बिहीबार, १० माघ २०८१
ताजा लोकप्रिय

सरकारलाई सङ्क्रमित र मृतकको आँकडा दिनमा फुर्सद छैन, सबै आ-आफ्नो ढंगले क्रियाशील बनौँ : वर्षमान पुन

बुधबार, २९ वैशाख २०७८, १० : ००
बुधबार, २९ वैशाख २०७८

नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले सरकारले सम्पूर्ण प्रयत्न अक्सिजनको उत्पादन, वितरण र समन्वयमा लगाउन अति आवश्यक भइसकेको बताएका छन् ।

बुधबार साँझ सामाजिक सञ्जालमार्फत नेता पुनले लेखेका छन्, 'हिजो (मंगलबार गृह जिल्ला) रोल्पाबाट हवाइ उद्धार गरिएका श्यामबहादुर बुढालाई धेरै हारगुहार पछि आईसीयूमा भर्ना गरियो । जुनसुकै अस्पतालमा जाँदा पनि एउटै जवाफ छ अक्सिजन छैन । सरकारले सम्पूर्ण प्रयत्न अक्सिजनको उत्पादन, बितरण र समन्वयमा लगाउन अति आवश्यक भइसकेको छ ।'

उनका अनुसार राजधानीमा रहेका ठूला-ठूला अस्पतालले अक्सिजनका कारणले बिरामी लिन नसक्ने घोषणा गरेका छन् । 'यति मात्र होइन उपचारत बिरामी पनि राख्न नसक्ने बताइरहेका छन्  । कति डरलाग्दो अवस्था छ ? प्रधानमन्त्री स्थिती नियन्त्रणमा छ, भनिरहेका छन्,' उनले भने ।

स्वास्थ्य मन्त्री कमिसनको कुरा गरिरहेको र  स्वास्थ्य मन्त्रालयलाई अस्पतालमा उपचार क्षमता बाँकी रहेको बताउँदै मरेका र सङ्क्रमितको आँकडा दिनमा फुर्सद नभएको उनले बताए । सरकारको भरोसामात्र भन्दा पनि राजनीतिक दल, भगिनी संगठन, नीजि क्षेत्र, संघ संगठन, बिदेशमा रहेका नेपाली दिदीबहिनी, दाजुभाइको विशेष सहयोग आवश्यक रहेको बताए ।

उनले भने, 'यस्तो अवस्थामा सरकारको भरोसा मात्र भन्दा पनि राजनीतिक दल, भगिनी संगठन, नीजि क्षेत्र, संघ संगठन, बिदेशमा रहेका नेपाली दिदीबहिनी, दाजुभाइको विशेष सहयोग आवश्यक छ ।'

कोरोना सङ्कटसँग जुध्न सबै आ आफ्नो ढंगले क्रियाशील बन्न आग्रह गरे । 'कोरोना सङ्कटसँग जुध्न हामी सबै आ आफ्नो ढंगले क्रियाशील बनौँ । सबैमा हार्दिक अनुरोध गर्दछु,' उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप