ब्रोइलर कुखुराको मासुको मूल्य नघटाउन दबाब

person access_timeअसोज २९, २०७४ chat_bubble_outline0

खोटाङ ।  खोटाङ सदरमुकाम दिक्तेल बजारमा ब्रोइलर कुखुराको मासुको मूल्य नघटाउन दबाब दिएको भेटिएको छ । दिक्तेलमा हालै सञ्चालनमा आएको ‘रत्नपार्क फ्रेस मासु पसल’ले प्रतिकेजी ३ सय ७० रुपैंयाँमा मासु बिक्री गर्न थालेपछि अन्य मासु ब्यवसायीले तत्काल रोक्न दबाब दिएका हुन् । 

बजारका अन्य व्यापारीले प्रतिकेजी ४ सय ४० रुपैंयाँमा कुखुराको मासु बिक्री गर्दै आएको अवस्थामा उक्त पसलले गत असोज २२ गतेबाट प्रतिकेजी ७० रुपैंयाँ घटाएर बिक्री गर्न थालेपछि अन्य ब्यवसायीले विज्ञप्ती निकालेर बिरोध सुरु गरेका हुन् । एउटा पसलको बिरोधमा उत्रिएका खोटाङ पोल्ट्री व्यवसायी सङ्घमा आवद्ध व्यापारीहरु तत्काल उक्त पसल बन्द गराइदिन प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीलाई समेत गुहार्न पुगेको पाइएको छ । 

जिल्लाका अन्य व्यापारीले ग्राहकबाट अत्याधिक मूल्य लिएर व्यवसाय गरेकाले भाउ घटाउन आफुले कम मूल्यमा मासु बिक्री गर्न सुरु गरेको ‘रत्नपार्क फ्रेस मासु पसल’का सञ्चालक राजेन्द्रकुमार श्रेष्ठ (भाने)ले बताए । उनका अनुसार अहिलेको अवस्थामा प्रतिकेजी रु ३ सय ७० मा मासु बिक्री गर्दा पनि ५० रुपैंयाँ फाइदा हुने गरेको छ ।

जिल्लामा स्वस्च्छ प्रतिस्पर्धामा व्यापार÷व्यवसाय गर्न पाउने अधिकार सबैको रहेको उद्योग वाणिज्य सङ्घ खोटाङका अध्यक्ष राजेन्द्र लयालुले जनाए । सामान्यतः गुणस्तर र परिणाममा फरक पर्ने भए पनि एउटै गुणस्तर र परिणामको व्यवसाय गर्दा मूल्य फरक पर्नु नहुने श्रेष्ठको धारणा छ । 

बढी मूल्य लिएर बिक्री गर्दा पनि जिल्लामा प्रतिदिन नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले खपत गर्ने बाहेक सरदर ५ सय केजी बढी ब्रोइलर कुखुराको मासु बिक्री हुने गरेको छ । बाक्लो किरात वस्ती रहेको जिल्लामा खसीको प्रतिकेजी ६ सय, राँगाको ३ सय र सुँगुरको २ सय ५० रुपैंयाँमा प्रति केजी मासु बिक्री हुने गरेको छ । 


 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ