मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

वाम गठबन्धनभित्रको अन्तर्वस्तु

आइतबार, २९ असोज २०७४, १४ : ३८
आइतबार, २९ असोज २०७४

४० को दशक (चौथो महाधिवेशन) देखि भिन्न सैद्धान्तिक दृष्टिकोणका साथ अगाडि बढेका ने.क.पा. माओवादी केन्द्रको क्रान्तिकारी धार र ने.क.पा. एमालेको संशोधनवादी धारबीच भएको वाम गठबन्धनको विषयले सर्वत्र चर्चा पाएको छ । चर्चा पाउनु स्वभाविक छ किनकि यी दुई कम्युनिस्ट पार्टीहरूले एकअर्कालाई गाली गलौज गर्दै झण्डै ३४ वर्ष विताए । ३४ वर्षपछि के त्यस्तो चमात्कारी परिवर्तन भयो जसले विपरीत सोच र मान्यताका साथ अघि बढेका पार्टीहरूलाई आसन्न प्रदेश र सङ्घको निर्वाचनमा गठबन्धन गर्दै पार्टी एकता गर्नेसम्मको सोचमा पुर्यायो । यो गठबन्धनलाई  राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा बढो उत्सुकतापूर्ण रूपमा हेरिएको छ । नेपालको कम्युनिस्ट आन्दोलनको विषयमा विद्यावारिधि गरेका कतिपय बुद्धिजीवीहरूले यी विपरीत ध्रुवका कम्युनिस्टबीच भएको गठबन्धनलाई चमत्कारपूर्ण, तिलस्मी र अपारदर्शिताको समेत संज्ञा दिएका छन् ।

२०७४ आश्विन १७ गते काठमाडौँस्थित राष्ट्रिय सभागृहमा ने.क.पा. माओवादी केन्द्र, ने.क.पा. एमाले र नयाँ शक्ति नेपालबीच भएको वाम गठबन्धनको घोषणासभामा नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले बाम गठबन्धनको औचित्य स्थापित गर्न यो एकतालाई आकस्मिक आवश्यकताको सिद्धान्तसँग जोडेका थिए । विधिशास्त्रीय मान्यताअनुसार आवश्यकताको सिद्धान्तको व्याख्या गर्ने हो भने आवश्यकताको सिद्धान्तले कानुन जान्दैन भन्ने हो । योे सिद्धान्त कानुनविद्हरूले त्यस्तो अवस्थामा व्याख्या र प्रयोग गर्ने गर्दछन्, जतिबेला आफ्नो पक्षको बचाउ गर्ने प्रचलित कानुनी आधार हुँदैन । बाबुरामजीको आकस्मिक आवश्यकताको सिद्धान्त अलग अलग सैद्धान्तिक मान्यता बोकेका पार्टीहरूबीचको विजातीय एकताको बचाउका लागि  दिएको तर्क मात्र हो । उनको आकस्मिक आवश्यकताको सिद्धान्तसँग सहमत हुन सक्ने भरपर्दा आधारहरू छैनन् । किनकि वाम गठबन्धन आकस्मिक आवश्यकताको सिद्धान्तमा आधारित नभै सुविधाको सिद्धान्तमा आधारित छ । सुविधाको सिद्धान्तले आफू अनुकुल  वा  आफूलाई फाइदा हुने कुरामा  जोड दिन्छ । अहिलेसम्म कम्युनिस्टहरूले सुविधाको सिद्धान्त अपनाउँदै आएका छन् । पार्टी विभाजन वा नेताले पार्टी छाड्दा सत्तोश्राप गर्ने, धारे हात लगाउने, खिया गयो भन्ने र कोही खराबै मान्छे पार्टी प्रवेश गर्यो या त्यही पार्टी छाडेको कार्यकर्ता वा नेता पार्टी पुनः प्रवेश गर्यो भने महान नेता, त्यागी नेता भनेर प्रशंसा गर्ने द्वन्द्व चरित्र देखाउँदै आएका छन् । दुई अलग सोच र मान्यताका साथ अगाडि बढेका पार्टीहरूमा रातारात त्यस्तो के चमत्कारपूर्ण परिघटनाले काम गर्यो, जुन परिघटनाले विपरीत सोचबीचको गठबन्धन स्वभाविक मानिदै छ ।

वाम गठबन्धनलाई गठबन्धन सम्बद्ध नेताहरूले आवश्यकता र परिस्थितिको उपज भनेर आफ्नो बचाउ गरे पनि  गठबन्धनका  पछाडि धेरै कारणहरू छन् । ती कारणहरूलाई मैले दुई भागमा विभाजन गरेर विश्लेषण गर्ने प्रयास गरेको छु ।

१. बाह्य कारण
नेताहरूले बाम गठबन्धनलाई घरेलु वा आन्तरिक आवश्यकताको उपज भनी गठबन्धनको औचित्य सावित गर्न खोजे पनि अहिलेसम्मको नेपालको वाम या प्रजातान्त्रिक दलहरूको जीवन र अभ्यासलाई पुनरावलोकन गर्ने हो भने विदेशी वा बाह्य शक्ति केन्द्रले नेपालका पर्टीहरूलाई एकीकरण, विभाजन र विघठनसमेत गरेको देखिन्छ । जस्तो नेपाली काङ्ग्रेस, एमाले र माओवादी विगतमा विभाजन हुने र एकता हुने प्रक्रियाबाट अघि बढ्दै आएका छन् । यो विभाजन र एकतामा बाह्य शक्ति केन्द्रको प्रत्यक्ष प्रभाव रहेको विभिन्न घटनाक्रमले पुष्टि गर्दछ । ८० को दशकसम्म यस्तो पनि भनिन्थ्यो– “नेपालका कम्युनिस्टले चीनमा पानी पर्दा नेपालमा छाता ओड्छन् ।”

चीनले आफ्नो राष्ट्रियता सुदृढ गर्नका लागि नेपालमा स्थिर सरकार होस भन्ने चाहान्छ ।  तुलनात्मक रूपमा नेपाली काङ्ग्रेसभन्दा नेपालका वामपन्थीहरू चीनका विश्वास पात्र मानिन्छन् । एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री के.पी. शर्मा ओलीको प्रधानमन्त्रीकालमा चीनसँग सम्बन्ध अझ सुदृढ देखियो । चीन नेपालको असल छिमेकी बन्न चाहान्छ । त्यसका लागि चीनले नेपालका वामपन्थीहरूको एकता र उनीहरूको नेतृत्वको स्थायी सरकारले मात्र चीनले आफ्नो आन्तरिक र बाह्य राष्ट्रियता मजबुत हुने ठान्दछ । त्यस्तै युरोपेली युनियन पनि नेपालमा जातिय मुद्दालाई राजनीतिक प्रणालीमा समावेशीकरणको माध्यमबाट स्थापित गर्न चाहान्छ । समावेशीकरणको माध्यमबाट क्रिस्चियन धर्मलाई  नेपालमा स्थापित गर्न सकिन्छ भन्ने मनसाय युरोपेली युनियनको छ । युनियनको यो स्वार्थ प्रजातान्त्रिक दलहरूबाट भन्दा वामपन्थी दलहरूबाट सम्भव हुने युरोपेलीहरूको ठम्याइछ । जनयुद्धकालदेखि संविधान निर्माण गर्दासम्म माओवादीले जातीय मुद्दा, प्रमुख मुद्दा, बनाउँदै आएका थिए र छन् । यसरी वाम गठबन्धन गराउन बाह्य रूपमा चीन र युरोपेली युनियनको भूमिका रहेको देखिन्छ । कतिपयले भारतका सत्ता विपक्षीय दलहरूको वाम गठबन्धन निर्माणमा सहयोग रहेको भन्ने पनि भनाइ रहेको छ ।

आन्तरिक कारणः
आन्तरिक कारणलाई निम्नानुसारले वर्गीकरण गर्न सकिन्छ ।

क) चरम सत्ता लिप्सा : नेपालको राजनीतिको मुख्य केन्द्र राष्ट्र, राष्ट्रियता र जनता कहिल्यै पनि बन्न सकेनन् । २०६२÷२०६३ को आन्दोलन पछि स्व. गिरिजाप्रसाद कोइरालाले विचार आस्था र सिद्धान्तलाई वन्धक बनाएर राष्ट्रपति बन्ने सपना देखे पूरा हुन सकेन । गिरिजाको देहावसनपछि माओवादीका अध्यक्ष प्रचण्डले गिरिजाको उत्तराधिकारीका रूपमा आफूलाई स्थापित गर्ने प्रयास गरे, प्रचारबाजी गरे, त्यो पनि पूरा भएन । अन्ततः उनलाई भित्ते राष्ट्रपतिको समेत संज्ञा दिइयो । राजनीति सत्ता प्राप्तिकै लागि हो । तर विचार सिद्धान्तलाई बन्धक बनाएर राष्ट्र, राष्ट्रियता कमजोर बनाएर एउटा अमुक व्यक्तिको स्वार्थका लागि देशलाई बन्धक बनाइनु हुँदैन । अहिलेको वाम गठबन्धन पनि एमाले, माओवादी केन्द्र र नयाँ शक्तिका प्रमुख नेताहरूले आसन्न निर्वाचनमा ढुक्कसँग जित्ने सुनिश्चितता नदेखे पछि एकाएक वामगठबन्धन गरेको भन्ने बुद्धिजीवीहरूको ठहर छ । २ नं. प्रदेशको निर्वाचनमा सोचे जस्तो परिणाम नआएपछि एमाले आत्तियो । एमालेभित्रका कतिपय वरिष्ठ नेताहरूको सिंहदरबारमा फोटो टाँस्ने धोको बाँकी छ, त्यसका लागि पनि ती नेताहरूको पहलमा माओवादीसहितको गठबन्धनको आवश्यकता एमालेले ठान्यो । सत्ता लिप्सा र आफ्नो अस्तित्व बचाउका लागि बाबुराम वाम गठबन्धनमा आबद्ध भएका थिए भन्ने कुरा गठबन्धन घोषणा भएको २ हप्ता नहँुदै आफूले मागेअनुसारको सिट र निर्वाचन क्षेत्र नपाएपछि गठबन्धनबाट बाहिरिनुले पनि पुष्टि हुन्छ ।
 

ख) गुट व्यवस्थापन गर्न नसक्नु : बाम गठबन्धनका दुई प्रमुख घटक एमाले र माओवादी केन्द्रभित्र धेरै गुट र उपगुटहरू छन् । ती गुट उपगुटका नेताहरूलाई सत्ता साझेदार गरी गुट मिलान गर्ने प्रयोजनका लागि पनि वाम गठबन्धन आवश्यक थियो । झण्डै २ महिनाअघि  पेरिसडाँडा  वैठकमा माओवादी अध्यक्ष प्रचण्डले भनेको भनाइले पनि माओवादीभित्रको गुट कति भयावहक छ भन्न्ने पुष्टि हुन्छ । उनले भनेका थिए– पार्टीभित्रको चरम गुटउपगुटको अन्त्य गरौँ कि पार्टी विघठन गरौँ । त्यस्तै एमालेभित्र पनि गुटउपगुटको लामो शृङ्खला छ । अध्यक्ष ओली सरकार र पार्टीमा समेत हाबी भएको, माधवकुमार नेपाल र झलनाथ खनाल निकटहरू ओलीको लाचार छायाँ र फडके किनाराको साक्षी जस्तो भएको देखिन्छ ।  ओलीको दबदबा कम गर्न झलनाथ र माधवकुमार नेपालले वामदेव गौतमलाई भावि प्रधानमन्त्रीको ललिपप देखाएर माओवादीसित गठबन्धन गर्न प्रेरित गरेको भन्ने भनाइ छ । यो भनाइमा आंशिक सत्यता छ किनभने माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन र एमाले माओवादीबीचको दूरी कम गर्न वामदेव गौतमको प्रमुख भूमिका मानिँदै आएको छ ।

ग) वैचारिक स्लखन : माक्र्सवादी साहित्यमा उग्रवामपन्थ ढिलो वा चाँडो संशोधनवाद वा दक्षिणपन्थीमा विलय हुन्छ भन्ने मान्यता छ । माओवादी जनयुद्ध सुरु गरे पछि ने.क.पा. मसालका महामन्त्री मोहन विक्रम सिंहले भनेका थिए– प्रचण्ड र बाबुरामले आफ्नो व्यक्तिगत क्यारिअरका लागि युद्ध गरेका हुन् । अन्ततः २२ वर्षपछि प्रचण्ड बाबुरामहरू वैचारिक धरातलबाट स्लखित हँुदै आफ्नो क्यारिएर बचाउन संसदीय भाषको दलदलमा फसेको एमालेसँग पार्टी एकताको लागि लालायित छन् । उता एमालेले  पनि मदन भण्डारीको बहुदलीय जनवादलाई २१औँ शताब्दी अनुकुल परिमार्जन र परिष्कृत गर्न नसकिरहेको र वैधानिक तथा प्राविधिक मतको सङ्ख्या बहुमत भए पनि वैचारिक आदर्शप्रति जनताको आकर्षण घट्दो छ । माओवादी पनि चुनवाङ्ग वैठक हुँदै शान्ति प्रक्रियामा आएपछि स्पष्ट भावि राजनीतिक कोर्स निर्माण गर्न सकेको छैन । ऊ राजनीतिक अकमण्र्यतामा फसेको छ । दुवै पार्टीहरू वैचारिक आस्था र आदर्शबाट स्खलित भएकोले वाम गठबन्धन सम्भव भएको हो ।

घ) नेताको व्यवस्थापन गर्न नसक्नु ः शान्ति प्रक्रियापछि माओवादीले पार्टी प्रवेशलाई प्राथमिकता दियो । यसक्रममा एमालेलागयत अन्य पार्टीका नेता तथा कार्यकर्ताहरू माओवादी प्रवेश गर्ने ठूलै जमात बन्यो । पेरिसडाँडामा दैनिक जस्तो अबिर लगाउनेहरूको भीड बढ्दै गयो । तर प्रवेशीहरूलाई सम्मानजनक रूपले व्यवस्थापन गर्न माओवादी असफल भयो । माओवादी हेडक्वाटरमा अहिले पनि विना भूगोलका करिब २ दर्जन वरिष्ठ नेताहरू छन् । ती नेताहरूमध्ये कतिपयले ०६४ सालको संविधानसभा सदस्यको निर्वाचनमा विजयी भई महत्वपूर्ण मन्त्रालय सम्हालेका थिए । अहिले उनीहरू अध्यक्ष प्रचण्डलाई दबाब दिएर विजातीय एकता गरेर भए पनि  सरकारमा पुग्ने  सपना देखिरहेका छन् ।  माओवादीका लागि आसन्न सङ्घ र प्रदेशको निर्वाचन पेरिसडाँडामा थन्किएका नेताहरूको व्यवस्थापन गर्नका लागि आवश्यक थियो । गठबन्धनले विजयलाई सुनिश्चितता गरेको छ ।

निष्कर्षः
वाम गठबन्धनभित्रको अन्तर्वस्तुभित्र बाह्य र आन्तरिक जेजस्ता कारण वा तत्वहरूले काम गरे पनि टुटफुट र विभाजन हुनुभन्दा पार्टीहरूबीच एकता वा गठबन्धन हुनु राम्रो पक्ष हो । यो गठबन्धनले मुख्यतः तीन कुरामा प्रत्यक्ष फाइदा पुग्ने देखिन्छ । पहिलो कुरा नेपालको संविधानको हुबहु कार्यान्वयनमा जोड दिन्छ । संविधानको मुख्य अन्तर्वस्तु वा विशेषता भनेको संविधान समाजवाद उन्मुख संविधान हो । समाजवाद वामपन्थी दलहरूको अभिष्ट हो । नेपाली काङ्ग्रेसलगायत अन्य पुरातनवादी सोचका दलहरूबाट नयाँ संविधानको हुबहु कार्यान्वयन हुने सम्भावना थिएन । दोस्रो स्थिर सरकार । संसदीय व्यवस्थाको सबैभन्दा नराम्रो दुष्कृति भनेको अस्थिर सरकार हो । गठबन्धनले स्थिर सरकारलाई सुनिश्चित गर्दछ । तेस्रो दलहरूको व्यवस्थापन । गठबन्धनले च्याउ उम्रेझैँ उम्रेका दलहरूलाई व्यवस्थापन गर्नसमेत सहज हुने देखिन्छ । संविधानमा व्यवस्था भएको ३ प्रतिशतको थे्रसहोल्डले पनि साना दलहरूलाई ठूला दलहरूको ओत लाग्नु बाध्यमत्मक थियो । 
अन्त्यमा, जनताले खोजेको अनुभूतिजन्य परिवर्तन हो । जनताले १० वर्षे जनयुद्ध र विभिन्न सामाजिक र राजनीतिक आन्दोलनहरूले स्थापित गरेका मुद्दाहरूको कार्यान्वयनको सुनिश्चितता र प्रतिबद्धता खोजेका छन् । यस्तो प्रतिबद्धता र सुनिश्चतता कुन कुन दल र नेता मिल्दा हुन्छ । त्यसमा जनताको आपत्ति छैन । जनतालाई त्यसले तात्विक फरक पार्दैन ।  चिनियाँ नेता देङसियाओफिङको भनाइ बाम गठबन्धनको सन्दर्भमा मननयोग्य छ । उनको भनाइ थियो– “बिरालो कालो होस या अन्य त्यसले केही फरक पार्दैन, तर उसले मुसा मार्दछ कि मार्दैन, त्यो महत्वपूर्ण कुरा हो ।”
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शिवराज पण्डित (पीएच.डी.)
शिवराज पण्डित (पीएच.डी.)
लेखकबाट थप