चौलागाईंको निधनमा एमालेले ३ दिन पार्टीको आधा झण्डा झुकाउने

काठमाडौं । नेकपा (एमाले) ले प्रदेशसभा सदस्य पशुपति चौलागाईंका निधनमा तीन दिनसम्म पार्टीको आधा झण्डा झुकाउन मातहत कमिटीलाई निर्देशन दिएको छ । उनको निधनमा केन्द्रीय कार्यालयसहित देशभरका पार्टी कार्यालयमा शोक पुस्तिका पनि राखिनेछ ।
एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार पार्टी केन्द्रीय कार्यालयको ढोकामा स्व.चौलागाईंको तस्वीरमा माल्यार्पण गरी नेताहरुले आज अन्तिम श्रद्धाञ्जलि दिएका छन् । साथै कार्यालयमा शोक पुस्तिकासमेत राखिएको छ ।
पार्टी केन्द्रीय सदस्य चौलागाईंको मंगलबार कोरोना संक्रमणका कारण निधन भएको थियो । उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । चौलागाईं दोलखा (ख) बाट वाग्मती प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । उनी २०५६ सालको निर्वाचनमा दोलखा १ बाट र २०७० सालको संविधानसभा निर्वाचनमा समानुपातिकबाट सांसद भएका थिए ।
विद्यार्थी कालदेखि नै सक्रिय राजनीतिमा रहेका चौलागाईं भद्र, निष्ठावान् र इमान्दार नेता रहेका थिए । चौलागाईंको जन्म २०२० फागुन ५ गते दोलखा जिल्लाको काभ्रे गाउँमा भएको थियो । उनी हाल मध्यपुर थिमिमा बस्दै आएका थिए । पिता चन्द्रप्रसाद र आमा भक्तमायाको सन्तानका रुपमा जन्मिएका उनका श्रीमती, दुई छोरी र एक छोरा रहेका छन् ।
स्नातकोत्तर उनले २०३४ साल कात्तिक (तत्कालीन माले) बाट राजनीतिक यात्रा शुरु गरेका थिए । उनले पटकपटक गरी छ महिना बन्दी जीवन बिताएका थिए । विगतमा शिक्षण पेसाको अनुभवसमेत सँगालेका चौलागाईंले भारत, बंगलादेश, श्रीलंका, चीन, थाइल्याण्ड, भियतनाम, इण्डोनेशिया, बेलायत, अमेरिका, फ्रान्स, जर्मनीलगायत धेरै देशको भ्रमण गरेका थिए ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले उनको निधनबाट शोक वक्तव्य जारी गरी पार्टीले एउटा असल र निष्ठावान् नेतालाई गुमाउन पुगेको जनाउँदै राजनीतिक योगदानलाई सदा पार्टीले सदा स्मरण गर्ने बताएका थिए । पार्टीका नेता माधवकुमार नेपालले पनि शोक वक्तव्य जारी गरी उनको निधनले पार्टीलाई अपूरणीय क्षति पुगेको जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाली सेनाले तेस्रो गोरखा–जितगढी एकीकरण पदयात्रा गर्दै
-
विश्वभरका गैरआवासीय नेपालीले एकताबद्ध एनआरएनए चाहेका छन्ः कुँवर
-
‘वसन्त’ नितान्त मेरो अनुभूति र ग्रामीण समाजको चित्रण हो : प्रकाश सपूत
-
पूर्व राजाको सुरक्षामा खटिएको सशस्त्रको सेट परिवर्तन
-
दुर्गा प्रसाईंको राहदानी ‘ब्ल्याकलिस्ट’मा राखिँदै
-
१० बजे १० समाचार : ज्ञानेन्द्रलाई बालेनद्वारा जरिवाना, राजावादी धमाधम पक्राउ पर्दा 'कमाण्डर' दुर्गा फरार