शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बार्सिलोना रोकिएपछि रियलले दुरी घटायो

आइतबार, २९ असोज २०७४, १० : १२
आइतबार, २९ असोज २०७४

म्याड्रिड । लुइस सुवारेजको ८२ औँ मिनेटमा गरेको मद्दतले एथ्लेटिको म्याड्रिडलाई बराबरीमा रोक्दै बार्सिलोनाले ला लिगामा आफ्नो अपराजित यात्रा कायम राखेको छ ।

शनिबार राती एथ्लेटिकाको घरेलु मैदानमा भएको खेल १–१ को बराबरीमा रोकिएको हो ।

खेलमा एथ्लेटिकोले २१ औँ मिनेटमा साउल निगुएजको गोलको मद्दतले अग्रता लिएको थियो ।

सर्जी रोबर्टोको पासमा सुवारेजले बराबरी गोल गर्नअघि लियोनेल मेस्सीको फ्रिकिक पोष्टमा लागेको थियो ।

क्याटालानको स्वतन्त्रताबारे जनमत संग्रहपछि राजधानी म्याड्रिडमा बार्सिलोनाको पहिलो खेल थियो । स्टेडियमा एथ्लेटिकोका फ्यानले स्पेनका झण्डा फहराएका थिए भने जेरार्ड पिकको विरोध गरेका थिए ।

बार्सिलोना बराबरीमा रोकिएपछि यसको फाइदा रियललाई भएको छ ।

यसअघि गेटाफेलाई २–१ गोलअन्तरले हराएको रियलले बार्सिलोनासँगको दुरी ५ अंकमा झारेको छ ।

तर, गेटाफेविरुद्ध रियलले पनि संघर्ष गर्नपर्यो ।

क्रिस्टियानो रोनाल्डोले खेलको ८५ औँ मिनेटमा गोल गर्दै रियललाई महत्वपूर्ण अंक दिलाए ।

घाइते गेराथ बेल बिना नै मैदानमा उत्रेको रियलका लागि खेलको पहिलो हाफमा करिम बेन्जेमाले अग्रता दिलाए पनि जर्ज मोलिनाले खेलको दोस्रो हाफको सुरुवातसँगै खेल बराबरी गरेका थिए ।

ला लिगामा सिजनको पहिलो गोल गर्नअघि रोनाल्डोले दुई यार्ड टाढाबाट गोलको अवसरबाट चुकेका थिए ।

सबै प्रतियोगितामा रियलको यो लगातार चौँथो जीत हो ।

जितसँगै रियल बार्सिलोनापछि ला लिगामा दोस्रो स्थानमा उक्लेको छ । एथ्लेटिको तेस्रो स्थानमा रहेको छ ।

एथ्लेटिक बिल्बाओसँग पराजित भएपछि सेभिया लिगको चौँथो स्थानमा खस्किएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप