शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रदेश १ का अस्पताल अनुगमनमा संसदीय समिति

​‘तत्काल १५ सय बेडको अस्पताल सञ्चालन गर्न नसके धेरैले अकालमा ज्यान गुमाउने अवस्था आउँछ’
मङ्गलबार, २८ वैशाख २०७८, १२ : ३२
मङ्गलबार, २८ वैशाख २०७८

विराटनगर । विराटनगरका कोभिड विशेष अस्पतालका सञ्चालकहरुले तत्काल अस्पतालहरुमा बेड बिस्तारसँगै आवश्यक उपकरण र जनशक्ति व्यवस्थापन गर्न नसके धेरै संक्रमितले समयमै उपचार नपाएर अकालमा ज्यान गुमाउनुपर्ने अवस्था आउने बताएका छन् ।

उनीहरुले कोभिड अस्पतालका सबै बेड बिरामीले भरीभराउ भएकाले थप बिरामी भर्ना गर्न नसकिने अवस्था सिर्जना भएको भन्दै तत्काल संक्रमितको उपचारको प्रबन्ध मिलाउन आवश्यक तयारीमा जुट्नुपर्नेमा जोडसमेत दिएका छन् ।

पछिल्लो समय उपचारको अभावमा संक्रमितहरुले ज्यान गुमाउनु परेको जनगुनासो बढेपछि मंगलबार प्रदेश १ प्रदेशसभाको सामाजिक विकास समितिले विराटनगरमा रहेका कोभिड अस्पतालहरुको अनुगमन तथा निरीक्षण गरेको छ । सोही क्रममा अस्पताल सञ्चालकले संसदीय समितिलाई यस्तो सुझाव दिएका हुन् ।

कोशी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. चुमनलाल दासले कोभिड१९ उपचार केन्द्र दुरुस्त अवस्थामा रहेको बताउँदै पुरानो ब्लकलाई पनि सञ्चालन गर्नुपर्ने बताए ।

संक्रमित बिरामीहरुको चाप दिनानुदिन बढ्दै गईरहेकाले यो अस्पताल पनि प्याक हुने अवस्थामा पुगेको छ, मेसु दासले भने, ‘अस्पतालका सबै बेड बिरामीले भरिने अवस्थामा पुगेकाले थप संक्रमितको उपचारका लागि दक्षिणतर्फको ब्लकमा पनि आवश्यक जनशक्ति थपेर सय बेड सञ्चालन ल्याउने तयारी छ ।

कोरोना संक्रमितको सघन उपचारका लागि विराटनगरस्थित नोबेल मेडिकल कलेजले पनि १९७ बेडको कोभिड अस्पताल सञ्चालनमा ल्याएको छ । ६२ वटा आईसियु र ७१ वटा भेन्टिलेटर बेडसहित सञ्चालनमा आएको सो अस्पताल पनि बिरामीले भरिएको अनुगमन टोलीले जनाएको छ ।

नोबेलमा दैनिक ३० जनाभन्दा बढी गम्भीर प्रकृतिका संक्रमितहरु उपचारका लागि आउने गरे पनि बेड नपाएर फर्किने गरेको कलेजका निर्देशक डा. राजेश नेपालले संसदीय समितिलाई जानकारी गराए ।

प्रदेशमा १५ सय बेडको कोभिड अस्पताल सञ्चालनको आवश्यकता देखिएको उनले बताए । १५ सयको बेडको अस्पताल सञ्चालनमा आएको खण्डमा मात्र अहिले देखिएको संक्रमितको चापलाई अस्पतालले थेग्न सक्ने उनको भनाइ छ ।

निर्देशक नेपालका अनुसार प्रदेश १ मा तीन सरकारीसहित ६ कोभिड अस्पतालमा ७ सय २७ बेड क्षमता छ । तर, अब त्यसले थेग्नसक्ने अवस्था नरहेकोले ७५० बेड तत्काल थप गर्न पहल गर्नुपर्ने उनको सुझाव छ ।

कोरोना महामारीको रोकथाम तथा न्युुनीकरणमा तुलनात्मक रुपमा प्रदेश सरकारको भूमिका कमजोर देखिँदा हाल संक्रमणको जोखिम झनै बढेर गएको अस्पताल सञ्चालकहरुले बताएका छन् ।

सरकारको भूमिका शून्य देखिँदा प्रदेशमा एक अंकमा रहेको मृत्युदर दुई अंकमा पुगेको विराट मेडिकल कलेजका सञ्चालक डा. ज्ञानेन्द्रमान सिंह कार्कीले गुनासो गरे ।

डा. कार्कीले अस्पतालमा संक्रमितहरुको मृत्युदर ३ प्रतिशत रहेको जानकारी गराउँदै सरकारको रवैया यही रहने हो भने अबको हप्ता दिनभित्रै मृत्युदर झन् बढ्न सक्ने उनको भनाइ छ ।

सञ्चालक कार्कीले बुढीगंगा२ स्थित विराट मेडिकल कलेजमा २३० बेडको कोभिड अस्पताल सञ्चालन रहेकोमा गम्भीर प्रकृतिका बिरामीहरुको चाप दिनानुदिन बढ्दै गईरहेको अवस्थालाई दृष्टिगत गर्दै अस्पतालले मंगलबारबाटै ५० बेड थप गरेको बताए ।

सामाजिक विकास समितिका सदस्य तथा नेपाली काँग्रेस संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले अस्पतालहरुमा देखिएका समस्या र चुनौतीलाई मध्यनजर गर्दै प्रदेश सरकारलाई आवश्यक निर्देशन गरिने बताए ।

उनले प्रदेशमा थप कोरोना अस्पताल सञ्चालनमा ल्याउने तथा औषधिहरुको कालोबजारी नियन्त्रण गर्ने विषयमा पनि पहल गरिने जानकारी दिए ।

समितिकी सभापति सरिता थापासहित कृष्णकुमारी राई, सावित्राकुमारी रेग्मी, निरन राई, झलकबहादुर मगर र गणेशकुमार काम्बाङ्ग लगायतका सदस्यहरुले कोभिड अस्पतालको अनुगमन तथा निरीक्षण गरेका थिए ।

समितिले अनुगमनका क्रममा कोभिड अस्पतालहरुको अवस्था, समस्या तथा चुनौतीबारे अस्पताल सञ्चालकहरुसँग जानकारी समेत लिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप