शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

राजेन्द्र महतोको निष्कर्ष : प्रतिगमन सच्चिइसक्यो, अहिले त सत्ताको खेल न हो !

‘यसरी नै माग सम्बोधन भए ओली सरकारलाई सहयोग गर्न सकिन्छ’
बिहीबार, १६ वैशाख २०७८, ०९ : ०१
बिहीबार, १६ वैशाख २०७८

काठमाडौं । नयाँ सत्ता समीकरणमा निर्णायक मानिएको जनता समाजवादी पार्टी (जसपा) का १२० कार्यकर्तामाथि लागेका मुद्दा सरकारले फिर्ता लिएपछि सो पार्टीका नेता राजेन्द्र महतो हर्षित देखिएका छन् । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस, माओवादी केन्द्र र जसपाबीच नयाँ सत्ता समीकरणको प्रयास भइरहेका बेला सरकारले जसपाको महन्थ ठाकुर र राजेन्द्र महतो पक्षलाई खुसी बनाएको छ ।

जसपाका १२० जना नेता–कार्यकर्तासँग जोडिएका मुद्दा सरकारले फिर्ता लिएको छ । यसलाई जसपाको ठाकुर–महतो पक्षले सरकारसँग विश्वासको वातावरण बन्दै गएको रुपमा अथ्र्याएको छ । साथै, नेकपा एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारलाई सहयोग र समर्थन गर्ने मुडमा ठाकुर र महतो पुगेका छन् ।

यसबारे रातोपाटीले जसपाका वरिष्ठ नेता राजेन्द्र महतोसँग कुराकानी गरेको छ । प्रस्तुत छ, महतोसँगको कुराकानीको सम्पादित अंश :

सरकारले तपाईंका केही माग सम्बोधन गरेको छ, यसलाई कसरी लिनुभएको छ ?

अहिलेसम्म सबै सरकारले धोका दिने काम मात्र गरे । सरकारलाई बाहिरबाट समर्थन गरे पनि, सरकारमा गए पनि काम हुन सकेको थिएन । अस्ति २ बुँदे गरेर उपेन्द्र यादव सरकार भएर सत्ताको स्वाद बाहेक केही भएन । जनताको काम त भएन । अहिले सरकारलाई हामीले आग्रह गर्दा, सरकारलाई दबाव दिँदा जनताको काम भएको छ । राजनीतिक आस्थाका आधारमा, हाम्रै आह्वानमा आन्दोलन गरेका कार्यकर्ता वर्षौंदेखि मुद्दा खेपिरहेका थिए । देश बाहिर फरार भएर भागिरहेका थिए । भूमिगत जीवन बिताइरहेका कार्यकर्ताले न्याय पाउने भए । यो एउटा सुखद हो । सह्रानीय काम भएको छ । विश्वासको वातावरण बनेको छ । आगामी दिनमा अझै पनि केही काम र मुद्दाहरूलाई अगाडि बढाउने प्रक्रिया चाँडै टुंग्याउने हामी अझै प्रयास गर्दैछौं ।

तपाईंहरुका केही माग सरकारले सम्बोधन गरेको छ । थप माग सम्बोधनका क्रममा रहेको भनिएको छ । योसँगै सरकारले पनि आफ्नो निरन्तरताका लागि तपाईंहरुको साथ खोजिरहेको थियो । यसबारे जसपाको आगामी रणनीति के हुन्छ ? के सोच्नुभएको छ ?

विश्वासको वातावरण बनेको छ । सरकारले अझै विश्वासको वातावरणलाई अगाडि बढाउनुपर्छ । पार्टीभित्र यी सबै कुरामा छलफल गर्छौं । सरकारलाई साथ दिने सन्दर्भमा पनि पार्टीले आवश्यक निर्णय लिन्छ । सरकारले सकारात्मक कदम चालेकाले हामी पनि सकारात्मक कदम चाल्छौँ ।

अबको केही दिनमै राजेन्द्र महतोलाई झण्डाभित्रको गाडीमा सवार भएको पाउनेछौं भन्दा अन्यथा हुन्छ ?

यो सन्दर्भमा त्यसरी त हतार नगरौं ।  अझ अगाडि बढ्नु छ । अझै हाम्रा काम कुरा छन् । केही मुद्दा फिर्ता पनि बाँकी छ । त्यो पनि सम्बोधन हुनुपर्छ । सरकारले गर्न सक्ने अरु काम पनि हामीले भन्दैछौँ । त्यसको पनि हामी कुरा गर्छौं । थप कुरा पनि गर्छौं । विश्वासको वातावरण बन्दै गयो भने पार्टीले त्यो पनि सोच्न सक्छ । सरकारसँग सहकार्यको कुरा पनि पार्टीले सोच्न सक्छ । त्यसको आवश्यक निर्णय पार्टीले गर्छ ।

कसलाई मन्त्री बनाउने, झण्डावाला गाडीमा सवार गराउने पार्टीले नै निर्णय लिन्छ । पार्टीले मेरोबारे निर्णय ग¥यो भने झण्डावाला गाडीमै सवार भएको देख्नु पनि हुन्छ । पहिले पनि मन्त्री भएकै हुँ, मन्त्री हुने कुरा के नौलो भयो र !

त्यसोभए केपी ओली सरकारलाई साथ दिन र सरकारमा जान तयार नै हुनुहुन्छ भनेर बुझौँ ?

पार्टी निर्णयअनुसार नै सत्ता समीकरणको सन्दर्भमा, सरकारको सन्दर्भमा अगाडि बढ्छौँ । सरकारलाई कुन हिसाबले समर्थन गर्ने हो, त्यसमा पार्टीले आवश्यक निर्णय गर्न सक्छ ।

तपाईंले ओली सरकारलाई समर्थन गर्ने कुरा गरिरहँदा जसपाकै एउटा पक्ष यसको घोर विरोधमा छ । यस्तो अवस्थामा कसरी अगाडि बढ्नुहुन्छ, प्रष्ट पारिदिनु न ।

सबै कुरा जनता, कार्यकर्ताले हेरिरहेका छन् । बुझिरहेका छन् । कुनै व्यक्तिको आग्रह र पूर्वाग्रहले पार्टी चल्दैन । जनताको काम कुराबाट न पार्टी चल्ने हो । पार्टीले छलफलबाट त्यहीअनुसारको निर्णय लिन्छ ।

यस्तो अवस्थामा जसपामा विभाजनको खतरा पनि त उत्तिकै छ भनिन्छ नि ?

  यो गलत चिन्तन, सोच र मानसिकता हो । विचार राख्दैमा पार्टी विभाजन हुन्छ ? लोकतन्त्रमा फरक–फरक विचार राख्न त पाइयो नि त ? पार्टीले जे निर्णय गर्छ, सबैले मान्छ नि त । यस्तो हुन्छ, उस्तो हुन्छ भनेर पूर्वानुमान गरेर पार्टी विभाजनसम्मको कुरा गर्दा सान्दर्भिक भएन कि ।

सत्ता समीकरणकै विषयमा देखिएको मतभेदले जसपाको बैठक नै बस्न सकेको छैन । अब यी विषयमा छलफल गर्न बैठक बस्छ ?

केही विवाद छैन । काँग्रेसले अविश्वासको प्रस्ताव नल्याई, माओवादी केन्द्रले समर्थन फिर्ता नलिकन हामीले बैठक राखेर सत्ता समीकरणको के निर्णय लिन्छौं ?  निर्णय लिनुपर्नेले त लिएको छैन । हामीलाई के–के हतार थियो र बैठक बस्नैपर्ने ? अहिले फेरि कोरोना महामारी छ । तर, अब आवश्यकताअनुसार बैठक बस्छ । सबै कुरा हेरेर उपयुक्त समयमा हामी बैठक पनि बस्छौं, निर्णय पनि लिन्छौं ।

सरकारले माग पूरा गरेपछि धन्यवाद दिन्छौं भन्नुभयो । आधिकारिकरुपमै धन्यवाद दिनुहुन्छ ?

कार्यकारिणी बैठकबाटै धन्यवाद दिने हो । आधिकारिकरुपमै धन्यवाद दिने र हाम्रा केही आग्रहहरू सम्बोधन भए सरकारलाई सहयोग र समर्थन गर्ने कुरा पनि आउन सक्छ । आगामी दिनमा पार्टी छलफल गरेर यसबारे निर्णय गर्ने कुरा हुन्छ ।

पार्टीमा यसबारे निर्णय लिन तपाईंले सोचेजस्तै सजिलो छ र भन्या ?

कसैको आग्रह र पूर्वाग्रहबाट पार्टी र देश चल्छ र ? केपी ओलीले मलाई मारेर फालेको थियो, मैले त्यो पूर्वाग्रह राख्ने ? मलाई जोगबनी नाकामा मारेर फालेको होइन ? अब मैले त्यो सम्झेर जनताको माग पूरा नगराउने ? सरकारसँग कुरा नगर्ने ? कसैलाई कुनै कालखण्डमा सरकारबाट हटायो होला, केही भयो होला, त्यो रीस पोखेर हुन्छ अहिले ? सयौं कार्यकर्ताको जीवनको सवाल छ । त्यसलाई छोड्न मिल्छ ?

प्रधानमन्त्री ओलीबाट भएको भनिएको प्रतिगमन यति चाँडै कसरी बिर्सन सकिन्छ भन्ने पनि त छ नि ?

प्रतिगमन सच्चिइसक्यो । केपी ओलीको प्रतिगमन त सर्वोच्च अदालतले फागुन ११ गते नै सच्याइसकेको छ । अहिले सत्ताको खेल न हो । सत्ताको खेलमा जसले पार्टीको काम गर्छ, उसैलाई हामीले समर्थन गर्ने हो । आग्रह लिएर हुन्छ ? केपी ओली कसैलाई मन पर्दैन, त्यसको विचारमा पार्टी थोडी चल्छ ?

पार्टीको हितअनुसार चल्ने भन्नुभयो, वर्तमान सरकारलाई समर्थन गर्दा पार्टीको हित हुन्छ भन्ने हो ?

पार्टी हितलाई देश र जनतालाई केन्द्रमा राखेर हेर्नुपर्यो । आग्रह र पूर्वाग्रह, आकांक्षा, महत्वकाङ्क्षालाई अगाडि राख्नुहुँदैन । सरकारले हाम्रा माग सम्बोधन गर्दा पार्टी हित भएन र ? पार्टीका नेता– कार्यकर्ता जेलबाट छुट्ने कुरा पार्टी हित नै होला नि ।

तपाईंले सरकारसँगको सहकार्यप्रति झुकाव देखाउनुभयो  । यो सत्ता सहकार्य मात्र हो कि आगामी चुनावी तालमेलसम्म जान्छ ?

हाम्रो पार्टीले के निर्णय गर्छ, त्यसमा निर्भर हुन्छ ।

जसपा अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री ओलीले अर्ली इलेक्सन गराउने  र आफू त्यसका लागि तयार रहेको बताउनुभएको थियो । सरकारलाई साथ दिएको अवस्थामा जसपा यो सरकार दुई वर्ष टिकाउनतिर लाग्छ कि अर्ली इलेक्सनमा जान्छ ? यो पनि बताइदिनु न ?

त्यो उहाँ (महन्थ ठाकुर) को व्यक्तिगत विचार हो । पार्टी कसैको व्यक्तिगत विचारमा चल्दैन, चाहे महन्थ ठाकुरको विचार होस्, चाहे उपेन्द्र यादवको विचार होस् ।

 

उहाँहरुले आफ्नो व्यक्तिगत मत राखिराख्नुभएको छ । हामीले तपाईंको मत के हो भनेर बुझ्न खोजेका हौं...

मेरो विचारमा विश्वासको वातावरण बन्दै गएको छ । अझै सरकारले केही काम कुरा अगाडि बढायो भने सरकारसँग सहकार्य पनि हुनु सक्छ । सम्भावना त्यो पनि छ के । जसले हाम्रो पार्टी र जनताको हितमा काम गर्छ, उसैसँग सहकार्य गर्ने हो । मेरो विचारमा यो सरकारले काम गरिरहेको छ, सहकार्य पनि गर्नुपर्छ भन्ने हो ।

तपाईँहरुका माग  सम्बोधनको क्रम संविधान संशोधनसम्मै जान्छ कि यत्तिमै रोकिने अवस्था छ ?

यो सबै कुरा सरकारमा निर्भर छ । संविधान संशोधन, नागरिकता विधेयकको कुरा पनि अगाडि आउँछ । सरकारको क्षमताभित्र रहेको काम सरकारले पूरा गर्ने होला । क्षमताभन्दा बाहिरको कुरा गरिदेऊ भनेर पनि त गर्न सम्भव छैन नि ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप