मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

गाईजात्रा हेर्नुस् त ! प्रधानमन्त्रीले प्रदेशका मन्त्रीहरुको व्यापार गरेका छन् : चित्रबहादुर केसी

‘गण्डकी प्रकरणमा पार्टीले छानविन गरेर सत्यतथ्य जनतालाई बताउँछ’
बिहीबार, १६ वैशाख २०७८, १७ : १७
बिहीबार, १६ वैशाख २०७८


काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्री केपी शर्मा ओली स्वयं मन्त्रीहरुको व्यापार गरेर बसेका आरोप लगाएका छन् । गण्डकीमा भएको ‘सांसद बेपत्ता प्रकरण’ बारे रातोपाटीसँग कुरा गर्दै केसीले आफ्नो दलका सांसदहरु पार्टीको अनुशासनमा बस्दै आएको दाबी गरेका छन् ।

‘केन्द्र र प्रदेश सरकार कोरोनासँग लड्नुपर्ने बेलामा मन्त्रीको व्यापार गर्छन्, यस्तो गाईजात्रा हेर्नुस् त’ जनमोर्चाका अध्यक्ष केसीले रातोपाटीसँग कुरा गर्दै भने,‘स्वयं प्रधानमन्त्रीले प्रदेशका मन्त्रीहरुको व्यापार गरेका छन् ।’

केसीले अगाडि भने, ‘राष्ट्रिय जनमोर्चा २०५१ सालदेखि संसदमा फोहोरी खेल देख्दै आएको हो । तर, यस्तो फोहोरी खेलबाट हाम्रो पार्टी सुरक्षित नै देखिन्छ ।’

गण्डकीमा जनमोर्चामाथि लागेको दाग

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावमाथि बुधबार संसदमा मतदान गर्ने कार्यसूची थियो । प्रदेश सरकारको बहिर्गमन निश्चित भएका बेला अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने बताएको राष्ट्रिय जनमोर्चाका एक सांसद खिमविक्रम शाही एकाएक वेपत्ता भए ।

शाही वेपत्ता भएपछि प्रदेशमा ठूलो हल्लाखल्ला भयो । अनेक आशंकाबाजी भए । संसद बैठक नै अनिश्चितकालका लागि स्थगित गरियो । अनि शाहीको खोजीमा पार्टी सांसदहरु लागे ।

खोजी गर्दै जाँदा सांसद शाही पोखराकै एक अस्पतालमा आइसियुमा भर्ना भएको बुधबार साँझतिर पत्ता लाग्यो । तर, शाही भर्ना भएको अस्पताल प्रशासनले जनमोर्चाकै प्रतिनिधिलाई समेत शाहीसँग भेट गर्न दिएन । सांसद शाहीसँग भेट गर्न नदिएपछि अनेक थप आशंकाहरु पैदा भए ।

धेरै मानिस र राष्ट्रिय जनमोर्चाकै जिम्मेवार नेताहरुले सांसद शाहीलाई सत्तापक्षले गडबड गरेको प्रतिक्रिया दिए । अझ रोचक त के छ भने त्यसैबेला शाहीको कोरोना परीक्षणका दुई फरक–फरक रिपोर्टहरू सार्वजनिक भए, जसले आशंका गर्नेहरुलाई अरु बल पुग्यो ।

​फरक–फरक रिपोर्ट सार्वजनिक हुनु, बिरामी भएका भनिएका शाहीलाई कसैलाई भेट्न नदिनु जस्ता रहस्यमय गतिविधि भइरहेकै बेला सांसद शाहीले बिहीबार बिहान आफै राजमो गण्डकीका प्रदेशका इन्चार्जलाई फोन गरेर आफु अस्पतालमा भर्ना भएको जानकारी गराए ।

सांसद शाही कसरी पार्टीको सम्पर्कमा आए त ? के उनी बिरामी नै भएका हुन् या कुनै नाटक मञ्चन गरियो ? आम मानिसले शंका गरेजस्तो सांसद किनबेचमा राजमो पनि मुछिएको त होइन ? अब गण्डकी प्रकरणमा पार्टीले के गर्छ भनेर रातोपाटीले राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलाई सोधेको छ ।

प्रस्तुत छ, राजमो अध्यक्ष केसीसँग गरिएको छोटो कुराकानी :

बिहीबार प्रदेश संसदको मतदान गर्ने समयमा अचानक सम्पर्कविहीन भएका सांसद खिमविक्रम शाहीसँग तपाईको सम्पर्क भयो ?

मसँग त सम्पर्क भइसकेको छैन । तर, उहाँ पार्टी सम्पर्कमा आउनुभयो भन्ने मलाई खबर आयो । 

कहिले र कसरी आउनुभयो ?

आज बिहान उहाँ आफैले हाम्रो इन्चार्जलाई फोन गर्नुभएछ । मैले गर्दाचाँहि पहिला इन्गेज भयो । पछि पुनः गर्दा अफ भयो ।

इञ्चार्जलाई फोन गरेर के भन्नुभएछ उहाँले ?

म बिरामी भएको छु, अहिले अस्पतालमा छु भनेर भनेको कुरा मलाई त्यहाँको इञ्चार्जले जानकारी गराउनु भयो ।

हुन त उहाँ आफैंले बिरामी भएको भनेपछि विश्वास गर्नुपर्ने बाध्यता हुन्छ । तर, त्यो समयमा फरक–फरक रिपोर्ट सार्वजनिक हुनुले उहाँ बिरामी नै हुनुभएको हो वा अन्य केही गडबडी भएजस्तो तपाईलाई लाग्छ ?

उहाँ सम्पर्कमा नआएको भए थप शंका हुन्थ्यो । सम्पर्कमा आएर अस्पताल गएको हुँ भनेपछि अनर्थका रुपमा बुझ्न त सकिएन नि । म बिरामी भएर अस्पताल गएको हुँ भनेर आफ्नो इञ्चार्जलाई सम्पर्क गरेपछि त कसका मनमा के थियो भनेर बढ्ता कुरा गर्न पनि त भएन ।

जहाँसम्म कोरोना रिपोर्टको कुरा छ, मलाई पनि भैरहवामा चेक गर्दा नेगेटिभ आयो, काठमाडाैँमा गएर जाँच गर्दा पोजेटिभचाहिँ आएको हो । त्यस्तो नहोला त भन्न सकिँदैन । बरु त्यो अस्पतालले विरामीलाई भेट्न नदिने र अस्पताल नै घेरेर राख्नु नपर्ने थियो । त्यही विषयमा हाम्रा साथी शंकर बरालको सीडीओसँग भनाभन पनि भयो ।

गण्डकी प्रकरणमा बिहीबार जे भयो, त्यसले राम्रो सन्देश गएन भन्ने राजनीतिक वृत्तमा चर्चा छ, तपाईलाई त्यस्तो लागेको छैन ?

यो विषयमा दुई ढंगले हेर्नुपर्छ । एउटा उहाँ आफैंले बिरामी भएको, आफूलाई कोरोना लागेको भन्नुभएको छ । साथै पार्टीका निर्णयमा दाया–वायाँ गर्दिनँ पनि भन्नुभएको छ । त्यसैले अरु आशंका अहिले नै नगरांै । तर, नेपालको राजनीतिमा २०४६ सालपछि यस्ता घटनामा हामी तर्सिएका छांै । त्यसले गर्दा विभिन्न आशंका उठ्नु स्वभाविक पनि हो ।

सिंहदरबारमा सांसदहरुको किनबेच, पार्टी अदल–बदल, केन्द्रदेखि प्रदेशसम्म मन्त्रीहरुको व्यापार हुने गरेकाले सबका मनमा डर त्रास र शंका उब्जिनु स्वभाविक हो । स्वयं प्रधानमन्त्रीले प्रदेशका मन्त्रीहरुको व्यापार गरेका छन् । अनि नेताहरुले आफ्नो पार्टीलाई विश्वासघात गरेर पद, प्रतिष्ठाका लागि अर्को पार्टीमा जानु पनि केहीजस्तो भएन । त्यसो हुनाले यो सबै दुषित वातावरणको शिकार राष्ट्रिय जनमोर्चा पनि हुने त होइन भन्ने सबैलाई लागेको हो ।

अब राष्ट्रिय जनमोर्चाले यो प्रकरणको सत्यतथ्य छानविन गरेर सार्वजनिक गर्छ कि त्यसै छोड्छ त ?

छानविन गर्छ, त्यसै छोड्दैन । छानविन गरेर सत्यतथ्य नेपाली जनतालाई बताउँछ । छानविनको प्रक्रिया अघि बढिसकेको छ । आफ्नो पार्टीको बिरामी भएको सांसदलाई भेट्न जाँदा किन भेट्न दिइएन ? पुलिसले किन घेरा हालेर राख्नुपर्‍यो ? किन त्यस्तो खेल भयो ? यो कुरा त छानविनका क्रममा सत्यता बाहिर ल्याउनैपर्छ । त्यो काम हामी गर्छौं ।

कसैको दबावमा वास्तविकता लुकाइने पो हो कि ?

होइन, त्यस्तो हुँदैन । यस घटनाबारे जनतामा जिज्ञासा जागेको छ, हामीले त्यसको वास्तविकता यो हो भनेर भन्नैपर्छ । केन्द्र र प्रदेश सरकार कोरोनासँग लड्नुपर्ने बेलामा मन्त्रीको व्यापार गर्छन् । यस्तो गाईजात्रा हेर्नुस् त ।  राष्ट्रिय जनमोर्चा २०५१ सालदेखि छ संसदमा । यो फोहोरी खेल देख्दै आएको पनि हो । तर, यस्तो फोहोरी खेलबाट हाम्रो पार्टी सुरक्षित नै देखिन्छ ।

हाम्रा पुराना सांसदहरुले पार्टी छोडेर गए पनि पार्टीमा बसुन्जेल पार्टीको निर्णय र आदेश उल्लंघन कहिल्यै गरेनन् । तर, अहिले जुन दृश्य देखियो, त्यसले जनमोर्चा पनि अरु पार्टीजस्तै पो हो कि भन्ने भ्रम प¥यो । त्यसैले कताबाट कसरी गल्ती भयो, के भयो भनेर हामी जनतालाई भन्छौं ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप