बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
कविता

आऊ लासको व्यापार गरौँ

मङ्गलबार, २८ वैशाख २०७८, १४ : ४०
मङ्गलबार, २८ वैशाख २०७८

 

 

-अर्जुनप्रकाश भुसाल

आऊ लासहरूको व्यापार गरौँ 
खोलेर आँखाको पट्टी
हेर त,
निकाल त
कानमा राखेको कपास,
सुन त क्रन्दन, चित्कार र रोदन ।
यत्र–तत्र, छरपस्ट,
पोखिएका छन् लासहरू
प्रत्येक चोक चोकमा,
घर, पार्टी, पौवा अनि गोठहरूमा,
सर्वत्र सबैतिर
बिस्कुन जसरी,
जाम भएको छ आर्यघाट

आऊ लासहरूको व्यापार गरौँ ।
हो, तिमीलाई सलाम छ
बन्द गर सबैतिर
नबनाऔँ कुनै क्वारेन्टाइन र आइसोलेसन,
चाहिँदैन हस्पिटलमा, भेन्टिलेटर आईसीयू र अक्सिजन ।
पर्दैन गर्न केही उपचार यहाँ,
किनकि यसैमा त फाइदा छ,

आऊ लासहरूको व्यापार गरौँ ।


खबरदार ! नल्याउनु कुनै भ्याक्सिन, पर्दैन सुविधा दिन स्वास्थ्यकर्मीलाई
खोप नदेऊ शिक्षक र विद्यार्थीहरूलाई 
पहिला बार्गेनिङ गर,
कमिसन मिलाऊ
सबै तिर ठप्प पार... 

आऊ लासहरूको व्यापार गरौँ ।

यो बेला त व्यापार पो गर्नुछ,
पशुपतिमा क्षमा पूजा पर्दैन
ठोरीमा रामचन्द्रको मन्दिर...
फेरि तिमी
हेर्न डरायौ हो
किन धरहरामा चढ्छौ ?
अब सगरमाथामा चढ
अझै माथि चन्द्रमाबाट हेर त
कतै बाहिर पनि बिक्री गर्न सकिन्छ कि....
धन्न तिमी भिमसेनको बाटो
हिँड्छु भन्दै गर्दा
जङ्गबहादुर बन्दै गयौ
रातदिन आफ्नै आसनको
मात्र ध्यान दियौ,
केही छैन मिसन पूरा गर्दैछौ
रोम जल्दा निरोलेझैँ
बाँसुरी बजाऊ...
ढुक्क होऊ
कमिसन पक्कै आउँछ
सेटिङ बलियो छ...
सक्छौ भने हावा आउन पनि बन्द गर
आऊ नयाँ व्यापार गरौँ
तिमी उपाएहरूमा चाबी लगाऊ
विकल्पहरूमा किल्ला ठोक
म लासहरूको थुप्रा गन्छु,

आऊ लासहरूको ब्यापार गरौँ ।
खोल आखाँको पट्टी
हेर त,
निकाल कानमा राखेको कपास ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप