बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

छि ! जिन्दगी सहरको

शनिबार, २५ वैशाख २०७८, १५ : ४८
शनिबार, २५ वैशाख २०७८

 

रानी पोखरीबाट उठेको चक्रवातले
झ्वाँक फेर्दा पोखरीका मछा जङ्गल पसे
घन्टाघरको घडीले चर्को गर्मीमा
दिनदहाडै नाङ्लो ठटाउँदा जङ्गलका हात्तीहरू
उकुसमुकुस हुँदै 
कोही हिमाल चढे, कोही तराई झरे
रत्नपार्कमा अतृप्ति तापिरहेकाहरू
मोलतोलमा बैँस कुरिरहेछन्
निर्लज्ज काउकुतीले लाजै पचाएर
टाई सुम्सुम्याउँदै जोखिरहेकै छ आफ्नै गोजी
उत्तेजनाको मोल भर्ने रहर रेटेर
बालबच्चाको पेटकाटेर उचालिरहेछ अभिलाषा
घोडी कुरिरहेको मत्त घोडाझैँ
मानौँ नदीमा मिसिने हतारको गडगडाउँदो खहरे 
चुर्लुम्म हामफाल्ने हतारोमा !
            
छिर्लिङ छिर्लिङ चुरी बझे झङ्कार जोडले 
घण्टाघरको घण्ट तोडिने रागरौसमा 
सहर कुहिरहेछ, सिनो सुगन्धित ? छि !
मान्छे मस्तीमा फोहोर चुमिरहेको छ 
सुवास गनाउँछ आजकाल अनिकाल छ
इमान अनि सद्भावको अगुल्टो निभिसको
अँगेनो पोलिँदैछ मानवताको कङ्कालले
पुसको ठिही सेकिरहेछ रत्नपार्क जडोको ओखती
असरल्ल सिलवरका थालहरू
भोको पेट बाँचिरहेछन् विचराहरू आर्तनाद चेपेर
                
यता नयाँ सडक नि लाज पचाएर भूगोल पार्क
च्यापेर आधुनिकताको धूनी नगरवधू उफार्दै
ओल्लो छेउ, पल्लो छेउ छटपटिइरहेछ 
झोँछेको झङ्कृत कफी हाउस धिपधिपे बत्तीमा
मनको कामुकता ओठम सिउरिएर बसेका 
निर्लज्ज आधुनिक  रति–कामदेवहरू
तारे होटल मनमा सुम्सुम्याउँदै नजरहरू
लम्किरहेका छन् फटाफट सन्तुष्टि पखाल्न
डर छैन रत्ती पनि लाज घिन पचेपछि !
               
कलेँटी परेका ओठ पार्लरका कुचिकारले
कलाकारिता खन्याइदिँदा रातका रातानीला बत्तीहरू
आफै उत्तर्सिन्छन् नृत्यङ्गनाको नाइँटो देखेर बरा !
उत्ताउला बियरका सिसीपोकेहरू
नोट उडाइरहेछन् नितम्बकै झरना छचल्काउँदै मातमा
आशमा तृप्ति साँचेर दिलमा पहिरो लडाउँदै
उत्ताउलिँदै स्खलित जँड्याहा हाकिमहरू
टाई मुसार्दै गलपासो सकिनसकी थुक निलिरहेछन्
घडीले रातको तीन ठोकिरहँदा दिव्य साँझ सम्झेर !
         
तल्र्याङ तुर्लुङ झुन्ड्याइएका कोठे कठपुतलीहरू
फोहोरीहरूको तमासा देखेर मस्त मुस्कुराइरहेछन्
रातको चौथो प्रहर मडारिइरहँदा 
घरका लालाबाला अनि ख्सम र अर्धाङ्गिनीहरू
अर्धनिद्रामै खाटको चिसो छेउ छामिरहेछन्
आफ्ना बाआमाहरूको न्यानो स्पर्श कुरेर !
आफूले आफैलाई धिक्कार्दै 
सहरको सम्भ्रान्तता पर्गेलेर, पश्चाताप बाँचिरहेछन्
छि ! जिन्दगी सहरको, कस्तो घिनलाग्दो रहरको ?

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप