मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

व्यवसायीको गोदाम र खरिद बिलमा प्रशासनको आँखा नै पर्दैन

मङ्गलबार, २८ वैशाख २०७८, १३ : ११
मङ्गलबार, २८ वैशाख २०७८

मकवानपुर । अनुमति विपरित व्यवसाय सञ्चालन गर्ने दुईवटा पसललाई जिल्ला प्रशासन कार्यालय मकवानपुरले सिल गरेको छ । प्रशासनले एक साता यता अनुमति विपरीत सञ्चालन भएको एउटा औषधि पसल र खाद्यान्न पसललाई सिल गरेको हो । सोही अवधिमा मापदण्ड पूरा नगरी व्यवसाय सञ्चालन गर्ने तीनवटा पसललाई जरिवाना समेत गरिएको छ । 

४२ वटा पसलको अनुगमन गर्दा मापदण्ड पूरा नगरेका, महामारीको समयमा पनि मूल्यवृद्धि गर्नेलगायतका त्रुटि गरेको भन्दै ३ वटा पसललाई कूल ७० हजार रुपैयाँ जरिवाना गरिएको जिल्ला प्रशासन कार्यालय मकवानपुरका सूचना अधिकारी देवचन्द्र गर्तौलाले जानकारी दिए । 

अनुगमन टोलीले ती पसलबाट म्याद गुज्रिएका चिल्ली पाउडर, बिस्कुट, कुकिज, चटपटे मसला, भटमासजस्ता खाद्यवस्तु तथा ९० बोतल पेय पदार्थ जफत गरी नष्ट गरिएको उनले बताए ।  अनुगमनका क्रममा पसलहरूमा मुल्य सूची नराख्ने, खरिद तथा बिक्री बिलको कारोबार नगर्ने, जटिल परिस्थितिमा तोकिएको स्वास्थ्य सम्बन्धी मापदण्डहरु पालना नगर्ने १० वटा पसलका सञ्चालकलाई चेतावनी दिएर सुधार गर्न निर्देशन दिइएको छ ।

त्यस्तै निषेधाज्ञा उल्लंघन गरी व्यवसाय सञ्चालन गर्ने ८ जना व्यवसायीलाई नियन्त्रणमा लिई एक सय रुपैयाँ जरिवाना गराइएको र चेतावनी दिएर छाडिएको जनाइएको छ । कोरोना माहामारीको दोस्रो लहर सुरु भएपछि प्रशासनले अनुगमनलाई तीव्र बनाएको र संक्रमणकालीन अवस्थामा नागरिकको सहायताका लागि प्रशासन कार्यालयको नेतृत्वमा नियमित बजार अनुगमन भइरहेको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ । 

दैनिक उपभोग्य सामग्री लगायत अन्य कुनै पनि वस्तु बढी मूल्यमा विक्री वितरण गर्ने व्यवसायीहरुलाई कारवाहीको दायरामा ल्याइने स्थानीय प्रशासनको चेतावनी छ ।

खाद्यान्नमा अस्वाभाविक मूल्यवृद्धि, प्रशासन मौन
मकवानपुरमा दैनिक उपभोग्य वस्तुको मूल्यमा अस्वाभाविक रुपमा वृद्धि भइरहेको छ ।  जिल्ला प्रशासन कार्यालय मकवानपुरले कोरोना संक्रमण नियन्त्रणका लागि निषेधाज्ञा लगाएलगत्तै चामल, दाल, तेल जस्ता खाद्यान्नको मूल्य दैनिक रुपमा बढिरहेको उपभोक्ताहरुको गुनासो छ । 

निषेधाज्ञाको अवधिमा मात्र खाद्यान्न सामग्रीमा २० देखि ४० प्रतिशतसम्म वृद्धि भएको छ । हेटौंडामा यस अघि १ हजार ८ सय रुपैयाँमा विक्री हुँदै आएको खाने तेलको मुल्यमा ३३.३३ प्रतिशतसम्म वृद्धि भई २ हजार ४ सय रुपैयाँमा विक्री भइरहेको छ भने चामलमा प्रतिबोरा २ सय रुपैयाँसम्म वृद्धि भएको छ ।

करिब तीन महिनाको लागि पुग्ने गरी खाद्यान्न सामग्री मौज्दात राखेर व्यवसायीहरुले अस्वाभाविक रुपमा मूल्यवृद्धि गर्दासमेत प्रशासनको नजर त्यता पर्न सकेको छैन ।  अन्य जिल्लाबाट आयात हुने खाद्यान्न सामग्री ढुवानीमा कुनै अवरोध नभएको प्रशासन आफै स्वीकार गर्छ । तर, खाद्यान्न सामग्रीको मूल्यवृद्धिबारे प्रशासन बेखबरजस्तै देखिन्छ । 

प्रशासनको आँखा पुग्दैन गोदाममा 

मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माको संयोजकत्वमा मकवानपुरमा बजार अनुगमन समिति बनाइएको छ । सो समितिले दैनिक रुपमा बजार अनुगमन गर्दै आएको छ ।  अनुगमन टोलीले बजारका थोक तथा खुद्रा विक्रेताको पसल–पसलमा पुगेर अनुगमन गर्ने गरे पनि व्यवसायीको गोदामसम्म उनीहरुको आँखा पुग्ने गरेको देखिँदैन । अनुगमन टोलीलाई व्यवसायीले आफ्ना स–साना पसल देखाएर टार्ने गरेका छन्, तर ती व्यवसायीहरुको गोदामको विषयमा अनुगमन समितिलाई सूचनासमेत हुँदैन ।

अनुगमन समितिले खरिद तथा विक्री बिलसमेत नहेरी अनुगमन गरेको उपभोक्तावादीहरु बताउँछन् । व्यवसायीको खरिद बिल नहेरी अनुगमन गर्दा बजारमा खाद्यान्नको मुल्य स्थिर हुन नसकेको उनीहरुको गुनासो छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप