शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

टीकापुर नगरपालिकामा एक महिनाभित्र १८ संक्रमितको मृत्यु

सोमबार, २७ वैशाख २०७८, २२ : ५८
सोमबार, २७ वैशाख २०७८

–दुर्गा देवकोटा
टिकापुर । कोरोना सङ्क्रमणको दोस्रो भेरियन्टसँग समुदायस्तरमा फैलिएपछि ज्यान गुमाउनेको सङ्ख्या समेत बढेको छ । टीकापुर नगरपालिकामा मात्रै यही वैशाख महिनामा सङ्क्रमणबाट  १८ को मृत्यु भएको छ । नगर जनस्वास्थ्य प्रवद्र्धन उपशाखा संयोजक बलबहादुर रावलका अनुसार दुई दिनमा मात्र सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या नौ जना पुगेको छ । 

जानकी गाउँपालिकामा पनि  सङ्क्रमणबाट चार जनाको मृत्यु भएको छ  । पछिल्लो २४ घण्टामा टीकापुर अस्पतालमा उपचाररत आठ जनाको मृत्यु भएको छ । सोमबार दिउँसो जोशीपुर गाउँपालिका वडा नं १ का ५० वर्षका पुरुष र वडा नं ५ का ६० वर्षका पुरुष, टीकापुर नगरपालिका वडा नं १ की ४५ र ५१ वर्षीया दुई र वडा नं ७ का ६० वर्षीया महिला र सोही वडाका ६७ वर्षका पुरुष, बर्दगोरिया गाउँपालिका वडा नं ४ का ४५ वर्षका पुरुष, जानकी गाउँपालिका वडा नं १ का ५८ वर्षका  पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ  । टीकापुर अस्पतालमा आइतबार मात्रै छ जनाको ज्यान गएको थियो । टीकापुर अस्पतालमा मात्र दुई दिनमा मृतकको संख्या १४ पुगेको छ । टीकापुर अस्पतालमा उपचारमा आएका १६ जनाले  सङ्क्रमणका कारण ज्यान गुमाएका अस्पतालले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

टीकापुर अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डाक्टर रेमकुमार राईका अनुसार मृतक सबैमा श्वासप्रश्वास र फोक्सोमा समस्या देखिएको र अक्सिजनको मात्रा पनि कम हुँदै गएको थियो । सो अस्पतालमा सोमबार ४१ जना उपचाररत छन् । यी सबैलाई अक्सिजनमा राखिएको छ । अस्पतालको कोभिड एचडीयु वार्डमा १४  र शंकास्पद २७  भर्ना भएका र आवश्यक मात्रामा अक्सिजन नपुगेको अस्पतालका व्यवस्थापक टेकराज भट्टले जानकारी दिए ।

‘‘टीकापुर अस्पतालसँग जम्मा १२४ अक्सीजन सिलिन्डर छन्, यी अस्पतालमा आउने सबै विरामीका लागि प्रयोग हुन्छन्’’, उनले भने, ‘‘अहिले सबैभन्दा अक्सिजन नपाएर बिरामीको ज्यान जाने जोखिम बढेको छ । बेड नभएर बिरामीहरु बरन्डा, ग्यालरीमा राखेर उपचार भइरहेको छ ।’’

यस्तै सेती प्रादेशिक अस्पताल धनगढीमा पनि सोमबार चार  जनाको मृत्यु भएको छ । बर्दगोरिया गाउपालिका वडा नं ४ का ५२ वर्षका पुरुष, धनगढी उपमहानगरपालिका वडा नं ३ का ८७ वर्षका महिला, वडा नं १८ का ४२ वर्षका पुरुष र घोडाघोडी नगरपालिका वडा नं १० का ३७ वर्षका पुरुषको मृत्यु भएको छ  सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए । प्रादेशिक अस्पतालमा ५८ सक्रमित र ३० जना संकास्पद बिरामीको उपचार भैरहेको उनले बताए । 

अक्सिजन प्लान्ट स्थापनाका लागि स्थानीय पालिकाको सहयोग

टीकापुर अस्पतालमा अक्सिजन प्लान्ट स्थापनाका लागि यहाँका दुई पालिकाले बजेट विनियोजन गरेका छन् । अक्सिजन नपाएर बिरामी मर्न थालेपछि टीकापुर नगरपालिकाले रु २० लाख र जानकी गाउँपालिकाले रु १५ लाख विनियोजन गरेका छन् । अस्पताल परिसरमा अक्सिजन प्लान्ट स्थापनाका सामाजिक विकास मन्त्रालय सुदूरपश्चिमले  रु ८० लाख विनियोजन गरेको छ । 

प्लान्ट स्थापना गर्न इ–टेण्डर भइसकेको छ । अस्पतालले अक्सिजन प्लान्टका लागि टेण्डर भइसकेकाले फिलर कम्प्रेसर उपलब्ध गराइ सहयोग गरिदिन दातालाई गुहारेको थियो । स्थानीय पालिकाले मात्र होइन अक्सिजन जोहोका लागि नागरिक स्तरबाट समेत रकम संकलन शुरु भएको अस्पताल विकास समितिका अध्यक्ष दीपबहादुर रावलले बताए । ‘‘टीकापुर सरोकार समूहले पहल थालेको छ ।

देश विदेशमा रहेका नेपालीले लाखौँ रकम सहयोग गरिरहनु भएको छ’’, उनले भने, ‘‘अस्पताललाई दाताले दिएका ७ वटा भेन्टिलेटर सेट छ । जडान गरिसकेको अवस्था छ । आइसियु सेवा सञ्चालनका लागि लामो समयदेखि एनेस्थेसिया डाक्टर माग गरे पनि पाएका छैनौँ । डाक्टर भएको भए नागरिक बचाउन सकिन्थ्यो ।’’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप