शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

चिया बगानले पर्यटकलाई आकर्षित गर्दै

आइतबार, २९ असोज २०७४, १० : २३
आइतबार, २९ असोज २०७४

घलेगाउँ -पश्चिमाञ्चलमा नै पहिलोपटक शुरु गरिएको लमजुङको चियाखेतीले पर्यटकलाई समेत आकर्षण गर्न थालेको छ । 

क्लोलासोँथर गाउँपालिकाको घलेगाउँ, भुजुङ, पसगाउँ, भोजे, घनपोखरा क्षेत्रमा लगाइएको चियाबारीले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गरेको हो । पछिल्लो समय चियाबारी हेर्नकै लागि आन्तरिक तथा बाह्य पर्यटक आउने गरेको भुजुङ की चिया कृषक मीनकुमारी गुरुङ बताउनुहुन्छ । 

“देश विदेशबाट चिया बगान हेर्न मान्छे आउँछन्”, गुरुङले भन्नुभयो, “हामीलाई त राम्रो लागेको छ ।” 

हिमालकै काखमुनी रहेर चियाबारीमा रमाउन सार्क राष्ट्रकै नमूना ग्रामीण पर्यटकीय घलेगाउँ र ग्रामीण पर्यटकीय गाउँ भुजुङ पर्यटकको प्रमुख गन्तव्यस्थल बनेको छ । 

प्राकृतिक सुन्दरतासँगै चिया बगानलाई पनि मुख्य आकर्षक सम्पदाका रुपमा लिएको क्वहोलासोथार गाउँपालिकाका अध्यक्ष प्रेम घलेले बताउनुभयो । 

“प्रकृति, संस्कृति हेर्न पर्यटक आउँथे, अहिले चियाबारी हेर्न पनि आउन थालेका छन्”, घलेले भन्नुभयो, “अहिले चिया बगान पनि पर्यटकका लागि मुख्य आकर्षक बनेको छ ।” 

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण क्षेत्र आयोजना ९एक्याप० भुजुङको पहलमा २०५५ सालदेखि चियाखेती शुरुवात गरिएको हो । एक्याप क्षेत्रभित्र भुजुङमा २५० रोपनी, पसागाउँमा १०० र घलेगाउँमा ७० गरी एक्यापको अगुवाइमा हालसम्म ४२० रोपनी क्षेत्रफलमा चियाखेती गरिँदै आएको छ । 

उत्कृष्ट चिया उत्पादन गर्ने पूर्वी नेपालको सिको गर्दै लमजुङमा चियाखेती शुरुवात गरिएको हो । घलेगाउँमा चियाखेती विस्तारका लागि जिल्ला भू–संरक्षण कार्यालयले समेत सहयोग गरेको छ । 

प्रशस्त उत्पादन भएर पनि राम्रो प्रशोधन हुन नसक्दा लमजुङको चिया बजारसम्म आउन सकेको छैन । यहाँ उत्पादित चिया गाउँमा आएका पर्यटकका लागि र गाउँ बाहिर रहेका आफन्तजनलाई कोसेलीका रुपमा पठाउने गरेको स्थानीयवासी बताउँछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप