुद्ध आपतकालीन अधिकारीको प्रयोग गरेको छ ।

उता गाजा पट्टी र वेस्ट बैंकमा आंशिक रुपमा सत्ता सम्हाल्ने प्यालेस्टिनी प्राधिकरणले इजराइलको सैन्य आक्रमणको निन्दा गरेका छन् । उनले ट्वीट गरेर उनको व्यवहारले पहिलेदेखि नै पीडित २० लाख मानिसहरुलाई थप पीडित बनाइरहेको बताएका छन् ।

बुधबार के भयो ?

गाजामा हमास चरमपन्थीले उनले इजराइली हमलाको जवाफमा १३० रकेट दागेको बताए ।

इजराइली सेनाले मंगलबार राती गाजामा हवाई हमला गर्यो र यो हमलामा गाजाको दुई टावर ध्वस्त भयो । यीमधये एउटा टावर हमासको टिभी च्यानल अल–अक्साको कार्यालयको थियो । यस्तै सोमबारदेखि जारी हमलामा गाजामा यो तेस्रो टावर थियो जसलाई इजराइली हवाई हमलामा ध्वस्त पारिएको थियो ।

इजराइलले गाजामा हमासका वरिष्ठ नेताहरुको हत्या गरेको र हमासले मिसाइल दागिरहेको स्थानमा पनि हमला गरिरहेको  बताएको छ ।

हमासले आफ्ना एक वरिष्ठ कमान्डर र वरिष्ठ नेता मारिएको कुरा स्वीकार गरेको छ ।

इजराइली सेनाले मंगलबार राती गजामा भएको हमला सन् २०१४ पछि भएको सबैभन्दा ठूलो हमाल भएको बताएको छ ।

हमला अघि मानिसहरुलाई भवनबाट बाहिर निस्कन चेतावनी दिइएको थियो । तर गाजामा हमासको स्वास्थ्य मन्त्रालयका अनुसार तरपनि सर्वसाधारण मारिएका छन् ।

समाचार एजेन्सी एएफपीका अनुसार मंगलबार भएको एक हमलामा एक परिवारका पाँचजना मारिएका छन् जसमा दुई स–साना दाजुभाइ समावेश छन् ।

उनीहरुका १४ वर्षका आफन्त भाइले रुँदै भने, ‘उनीहरुले बस बर्साउन सुरु गर्दा हामी सबै हाँसिरहेका थियौं र रमाइलो गरिरहेका थियौं । हाम्रो वरिपरि सबैतिर आगलागी भइरहेको थियो । ’

उता इजराइली सेनाका अनुसार बुधबार बेलुका देशभरी साइरनमा रकेट हमलाको चेतावनीपछि इजराइली मानिसहरु बम हमलाबाट बच्नका लागि शेल्टरमा गए ।

जेरुशलम पोस्ट पत्रिकाकी संवाददाता ऐना एरनहीमले बीबीसीसँगको कुराकानीमा आफ्नो पाँच महिनाको बच्चासँग रातभरी सेल्टरमा लुकिरहेको बताइन् ।

उनले भनिन्, ‘सयौं मिसाइल इन्सेप्टरर्स र नजिकै खसिरहेको बमको आवाज सुन्नु निकै भयानक थियो ।’

इजराइली सेनाका अनुसार बिहिबार बिहान संघर्ष सुरु भएपछि गाजाबाट इजराइली शहरमा लगभग १५ सय रकेट दागिएको छ । यीमध्ये कतिलाई इजराइलको डोम एयर डिफेन्स सिस्टमले हावामा नै मार हान्यो तर धेरैजसो इजराइली शहरमा खसे ।

इजराइल र प्लेस्टिनी अबब बीच हिंसाको यो सिलसिला वर्षौं पुरानो एक विवादको विषयमा सुरु भयो जसका लागि पछिल्लो एक महिनादेखि तनावको स्थिति बनेको छ ।

कसरी भड्कियो ताजा हिंसा ?

संघर्षको यो सिलसिला जेरुसलममा पछिल्लो लगभग एक महिनादेखि जारी अशान्तिपछि सुरु भएको हो ।

यसको सुरुवात पूर्वी जेरुशलमबाट प्यालेस्टिनी परिवारलाई निकाल्ने धम्कीपछि सुरु भयो जसलाई यहूदी आफ्नो जमिन बताउँछ र त्यहाँ बस्न चाहन्छ । यसैकारण त्यहाँ अरब जनसंख्या भएको इलाकामा प्रदर्शनकारी र प्रहरीबीच झडप भइरहेको थियो ।

शुक्रबार पूर्वी जेरुशलमस्थित अल–अक्सा मस्जिद नजिकै प्रदर्शनकारी र प्रहरीबीच थुप्रै पटक झडप भयो ।

अल–अक्सा मस्जिद नजिकै पहिला पनि दुई पक्षबीच झडप भइरहन्थ्यो तर पछिल्लो शुक्रबार भएको हिंसा सन् २०१७ पछिको सबैभन्दा गम्भीर थियो ।

अल अक्सा मस्जिदलाई मुसलमान र यहूदी दुबैले पवित्र स्थल मान्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप