मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

यसकारण एनआरएनए सचिवमा मेरो उम्मेदवारी

आइतबार, २९ असोज २०७४, ११ : ०४
आइतबार, २९ असोज २०७४

काठमाडौंमा सुरु गैरआवासीय नेपाली संघ (एनआरएनए) को आठौं विश्व सम्मेलनमा महेन्द्रकुमार लम्सालले सचिवको उम्मेदवारी घोषणा गरेका छन् । अस्टे«लियामा विभिन्न व्यवसाय सञ्चालन गर्दै आएका लम्सालले सचिवमा उम्मेदवारी घोषणा गर्नुपछि अर्थपूर्ण तर्क छ । 

‘सन् २००५ मा एनआरएनए स्थापना भयो । अस्ट्रेलियामा स्थापित एनआरएनएको २००७ देखि विभिन्न भूमिका रहेर काम गरेको अनुभव सँगालेको छु,’ उनले तर्क पेस गरे, ‘मातृभूमिको समृद्धिका लागि ती भूमिकाले अर्थपूर्ण भूमिका खेल्न सक्छ भनेर उम्मेदवारी घोषणा गरेको हुँ ।’ 

‘मुद्दा ?,’ उनले भने, ‘विशेषतः सामूहिक लगानीलाई प्राथमिकता दिनेछु । त्यसपछि ज्ञान सीपका कुरा त छँदै छन् । मुलुकबाहिर रहेर गैरआवासीय नेपालीले सिकेका ज्ञान तथा सीप हासिल गरेका छन् । उनीहरू आर्थिक रूपमा पनि समृद्ध छन् । सामूहिक र संस्थागत लगानी गर्दै आफूले सिकेको ज्ञान, सीप नेपालीलाई बाँड्दा नेपालको मुहार फेरिन्छ ।’ 

शिक्षा, पर्यटन र हाइड्रोपावरमा लगानी गर्दै आएको एनआरएनएको सचिवालय भवन काठमाडौंमा बन्दै रहेको छ । सचिवालय भवन निर्माणसँगै संस्थागत र संरचनात्मक सुधार गर्दै काठमाडौंको सचिवालय बलियो बनाउने लक्ष्य छ । त्यतिमात्रै होइन, आठौं विश्व सम्मेलनबाट निर्वाचितले दोस्रो पुस्ताका गैरआवासीय नेपाली जो विदेशमा जन्मेका छन्, त्यहीं हुर्केकालाई नेपालप्रति मोह बढाउन प्रभावकारी कार्यक्रम ल्याइनुपर्ने उनको भनाइ छ । 

कसरी सम्भव छ ? ‘सम्भव छ नि,’ स्याङ्जा ज्याग्दीखोलानिवासी उनले उदाहरण पेस गरे, ‘सोच बन्नु भनेको आधा काम पूरा हुनु हो । त्यसका लागि कार्यदल बन्नेछन् । आवर वुमन, आवर युथ, आवर नेक्स्ट जेनेरेसनलाई दृष्टिगत गर्दै क्षेत्र क्षेत्रबाट सोध, खोज गरेर राष्ट्रनिर्माणसँग जोड्न सकिन्छ ।’

एनआरएनए स्थापना भएको १४ वर्ष पूरा भएको छ । यस अवधिमा उसको आकारमात्रै होइन, चुनौतीसमेत बढेको छ । एनआरएनए अभियान सुरु हुँदा विदेशमा झन्डै ५ लाख नेपाली थिए । अहिले ५० लाख पुगेका छन् । त्यस अर्थनमा ‘नेक्स्ट जेनेरेसन’ लाई नेपाल र नेपालीसँग जोड्नसमेत चुनौती हुन सक्छ । तर, असम्भव छैन । गैरआवासी नेपालीले विदेशमै जन्मेहुर्केका छोराछोरीलाई समयसमयमा नेपाल ल्याएर नेपाल र नेपालीप्रति मोह बढाउन सकिने उनको भनाइ छ । 

एनआरएनएले धेरै काम गर्न सक्लान् । तर, महेन्द्रकुमार लम्साल सचिवमा निर्वाचित भए प्राथमिकताका पाँच काम के–के होलान् ? ‘पुनःनिर्माणको सच्चा साझेदारी पहिलो प्राथमिकतामा पर्नेछ,’ अस्ट्रेलियाबाट प्रकाशित नेपाली टाइम्स मासिक प्रकाशकसमेत रहेका लम्सालले सुनाए, ‘संघको निर्माणाधीन सचिवालय भवन पूरा गर्नु छ । विदेशमा बस्ने नेपालीको वैदेशिक लगानीका सामूहिक प्रयास अपरिहार्य छ । रोजगारी सिर्जना पनि प्राथमिकतामै राखेको छु । त्यतिमात्रै होइन, खाडी र मलेसियाका एनआरएन घटाउनेछु ।’

जनशक्ति पलायन नेपालका लागि फलदायी होइन । यो रोक्न आवश्यक भए पनि तत्काल रोक्न सकिँदैन । तर, एनआरएनमात्र एउटा त्यस्तो संस्था हो, जसले विदेशमा रहेका समग्र नेपालीलाई एकत्रित गरी उनीहरूमा विद्यमान स्रोत, साधन, शक्ति गरी एकत्रित र व्यवस्थान गरी नेपाल र नेपालीको विकासमा परिचालन गर्ने सामथ्र्य राख्छ । तर, खाडी र मलेसियाका एनआरएन कि घटाउनुपर्छ कि त हटाउनुपर्छ । उनले प्रस्ट पारे, ‘२० हजार रुपैयाँमा खाडीमा पसिना बगाइरहेका नेपालीलाई स्वदेशमै रोजगारी सिर्जना गर्नुपर्छ । त्यसो गर्न प्रयत्नरत रहनेछु ।’

एनआरएनए सचिवका उम्मेदवार महेन्द्रकुमार लम्सालको नौ प्रतिबद्धता

(१) एनआरएनए सातौं विश्व सम्मेलनको नारा ‘पुनःनिर्माणको सच्चा साझेदार’ अनुसार गोरखाको लाप्राकमा निमार्णाधीन एकीकृत नमुना बस्ती (५७३ घर) छिटोभन्दा छिटो निर्माण सम्पन्न गरी बाँकी बस्ती निर्माणका लागि समेत आवश्यक पहल गरिनेछ ।

(२) निर्माणाधीन सचिवालय भवन सम्पन्न गर्न आवश्यक स्रोत, साधन जुटाउन एनआरएनए एनसीसी सबै सञ्जाल प्रभावकारी ढंगले परिचालन र प्रोत्साहन गरिनेछ ।

(३) एनआरएनए विस्तारसँगै यो अभियानलाई दिगो रूपमा संगठित र संस्था सबल बनाउन प्रस्तावित ‘भिजन ट्वेन्टी ट्वेन्टी एन्ड बियोन्ड’ परिस्कृत गर्दै कार्यान्यनका लागि सक्दो पहल गरिनेछ ।

(४) खाडी मुलुकमा जाने नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई पर्ने दुःख पीडामा सहयोग गर्न वैदेशिक रोजगार सहायता कोष थप प्रभावकारी बनाइनेछ ।

(५) रेमिट्यान्स भित्र्याउने नाममा देशको जनशक्ति निर्यात गरेर नेपालको विकास कल्पना गर्न सकिँदैन । तसर्थ, एनआरएनएले नेपाल सरकारसँग सहकार्य गर्दै सामूहिक लगानीमार्फत कम्तीमा खाडी मुलुक र मलेसियामा कष्टकर जीवन बिताइरहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्न पहल गरिनेछ ।

(६) साझा एनआरएनएको मर्मअनुसार धेरैभन्दा धेरै एनआरएनलाई संस्थामा प्रवेश गर्न सहज वातावरण बनाइनेछ । जसले एनआरएनए सीमित र सम्पन्न व्यक्तिमात्रको नभई समग्र एनआरएनले अपनत्व महसुस गर्न सकून् ।

(७) एनआरएनए विधानमा गठित विभिन्न समिति तथा उपसमितिलाई समयसापेक्ष रूपमा सक्रिय र बलियो बनाइने । सो समिति तथा उपसमितिका पदाधिकारीलाई पद ग्रहणभन्दा पदीय जिम्मेवारी वहन गराउन विशिष्ट रूपमा उनीहरूको काम, कर्तव्य र अधिकार व्यवस्थासहितको नियमावली तयार गर्न पहलकदमी गरिनेछ ।

(८) २०१५ मे २८ मा न्युजिल्यान्डको क्राइस्ट चर्चमा सपन्न दोस्रो ओसेनिया क्षेत्रीय बैठकद्वारा पारित नौबुँदे प्रतिबद्धता अनुगमन गर्दै बाँकी कार्य यथाशीघ्र सम्पन्न गरिनेछ ।

(९) हालसम्म विश्वको ७६ देशमा विस्तार एनआरएनका राष्ट्रिय समन्वय समिति विस्तार गरी नेपाली समुदाय बसोबास गर्ने विश्वका सबै राष्ट्रमा पुर्याउन पहलकदमी गरिनेछ ।

उल्लिखित नौ प्रतिबद्धता पूरा गर्न चुनौती पनि त होलान् ? पंक्तिकारको प्रश्नको जवाफ दिँदै अस्ट्रेलिया सरकारअन्तर्गत बहुसांस्कृतिक मामिलासम्बन्धी मन्त्रिस्तरीय सुझाव समिति सदस्यको भूमिका निर्वाह गरिसकेका उनले स्वीकारे, ‘सचिवाल बलियो, विकेन्द्रित कार्यविभाजन, सदस्य विस्तार र संघसम्बद्धको साथ सहयोग पाएमा मैले गरेको अधिकांश प्रतिबद्धता पूरा गर्न समय लाग्दैन ।’ 

आलोचकले एनआरएनएलाई धनीको क्लब भन्ने गरेका छन् । एनआरएनएलाई गरिने आलोचनाबाट लम्साल जोगाउन लागि परेका छन् । जोगाउने प्रयासरत छन् । ‘थोरैबाट धेरैभन्दा धेरैबाट थोरैथोरै रुपैयाँ संकलन गरेर संस्था बलशाली बनाउन सकिन्छ,’ सन् १९९६ मा अध्ययनका लागि अस्ट्रेलिया पुगेका उनको बुझाइ छ, ‘५० लाख नेपालीबाट १०÷१० डलर संकलन गरियो भने संस्था चलाउन सकिन्छ । तर, थोरैबाट धेरै रुपैयाँ संकलन गरेर चलाउन खोजियो भने संस्था कमजोर बन्दै जान्छ ।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दीपेन्द्र राई
दीपेन्द्र राई

दीपेन्द्र राई रातोपाटीका लागि फिचर स्टोरी लेख्छन् । 

लेखकबाट थप