शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

८४ वर्षीय हजुरआमाको कोरोना अनुभवः ‘संक्रमितलाई प्रेम गरौं’ (भिडियो सहित)

बुधबार, २९ वैशाख २०७८, १६ : ४४
बुधबार, २९ वैशाख २०७८

हजुरआमा कस्तो छ अहिले हजुरलाई ?

सोह्रै आना ठिक छु बा म अहिले त । अस्ति अस्ति त खै के के भयो भयो ! मलाई पुरै डाहा छटपटी भयो । सास फेर्न नै सकिनँ । दौडेर बाहिर गएर पोखरीमा डुबुल्की मारु जस्तो भाको थियो ।

हँसिलो अनुहारसहित ८४ वर्षीय हजुरआमाको यो जवाफ सवै कोरोना संक्रमितका लागि प्रेरणा बन्न सक्छ ।

बाँकेको नेपालगञ्जस्थित एमपी स्कूल रोडमा छ ८४ वर्षीय लालकुमारी विष्टको घर । भारतसँग सीमा जोडिएको बाँके जिल्लामा कोरोना संक्रमणको अवस्था भयावह बन्दै जाँदा लालकुमारीको परिवार पनि यसबाट अछुतो रहन सकेन ।

४ भाइ छोराको घर वरिपरि छन् । परिवारका १२ जना सदस्यलाई कोरोना संक्रमण भयो । जसमा ५ जनालाई अस्पताल नै भर्ना गर्नुपर्यो । लालकुमारीकी नातिनी बुहारी आस्था क्षेत्री भन्छिन्, ‘नेपालगञ्जका कुनै घर यस्तो छैन होला जहाँ कोरोना संक्रमित नभएको होस् । हाम्रो परिवारका पनि १२ जना सदस्यलाई संक्रमण भयो । बच्चाहरूदेखि ८४ वर्षीय मुमासम्मलाई भयो ।’

यसै त दम, सुगर अनि मुटुकी रोगी लालकुमारीलाई भाइरसले यसरी थला पार्यो कि अब उठेर यसरी फेरि बोल्नुहोला भनेर कसैले पनि नसोचेको आस्था बताउँछिन् ।

समयमा पाएको उपचार अनि आत्मबलले नै आज फेरि परिवारलाई अँगाल्न सकेकी छन् लालकुमारी । १६ दिनको अस्पताल बसाईलाई सम्झिँदै उनी भन्छिन्, ‘अलिकति होस आयो कि भगवानको स्तुति गर्थेँ, हे भगवान ! सारा संसारलाई रोग मुक्त गरिदिनोस् भन्दै ।’

विष्ट परिवारका ३/४ जना सदस्यमात्र संक्रमणबाट बचेका थिए । उनीहरु नै संक्रमित १२ जना सदस्यमध्ये कसैलाई अस्पतालमा त कसैलाई घरमै हेरचाह गर्ने गर्थे । लालकुमारी अस्पतालको बेडमा यसरी छटपटाउँथिन् कि मानौं उनी मृत्युसँग भीषण लडाई लडिरहेकी छन् । अक्सिजन लगाइराख्दा पनि उनको अक्सिजन लेबल ८० को हाराहारीमा हुन्थ्यो । बजारमा अक्सिजन र औषधि (रेम्डिसिभिर)को अभाव हुन थालिसकेको थियो । अस्पतालमा बेड खाली थिएनन् । संक्रमितको मृत्यु भएको खबर आइरहन्थ्यो भने बिरामीको चाप र अवस्थाले अस्पतालका स्वास्थ्यकर्मीहरु त्रसित थिए । त्यस्तोमा बिरामी र बिरामीका आफन्तको हालत त अनुमानमात्र लगाउन सकिन्छ ।

कोरोना महामारीको दोस्रो लहरको चपेटामा नराम्ररी परेको मध्ये एक हो बाँके जिल्ला । यस क्षेत्रका नागरिक आज अस्पताल र अक्सिजनको अभावमा ज्यान गुमाइरहेका छन् भने कति त हतोत्साहित भएर पनि ज्यान गुमाइरहेका छन् । तर, लालकुमारीको आत्मविश्वास देखेर परिवार पनि अचम्ममा पर्ने गर्छ ।

कोरोना भएकै थाहा भएन

लालकुमारी विष्टलाई कोरोना भाइरसको संक्रमण हुँदा सास फेर्न गाह्रो हुने, खोकी लाग्ने, जिउ दुख्ने, छटपटी हुनेलगायतका लक्षण देखिए । परिवारका १२ जनासँगै संक्रमित भएकी उनलाई परिवारले यसरी आज उठेर पुनः यो हँसिलो अनुहार हेर्न पाइन्छ भन्ने आशा गुमाइसकेका थिए । तर राम्रो स्याहार सुसार अनि खानपानमा ध्यान दिने र बलियो आत्मबल हुने हो भने कोरोनालाई परास्त गर्न सकिने रहेछ भन्ने उदाहरण आफ्नी मुमा (हजुरआमा) भएको लालकुमारीकी नातिनी बुहारी आस्था बताउँछिन् ।

पेसाले नर्स रहिसकेकी आस्था हाल आफ्नै व्यापार सञ्चालन गर्दै आइरहेकी छिन् । नर्सिङ पेसामा रहँदा आफ्नो परिश्रम अनुसारको सम्मान र तलब भत्ता नपाउँदा पेसा नै परिवर्तन गरेकी उनी आजको यो अवस्थाले सारा विश्वलाई नर्सको महत्व बुझाइदिएको बताउँछिन् । महामारी विरुद्ध सारा स्वास्थ्यकर्मी, चिकित्सकको अथक मेहनतमा आफूले पनि केही योगदान गर्न पाउँदा खुशी लागेको उनी बताउँछिन् ।

सुरुमा त लालकुमारीलाई कोरोना संक्रमण भएकै थाहा थिएन । लामो समयदेखि दमको बिरामी भएकाले उस्तै समस्या देखिएको थियो । त्यसैले पुरानै रोग हो कि भन्ने लागेको लालकुमारीलाई । कोरोनाको भयावह अवस्थाले उनमा झनै त्रास फैलिन सक्ने भन्दै परिवारले पनि उनलाई सुरुमा कोरोना संक्रमण भएको पत्तो दिएन ।

तर निको भएपछि परिवारका सबैले खुसी मनाउँदा मात्र लालकुमारीले आफू निको भइसकेको पत्तो पाइन् । भन्छिन्, ‘सुरुमा निकै गाह्रो भयो । अस्पतालमा सबैले राम्रोसँग हेरविचार गरे । निको भएर घर आएपछि सबैले हाम्रो मुमाले त कोरोना जितिस्यो भन्दा म आफै छक्क परेँ । छोरा बुहारी, नाती नातिना बुहारीहरु सबैलाई कोरोना लागेर निकै गाह्रो भएर अस्पताल राखेको रहेछ, मलाई केही थाहै दिएनन् ।’

कोरोना फैलिएको छ भनेर पोहोर सालदेखि नै आफूलाई घरबाट निस्किन नदिइएको उनले सुनाइन् । ‘म सँधै घरमै बस्थेँ तर खै कसरी लाग्यो थाहै भएन,’ उनले भनिन्, ‘तर आज यो उमेरमा पनि मैले कोरोना जितेँ । ममात्रै होइन, मेरो परिवार पनि निकै खुशी छ ।’

आस्थाका अनुसार हजुरआमा लालकुमारीमा जसरी पनि सन्चो हुनु छ भन्ने यस्तो आत्मबल थियो, जसले संक्रमणमुक्त हुन सघायो । यो उमेरमा पनि लालकुमारीको आत्मबल देखेर परिवार र छरछिमेक  अचम्मित हुने गरेको आस्था बताउँछिन् ।

लालकुमारी भन्छिन्, ‘म त खाएरै निको हुने रोग रछ भनेर जवरजस्ती खान्थे । समय समयमा भगवानको स्तुति गरिरहन्थे । भगवान पछिको ठूलो रक्षक यो संसारमा कोही छ भने त्यो डाक्टर हुन् । डाक्टरहरुको माया र प्रेरणाले म निको भएँ ।’

अस्पताल नपाउँदाको सास्ती

लालकुमारी लगायत परिवारका १२ जना सदस्यलाई चैतको अन्त्यतिरबाट कोरोनाको लक्षण देखियो । तनावमा रहेको विष्ट परिवारले अस्पताल खोज्न थाल्यो । कोहलपुरस्थित मेडिकल कलेजमा कोरोना संक्रमितको उपचार हुँदै आएको जानकारी उनीहरुले पाए ।

८४ वर्षीय लालकुमारी र अन्य ४ जनामा गम्भीर प्रकृतिको संक्रमण देखिएकाले कोहलपुर पुर्याउन कठिन हुने ठानेर नजिकको अस्पतालमै सोधखोज गरे । नेपालगञ्जकै यूनाइटेड अस्पतालमा कोभिडका बिरामी लिइरहेको थाहा पाएपछि विष्ट परिवारका ५ जना भर्ना भए । ८४ वर्षीय लालकुमारीलाई कोरोना संक्रमण भएको भन्ने थाहा नदिई उपचार शुरु गरियो भने परिवारका अन्य सदस्यलाई छुट्टै राखेर उपचार सुरु भयो ।

यूनाइटेड अस्पतालकी डा. रजनी शाहलगायतको टिमको निगरानीमा लालकुमारी र उनका परिवारको उपचार भयो । अक्सिजन, रेम्डिसिभिर औषधि सुरु गरेपछि बल्ल लालकुमारीको स्वास्थ्यमा विस्तारै सुधार आउन थाल्यो । लालकुमारीकी नातिनी बुहारी आस्था पूर्व नर्स भएकाले आफैले अस्पतालमा हजुरआमाको स्याहार गरिन् ।

कोभिड बिरामीले भरिएको अस्पतालमा, त्यो पनि कोभिड कै बिरामीसँग १६ दिन बिताएकी आस्था आफू भने सुरक्षित रहन सफल भइन् । विशेष सावधानी अपनाउने हो भने बिरामी छुँदैमा कोरोना नसर्ने उनी बताउँछिन् ।

आस्था भन्छिन्, ‘कोरोना संक्रमितलाई छुनै हुन्न भन्ने जुन खालको परिपाटी छ, यो विल्कुलै गलत हो । हो, संक्रमितसँग सिधै सम्पर्कमा आउँदा कोरोना सर्न सक्छ । तर सावधानीपूर्वक गर्दा सर्दैन । मेडिकल उपचार त जरुरी छ नै, उत्तिकै जरुरी छ पारिवारीक हेरचाह पनि । त्यो नहुँदा धेरै बिरामीको आज मृत्यु भइरहेको छ ।’

लालकुमारी संक्रमितलाई आत्मबल बढाउन सहयोग गर्न सवैलाई आग्रह गर्छिन् । यूनाइटेड अस्पतालकी डा. रजनी शाह र उनका श्रीमान् डा.ज्ञानेन्द्रको प्रेरणाले आज आफू निको भएको बताउने उनी सबै डाक्टरहरुले बिरामीलाई आत्मबल बढाउन माया र प्रेरणा दिने हो भने कोरोना जित्न सकिने बताउँछिन् । लालकुमारी छोरा बुहारी, छोरी ज्वाई, नाति नातिना, पलाति पलातिना सबैलाई फेरि देख्न पाउँदा हर्षले छाती फुलेको बताउँछिन् ।

लालकुमारीको सन्देश छ, ‘कोरोना लाग्नबाट बचौँ, यदि लागि हालेमा पनि आत्मबल बलियो बनाऔं । संक्रमितको मनोबल बढाऔं । मेरो परिवारले जस्तै सबैले परिवारमा कसैलाई संक्रमण भयो भने राम्रो रेखदेख गरौं । धेरै नडराऔँ, नआत्तिऔं, सबैलाई प्रेम गरौं ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

टुना भट्ट
टुना भट्ट

टुना भट्ट रातोपाटी अनलाइन टिभीकी  संयोजक तथा समाचार प्रस्तोता हुन् ।

लेखकबाट थप