शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रेणु यादवको प्रश्न : बालुवाटार धाउने ठाकुर र महतोलाई कारवाही किन नगर्ने ?

‘राजेन्द्र महतोले उपेन्द्र यादवलाई कारवाही गर्न सक्नुहुन्न’
मङ्गलबार, २८ वैशाख २०७८, १४ : १४
मङ्गलबार, २८ वैशाख २०७८

जनता समाजवादी पार्टी नेपाल (जसपा) भित्र सत्ता समीकरणका लागि मत विभाजित भएपछि एक अर्काप्रति आरोप–प्रत्यारोपको क्रम सुरु भएको छ । यही क्रममा बरिष्ठ नेता राजेन्द्र महतोले अध्यक्ष उपेन्द्र यादवलाई कारवाही गर्ने चेतावनी समेत दिइसकेका छन् ।

उता जसपाकी कार्यकारिणी सदस्य रेणु यादवले पार्टीमा देखिएका समस्या र कठिनाइलाई पार्टीको बैठकबाट समाधान गर्न आग्रह गरेकी छिन् । जसपाले अहिलेसम्म जे–जे गरेको छ, ती सबै पार्टीको निर्णयबाट नै गरेको दावी गर्दै उनले भनिन्, उहाँहरुले (महन्थ ठाकुर पक्ष) पार्टीको बैठक पनि बसाउन नमान्ने र पार्टीको बहुमतबाट भएको निर्णयलाई विरोध पनि गर्ने यो सुहाउँदो कुरा होइन ।’

रातोपाटीसँग कुरा गर्दै यादवले अहिले पनि केही नबिग्रेको र पार्टीमा छलफल गरेर अगाडि बढ्दा हुने बताइन् । पार्टीका वरिष्ठ नेता जस्तो व्यक्तिले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलाई कारवाही गर्ने अभिव्यक्ति दिनु गैरजिम्मेवारपूर्ण अभिव्यक्ति भएको टिप्पणी गरिन् । यादवले भनिन्, राजेन्द्र महतोले उपेन्द्र यादवलाई कारवाही गर्न सक्नु हुन्न, बरु महन्थ ठाकुर र राजेन्द्र महतोलाई कारवाही गर्नुपर्छ भन्ने हाम्रो माग हो ।’

नेतृ यादवका अनुसार वैशाख २६ गते बसेको पदाधिकारी बैठकले पार्टी तटस्थ बस्ने निर्णय गरेको थिएन । प्रधानमन्त्री केपी शर्मा ओलीको विश्वास मतमा मतदान नगर्ने निर्णय गरेको थियो । यद्यपि सांसदले आफ्नो विवेक प्रयोग गर्न सक्ने निर्णय भएको थियो । तर, जसपाका अध्यक्ष ठाकुरले प्रतिनिधिसभाको बैठकमा जसपा नेपालले तटस्थ बस्ने निर्णय गरेको सुनाएका थिए । अध्यक्ष ठाकुरले पार्टीको निर्णय विपरीत बोलेका कारण उनलाई कारवाही हुनुपर्ने रेणुले बताइन् ।

​‘जसपाले सरकारसँग वार्ता गर्ने निर्णय गरेको थियो, तर महन्थ ठाकुरले पार्टीलाई कुनै जानकारी नै नदिइकन आफ्नो पक्षका मान्छे राखेर कार्यदल गठन गरी सरकारसँग वार्ता गर्न थाले,’ यादवले भनिन्, ‘कार्यदलले प्रधानमन्त्री ओलीसँग के–के कुरा ग¥यो, महन्थ ठाकुर र राजेन्द्र महतो दिनदिनै बालुवाटार गएर प्रधानमन्त्रीसँग कुरा गर्नुभयो, त्यो पनि पार्टीको निर्णय थिएन, उहाँहरुलाई कारवाही हुन्छ कि हुँदैन ?’

पार्टी कार्यकारिणी समितिको बैठक बोलाउन भन्दा कोरोना तथा अन्य कारण देखाउँदै बैठक बसाउन चाहेनन् तर पूर्वराजपा नेपालको संसदीय दलको बैठक पटक–पटक बसाएर पार्टीको हित विपरीत काम गरेको कारण उनीहरुलाई कारवाही गर्नुपर्ने उनले बताइन् । सरकार गठनको प्रकृया कार्यकारिणी समितिको बैठकको बहुमत सदस्यीको निर्णयबाट गरेको उनले दाबी गरिन् ।

 यादवको दाबीअनुसार उपेन्द्र यादव पार्टीका अध्यक्ष हुन् भने डा.बाबुराम भट्टराई संघीय परिषद्का अध्यक्ष हुन् । कार्यकारिणी समितिमा बहुमत छ । पदाधिकारीमा बहुमत छ, संसदीय दलमा बहुमत छ । ठाकुर र महतोले बैठक बसाउन चाहेनन् भने बहुमतको निर्णयबाट अगाडि बढ्न सकिन्छ । यादवले भनिन्, ‘तर हामीले त्यस्तो गर्न चाहदैनौं । हामी चाहन्छौं कि कुनै पनि निर्णय सर्वसम्मतिबाट होस्, पार्टीको बैठक नियमित बसोस् । सर्वसम्मतिले भएन भने लोकतान्त्रिक प्रकृयाबाट अगाडि बढोस् । तर, बाहिरै बाहिरै नेतालाई कारवाही गर्नेजस्ता काम नहोस् ।’

जसपाका केन्द्रीय सदस्य विश्वदीप पाण्डेले पार्टीभित्र अनेकौँ अन्तरविरोधका कारण पार्टीको बैठक बसेर एक मत बनाउनुपर्ने बताए । पार्टीभित्र सबैको भावना र विचारलाई सम्मान गर्दै कुनै बीचको बाटो अपनाउन आफूहरुले प्रयास गरिरहेको उनले बताए । अहिले पार्टीलाई एक ढिक्का बनाउने प्रयासमा सबै लाग्नुपर्ने उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप